
जन आवाज न्युज/भक्तपुर, असार १७ गते । राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवसका अवसरमा ‘संग्रहालय सुरक्षा तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ को उद्घाटन सत्र सम्पन्न भएकाे छ ।
कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले राष्ट्रिय कला संग्रहालयको महत्व दिनप्रतिदिन बढ्दै गएको बताउँदै संग्रहालय अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढिरहेको उल्लेख गर्नुभयो । उहाँले सम्पदा संरक्षणको मुख्य उद्देश्य नयाँ पुस्तालाई आफ्नो इतिहास, कला र संस्कृतिसँग परिचित गराउनुका साथै विदेशी पर्यटकसमक्ष नेपालको मौलिक सम्पदा प्रस्तुत गर्नु रहेको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी काम गर्दै आएको बताउँदै ५५ झ्याले दरबारको पुनःनिर्माणका क्रममा भित्तेचित्रलाई सुरक्षित राख्दै पुनःस्थापना गरिएको जानकारी दिनुभयो । उहाँले भित्तेचित्रप्रति विदेशी पर्यटकको विशेष आकर्षण रहने बताउँदै हाडा छेँको पुनःनिर्माण पनि त्यहाँ रहेका भित्तेचित्रका कारण प्राथमिकतामा परेको उल्लेख गर्दै भूकम्पका कारण केही भित्तेचित्र जोगाउन नसकिएको भए पनि सुरक्षित राखिएका तस्बिरका आधारमा त्यहाँ रहेका भित्तेचित्र बनाउन दिने अवगत गराउनुभयो ।
उहाँले २०७२ सालको भूकम्पले भक्तपुरका सम्पदामा ठूलो क्षति पु¥याए पनि भक्तपुर नगरपालिकाले पुनःनिर्माण कार्यलाई तीव्रताका साथ अघि बढाएको बताउँदै हालसम्म १७८ वटा सम्पदा मौलिकता कायम राख्दै पुनःनिर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो ।
नगर प्रमुख सुनिल प्रजापतिले सम्पदा संरक्षणको महत्व नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममार्फत विद्यार्थीलाई सम्पदा, इतिहास, कला र संस्कृतिबारे अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो ।
उहाँले भक्तपुरलाई सम्पदाले भरिपूर्ण ऐतिहासिक नगरका रूपमा संरक्षण गर्ने लक्ष्यअनुसार नगरभित्र रहेका सबै संरचनालाई मौलिक शैलीमै पुनःनिर्माण गर्ने नीति अवलम्बन गरिएको उल्लेख गर्दै ९९ चोक संरक्षण र पुर्नजिवित गर्ने उद्देश्यका साथ नगरपालिका अगाडि बढिरहेको बताउनुभयो । उहाँले मौलिक पहिचान जोगाउँदै सम्पदाको संरक्षण गर्नु नै भावी पुस्ताप्रतिको जिम्मेवारी भएको धारणा व्यक्त गर्नुभयो ।
नगर प्रमुखले भक्तपुर नगरपालिकाले आन्तरिक पर्यटक केन्द्रित बजेट निर्माण गर्दै आएको बताउँदै भक्तपुरको मौलिक सम्पदा, संस्कृति र परम्परागत वास्तुकलाप्रति आकर्षित हुने आन्तरिक पर्यटकको संख्या निरन्तर बढिरहेको छ भन्नुभयो ।
उहाँले नगरपालिकाले मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीलाई अनुदान प्रदान गर्दै आएको उल्लेख गर्दै निजी घरलाई पनि सम्पदाको रूपमा संरक्षण र प्रवद्र्धन गर्ने नीति अवलम्बन गरिएको बताउनुभयो । यसबाट नगरको मौलिक स्वरूप जोगिनुका साथै सम्पदामैत्री वातावरण निर्माण भई पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको उहाँको भनाइ थियो ।
नगर प्रमुखले भक्तपुर नगरपालिकाले इतिहास, संस्कृति तथा सम्पदा विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै इतिहास र संस्कृतिको संरक्षण तथा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।
इतिहास, संस्कृति, सम्पदा तथा स्थानीय विषयमा अध्ययन-अनुसन्धान गर्ने विद्यार्थी तथा अनुसन्धानकर्तालाई अनुसन्धानवृत्ति समेत प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले हाम्रो सम्पदा र यसको वास्तुकला नै हाम्रो पहिचान भएको बताउनुभयो । उहाँले यो मानव सभ्यताको उत्कृष्ट नमुना भएकाले यसको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले भक्तपुर आफैँमा ऐतिहासिक तथा विश्वसम्पदा सूचीमा सूचीकृत नगर भएकाले यहाँको मौलिक संस्कृति र सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । आधुनिकतासँगै मौलिक पहिचान संकटमा पर्दै गएको उल्लेख गर्दै उहाँले संस्कृति जोगाउन सके मात्र समुदायको पहिचान जोगिने धारणा राख्नुभयो ।
उहाँले राष्ट्रिय कला सगं्रहालयले कला, संस्कृति र सम्पदाको संरक्षण, अध्ययन तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै भावी पुस्तालाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे जानकारी गराई संरक्षणप्रति जिम्मेवार बनाउन सगं्रहालयको भूमिका अझै महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय कला संग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानले संग्रहालय स्थापना भएको इतिहासबारे जानकारी दिँदै पुरातात्त्विक महत्वका सामग्री संकलन, संरक्षण र प्रदर्शनलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँका अनुसार संग्रहालयमा चित्रकला, धातुकला, काष्ठकला, प्रस्तरकला लगायत करिब २,१०० वटा पुरातात्विक वस्तु संग्रहमा रहेकाको सोही क्रममा अवगत गराउनुभयो ।
इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले संग्रहालय स्थापनाकालदेखि नै योगदान गर्न पाएकोमा आत्मसन्तुष्टि मिलेको बताउनुभयो । उहाँले जगन्नाथ मन्दिर पुनःनिर्माणमा त्यहाँ रहेका शिलालेखका प्रमाण तथा आफूले गरेका अध्ययन-अनुसन्धानले महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै कला संग्रहालयले शिलालेख तथा पुरातात्विक सम्पदाको संरक्षणमा अझ विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भक्तपुरलाई “खुला आकाशमुनि रहेको एउटा खुला संग्रहालय’ को रुपमा व्याख्या गर्नुभयो ।
इतिहासविद् विश्वमोहन श्रेष्ठले राष्ट्रिय कला संग्रहालयको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै पुराना कला र संस्कृतिले तत्कालीन समाजको यथार्थ अवस्थाबारे जानकारी दिने भएकाले यस्ता सम्पदाको संरक्षण र जीवन्तता कायम राख्नु आवश्यक रहेको बताउनुभयो । उहाँले ख्वप कलेजमा संस्कृति तथा संग्रहालयसम्बन्धी अध्ययन-अध्यापन भइरहेकाले नयाँ पुस्तामा सम्पदा संरक्षणको चेतना हस्तान्तरण हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवसको अवसरमा संग्रहालयमा कार्यरत कर्मचारीहरूको ज्ञान, सीप र कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यले क्षमता अभिवृद्धि कार्यक्रमसमेत रहेको आयोजक समितिले जनाएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related














Total views : 371084












