स्वास्थ्य मन्त्री खतिवडाद्धारा नेपाल कोरिया मैत्री अस्पतालको अनुगमन, बिमा सेवा सूचारु गराइदिन नगर प्रमुखको आग्रह | Jana Aawaj News

स्वास्थ्य मन्त्री खतिवडाद्धारा नेपाल कोरिया मैत्री अस्पतालको अनुगमन, बिमा सेवा सूचारु गराइदिन नगर प्रमुखको आग्रह

पढ्न लाग्ने समयः 2 मिनेट
स्वास्थ्य मन्त्री खतिवडाद्धारा नेपाल कोरिया मैत्री अस्पतालको अनुगमन, बिमा सेवा सूचारु गराइदिन नगर प्रमुखको आग्रह : Jana Aawaj News

भक्तपुर । आज स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र राज्यमन्त्री भवानीप्रसाद खापुङले मध्यपुरथिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा अस्पतालको आकस्मिक कक्ष, बहिरंग, अन्तरंग, ल्याब, प्रसुति वार्ड, पोष्ट अपरेटिभ वार्ड, आइसियू, एनआइसियू लगायतको कक्षको अनुगमन गर्नुको साथै अस्पतालको सेवाका बारेमा विरामीसँग जानकारी समेत लिनुभएको छ ।


यसैगरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले अस्पतालको सेवा, विगतको अवस्था, अहिलेको अवस्था, बिमा सेवा बन्द हुँदाको अवस्था, यहाँबाट दिने सेवा लगायतका बारेमा मन्त्री खतिवडा र खापुङलाई जानकारी गराउनुभयो । नगरपालिकाले सञ्चालन गरेका अस्पताल मध्ये १०२ शैयामा सञ्चालित एक मात्र अस्पतालको रुपमा रहेको यो अस्पतालमा स्वास्थ्य बिमा सेवा बन्द भएपछि स्थानीयले पाउँदै आएको सेवा पाउँन भक्तपुर अस्पताल पुग्नु पर्ने बाध्यता भएको बताउनुभयो ।
अनुगमनका क्रममा मन्त्री खतिवडालाई नगर प्रमुख श्रेष्ठले कोभिड महामारीमा टेकु अस्पताल पछि पहिलो पटक पिसिआर ल्याब सञ्चालन गर्ने, अक्सिजन प्लान्ट स्थापना गर्ने र विरामीलाई सबै सेवा उपलब्ध गराएको बताउदै यस अस्पताललाई ३०० शैयामा बिस्तार गर्ने प्रक्रिया अगाडि बढाउको बताउनुभयो ।

दैनिक १००० जनालाई स्वास्थ्य बिमामार्फत मध्यपुरथिमिका बासिन्दासहित काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीलगायतका बिरामीलाई सेवा दिदै आएको बताउदै उहाँले बिमा सेवा बन्द हुँदा समस्या परेकाले उक्त सेवा सूचारु गरिदिन आग्रह समेत गर्नुभयो ।

उक्त अनुगमनमा नेकपा एकीकृत समाजवादीका वाग्मती प्रदेश सदस्य एवं भक्तपुर जिल्ला कमिटी अध्यक्ष श्यामसुन्दर बस्नेतले जस्तोसुकै कठिन अवस्थामा पनि देशभरीका विरामीलाई गुणनस्तरीय सेवा दिन सफल भएको यो अस्पतालमा बिमा सेवा लिन आउँनेको भीड लाग्ने गरेकाले बन्द सेवा सूचारु नहुँदा बिरामीलाई समस्या परेको बताउनुभयो । उहाँले अन्य अस्पताल भन्दा यो अस्पतालले गुणस्तरीय सेवा दिइरहेको भन्दै मन्त्री खतिवडालाई बिमा बोर्डको बैठक छिटो बस्न लगाएर भए पनि बिमा स्वास्थ्य सेवा सूचारु गराइदिन आग्रह गर्नुभयो ।

मन्त्री खतिवडाले अस्पतालको अनुगमन र नगर प्रमुखबाट जानकारी पश्चात ३०० शैयामा अस्पताल बिस्तार गर्ने भएपछि मन्त्रालयमा स्वीकृत लिन आउन आग्रह समेत गर्नुभएको छ । उहाँले यस अस्पतालको बिमा वापतको बाँकी दुई करोड रकम पनि छिटो नै निकासा हुने बताउदै अन्य अस्पतालमा पनि आएका यस्ता समस्याहरुको पनि अन्त्य हुने बताउनुभयो ।

 

+ posts