
काठमाडौ । जिल्ला अदालत मोरङले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उर्लाबारी मोरङका चूडामणि उप्रेती उर्फ गोरेसहित ६ जनालाई जन्मकैदको फैसला आज सुनाएको छ ।
आज बसेको जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले गोरेसहित टेकराज मल्ल, मोहन काफ्ले, भोजराज भण्डारी, नरेन्द्र कार्की र लाक्पा शेर्पालाई जन्मकैदको सजाय सुनाएको छ भने, यता मदनप्रसाद घिमिरे र राजन कुमारलाई क्रमश ३ बर्ष र ६ महिना कैद सुनाएको छ ।
सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धकमा पनि सजाय तोकिएका जिल्ला अदालत मोरङले जानकारी गराएको छ । फरार २२ अभियुक्तको मुद्दा मल्तबीमा राखिएको र अन्य आरोपीलाई भने अदालतले सफाइ दिएको बताइएको छ ।
आज सफाइ पाउनेहरुमा प्रहरीहरूमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, हाल डीआईजी रहेका तत्कालीन एसएसपी दिवेश लोहनी, एसएसपी श्यामबहादुर खत्री र एसपी विकासराज खनालसमेत छन् । त्यसैगरी सुन काण्डमा मुछिएका डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा मगर र जवान विष्णु खड्काले पनि अदालतबाट सफाइ पाएका छन् ।
गत आइतबार नै मुद्दाको अन्तिम सुनुवाइ सकिएको थियो । उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी अधिकारीले भन्सारबाट सुन छिराउन सहयोग गरेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको थियोे । सोहि मुद्दाको मुख्य प्रतिवादी गोरे भनिने चुडामणी उप्रेतीसहित ७७ जना विरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, अपहरण, शरिर बन्धक, सुनको अवैध कारोबार गरेको र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरिएको थियो ।
उक्त अभियोग पत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग गरिएको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295838



