
जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८, पाटीभञ्ज्याङमा ‘आशापुरी तामाङ सामुदायिक होमस्टे’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा तामाङ समुदायको मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ होमस्टेको शुभारम्भ गरिएको हो।

होमस्टे सञ्चालनको अवसरमा आयोजित परिचयात्मक कार्यक्रममा सूर्यविनायक नगरपालिका-८ का वडा अध्यक्ष पुष्पराज बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने कार्यक्रमको अध्यक्षता होमस्टेका अध्यक्ष अजय बाबु तामाङले गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, होमस्टे अभियन्ता, पर्यटनकर्मी, पत्रकार तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बस्नेतले होमस्टेले स्थानीय स्तरमै रोजगारी सिर्जना गरी आर्थिक समृद्धिको आधार निर्माण गर्ने विश्वास व्यक्त गरे। उनले होमस्टे स्थापना गर्नु मात्र ठूलो उपलब्धि नभई त्यसलाई निरन्तर सञ्चालन गर्दै गुणस्तरीय सेवा दिनु अझ महत्वपूर्ण रहेको बताए।
उनले स्थानीय युवालाई सीप र सिर्जनासँग जोड्दै वैदेशिक रोजगारीको बाध्यता कम गर्न नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गरे। स्थानीय उत्पादन, संस्कृति र आतिथ्यलाई पर्यटनसँग जोड्न सके आर्थिक विकासले गति लिने उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष अजय बाबु तामाङले होमस्टे स्थापना गर्नुपूर्व गरिएको लामो तयारी, स्थानीयको सहकार्य र समुदायको साझा प्रयासबारे जानकारी गराउँदै आशापुरी तामाङ सामुदायिक होमस्टेलाई भविष्यमा देशकै नमुना होमस्टेका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले पाटीभञ्ज्याङलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडा कार्यालयको लगानीमा करिब दुई लाख रुपैयाँ बराबरका २७ सेट सामग्री होमस्टेलाई हस्तान्तरण गरिएको थियो। हस्तान्तरण गरिएका सामग्रीमा डम्फु, मादल, खैजडी, झ्याली लगायत सांस्कृतिक सामग्री समावेश छन्। यी सामग्रीले तामाङ समुदायको मौलिक सांस्कृतिक पहिचान संरक्षण र पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
होमस्टेका सदस्य विकासकुमार तामाङका अनुसार हाल होमस्टेमा २७ वटा घर आबद्ध छन्, जहाँ एकैपटक करिब १५० जना पाहुनालाई आतिथ्य प्रदान गर्न सकिने क्षमता रहेको छ। भक्तपुरको डोलेश्वर र आशापुरी मन्दिरको बिचमा रहेको नैचालमा यो होमस्टे संचालनमा आएको हो ।
कार्यक्रममा होमस्टे महासंघका कोषाध्यक्ष सुरज बास्तोला, पूर्व अध्यक्ष केशव बराल, राजकुमार लामिछाने, वडा सदस्य विक्रम तामाङ, सावित्री मिश्र, अञ्जना नेपाली लगायतले होमस्टेले ग्रामीण पर्यटन विस्तार, स्थानीय आयआर्जन र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
होमस्टेका कोषाध्यक्ष रिन्जिन तामाङले तामाङ समुदायले विगतमा भोग्नुपरेका विभिन्न कठिनाइको स्मरण गर्दै अब होमस्टे सञ्चालनसँगै समुदायको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा तामाङ संस्कृतिअनुसार अतिथिहरूलाई परम्परागत स्वागत गरिएको थियो। स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति, तामाङ मौलिक गीत-संगीत तथा नृत्यले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।
आयोजकका अनुसार तामाङ समुदाय आफ्नो सरलता, इमान्दारिता र आत्मीय आतिथ्यका लागि परिचित भएकाले यहाँ आउने पाहुनाले विशिष्ट ग्रामीण जीवन, मौलिक संस्कृति र आत्मीय स्वागतको अनुभव गर्नेछन्। आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको आशापुरी तामाङ सामुदायिक होमस्टेले स्थानीय पर्यटन प्रवर्द्धनसँगै आर्थिक समृद्धि र सांस्कृतिक संरक्षणमा नयाँ अध्याय सुरु गरेको विश्वास गरिएको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related







Total views : 377680




