मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम | Jana Aawaj News

Bhaktapur Hospital

मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम

पढ्न लाग्ने समयः 2 मिनेट
मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम : Jana Aawaj News

भक्तपुर । नेपाल भाषाका अग्रज साहित्यकार तथा भाषासेवी मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीको अवसरमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिले शनिबार भक्तपुरमा साहित्यिक कार्यक्रम आयोजना गरेको छ।

गुथिले हरेक वर्ष मास्टर जगत सुन्दर मल्लको जन्मजयन्तीका अवसरमा भक्तपुरको खौमा टोलस्थित उहाँको सालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गरी साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ। विगत आठ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि साहित्य वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो।

नेपालीहरूको महान् चाड स्वन्ति नखः (शुभ तिहार–२०८३) तथा नयाँ वर्ष न्हुदँ नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानसँगै आयोजित साहित्य वाचन कार्यक्रममा विभिन्न स्रष्टाहरूले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

गुथिका सचिव प्रदीप रत्न शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रममा कृष्णमोहन जोशीले कविता, प्रदीप रत्न शाक्यले गीत, राजुराम मुनंकर्मीले लघुकथा तथा सुलोचना सैंजु, मिमला शर्मा, ज्ञानकेशरी श्रेष्ठ, संगिता पञ्च, ओमकृष्ण श्रेष्ठ र सुरेन्द्रलाल भुजुले कविता वाचन गर्नुभएको थियो।

कार्यक्रममा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष (नायः) तथा साहित्यकार महेन्द्र गोपाल कर्माचार्यले सभाध्यक्षको आसनबाट मन्तव्य राख्दै नेपाल भाषालाई माया गर्ने साहित्यप्रेमीहरूले यसको विकास र संरक्षणका लागि हरसम्भव प्रयास गरिरहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा गुथिका सदस्यहरू, विशिष्ट साहित्यकार, भाषाप्रेमी व्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्रष्टा, सर्जक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले मास्टर जगत सुन्दर मल्लको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरी उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

नेपाल संवत् १००३ कौलागा त्रयोदशी तिथिका दिन अर्थात् वि.सं. १९३९ कार्तिक १५ गते भक्तपुरको खौमा टोलमा जन्मनुभएका मास्टर जगत सुन्दर मल्ल नेपाल भाषाका चार स्तम्भमध्ये एकका रूपमा परिचित हुनुहुन्छ। उहाँले नेपाल भाषा साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

उहाँका प्रकाशित कृतिहरूमा ‘इसपं दयेकुगु बाखँ’, ‘पेटर पार्लि’ (अनुदित), ‘गो मयजुया बाखँ’, ‘इङ्गलिश नेपालभाषा डिक्सनरी’ र ‘इङ्गलिश ग्रामर इन पर्वतिया’ लगायत रहेका छन्। नेपाल भाषाको साहित्यिक तथा शैक्षिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानका कारण उहाँको नाम आज पनि श्रद्धापूर्वक स्मरण गरिँदै आएको छ।

मास्टर जगत सुन्दर मल्लको जन्मजयन्तीका अवसरमा आयोजित यस कार्यक्रमले नेपाल भाषा, साहित्य, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा नयाँ पुस्तामा भाषाप्रतिको प्रेम र चेतना अभिवृद्धि गर्ने सन्देश दिएको छ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 ईप्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, सामूहिकतर्फ युनिटी र एकलतर्फ मनिरा प्रथम
2 मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम
3 ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम
4 हिमाल एकेडेमीमा इप्सन समूहगत तथा एकल लोकनृत्य प्रतियोगिता सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x