

भक्तपुर। ईप्सन भक्तपुरको आयोजनामा सदस्य विद्यालय हिमाल एकेडेमीको व्यवस्थापनमा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार जगातीस्थित सेराटन ब्याङ्क्वेटमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले सामूहिक तथा एकल लोकनृत्य प्रस्तुत गरेका थिए।

दुई विधामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष, नगर प्रवक्ता तथा सामाजिक विकास समिति संयोजक रवीन्द्र सापकोटा प्रमुख अतिथि रहनुभएको थियो भने ईप्सनका अध्यक्ष जी.बी. खड्का विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

प्रतियोगिताको सामूहिक लोकनृत्य विधातर्फ युनिटी इङ्ग्लिस सेकेन्डरी स्कुल प्रथम भएको छ। त्यसैगरी विमल मेमोरियल विद्यापीठ द्वितीय, सेन्ट जोन्स इङ्ग्लिस स्कुल तृतीय र हिमालयन इङ्ग्लिस सेकेन्डरी स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
त्यस्तै, एकल लोकनृत्य प्रतियोगितातर्फ क्वालिटी इङ्ग्लिस सेकेन्डरी स्कुलकी छात्रा मनिरा तामाङ प्रथम हुन सफल भएकी छन्। युनिटी इङ्ग्लिस सेकेन्डरी स्कुलकी छात्रा सम्झौता राजवंशी द्वितीय, ग्लोबल एकेडेमीकी छात्रा उज्जवी बस्नेत तृतीय तथा सूर्योदय सेकेन्डरी स्कुलकी छात्रा भूमिका तामाङले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन्।
प्रतियोगितामा विजयी विद्यार्थी तथा विद्यालयलाई प्रमुख अतिथि रवीन्द्र सापकोटा, विशेष अतिथि जी.बी. खड्का, आयोजक विद्यालय हिमाल एकेडेमीका प्रिन्सिपल प्रदीप थापा तथा विद्यालयका सल्लाहकार सञ्जय खड्काले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउने, नेपाली मौलिक कला, संस्कृति तथा परम्परागत लोकनृत्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनशीलता, आत्मविश्वास र सांस्कृतिक पहिचानप्रतिको सम्मान अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
Related
























Total views : 406761









