
जन आवाज न्युज/भक्तपुर, जेठ २१ गते । सूर्यविनायक नगरपालिका-३, बालकोटस्थित इडेन गार्डेन इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी नेतृत्व चयन गर्ने उद्देश्यले आयोजित विद्यार्थी निर्वाचन तथा नेतृत्व हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यार्थीहरूमा सानै उमेरदेखि नेतृत्व क्षमताको विकास गर्ने, जिम्मेवारीबोध गराउने तथा लोकतान्त्रिक मूल्य-मान्यताप्रति व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयका अनुसार यस प्रकारका गतिविधिले विद्यार्थीहरूमा अनुशासन, सहकार्य, निर्णय क्षमता, सामाजिक उत्तरदायित्व तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै भविष्यका लागि सक्षम र जिम्मेवार नागरिक तयार गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। साथै, विद्यालय तहको पाठ्यक्रममा समावेश सामाजिक शिक्षाजस्ता विषयको सिकाइलाई अझ प्रभावकारी, जीवन्त र व्यवहारिक बनाउने उद्देश्य पनि यस कार्यक्रमले बोकेको छ।

निर्वाचन प्रक्रियाको सुरुवात जेठ १२ गते उम्मेदवारी मनोनयन दर्ताबाट भएको थियो। विद्यालय कप्तान, विद्यालय उपकप्तान, विभिन्न सदनका कप्तान तथा उपकप्तान पदका लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। आकांक्षी उम्मेदवारहरूको संख्या उल्लेख्य भएपछि जेठ १३ गते विद्यालयमा विशेष ‘चुनावी बहस’ (Election Debate) कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा उम्मेदवारहरूले आफ्ना योजना, एजेन्डा तथा प्रतिबद्धताहरू प्रस्तुत गर्दै मतदातासमक्ष आफ्नो दृष्टिकोण राखेका थिए। साथै, सोही दिन उम्मेदवारहरूले चुनावी प्रचार–प्रसार कार्यक्रमसमेत सञ्चालन गरेका थिए।
चुनावी बहस तथा प्रचार-प्रसार कार्यक्रमले विद्यार्थीहरूलाई उम्मेदवारहरूको क्षमता, दृष्टिकोण र नेतृत्व गुणको मूल्याङ्कन गर्न सहज बनाएको विद्यालयले जनाएको छ। निर्वाचनलाई निष्पक्ष, मर्यादित र पारदर्शी बनाउन जेठ १३ गते साँझ ४ बजेपछि प्रचार-प्रसार पूर्ण रूपमा बन्द गरी ‘मौन अवधि’ (Silence Period) लागू गरिएको थियो।
मौन अवधिपछि जेठ १४ गते विद्यालय परिसरमा मतदान कार्यक्रम सम्पन्न भएको थियो। मतदान प्रक्रियालाई व्यवस्थित, निष्पक्ष तथा लोकतान्त्रिक ढंगले सञ्चालन गर्न सामाजिक शिक्षक श्री शालिकराम खत्रीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा सम्पूर्ण मतदान प्रक्रिया शान्तिपूर्ण तथा पारदर्शी रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ। सोही दिन साँझ मतगणना सम्पन्न गरी अन्तिम परिणाम सार्वजनिक गरिएको थियो।
निर्वाचन परिणामअनुसार विद्यालय कप्तानमा कक्षा ९ की सुविच्छा थापा तथा विद्यालय उपकप्तानमा कक्षा ९ कै विश्वास मैनाली निर्वाचित भएका छन्।
त्यसैगरी सदनतर्फ स्याफायर (निलो) सदनको कप्तानमा आरुषी महतो (कक्षा ७) र उपकप्तानमा रिया कार्की, इमरल्ड (हरियो) सदनको कप्तानमा आयुष कार्की (कक्षा ९) र उपकप्तानमा हेजल खत्री (कक्षा ८), रुबी (रातो) सदनको कप्तानमा दिव्यक्षु राउत (कक्षा ९) र उपकप्तानमा श्रीजय महत (कक्षा ८) तथा टोपाज (पहेँलो) सदनको कप्तानमा दिया फुयाँल (कक्षा ८) र उपकप्तानमा दियास्ना गजुरेल (कक्षा ७) निर्वाचित भएका छन्।
निर्वाचनबाट विजयी भएका विद्यार्थीहरूलाई जेठ १७ गते आयोजित विशेष ‘इन्भेष्टिचर सेरेमोनी’ (Investiture Ceremony) तथा नेतृत्व हस्तान्तरण कार्यक्रममार्फत औपचारिक रूपमा पदभार ग्रहण गराइएको थियो। कार्यक्रममा विद्यालयका सह-प्रधानाध्यापकद्वय श्री अनिश राई र श्री चिरञ्जीवी गुरागाईं ले नवनिर्वाचित विद्यार्थी नेताहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुका साथै खादा, ब्याज तथा नियुक्तिपत्र प्रदान गरी नेतृत्व हस्तान्तरण गर्नुभएको थियो।
समारोहमा बोल्दै सह-प्रधानाध्यापक राईले विद्यार्थी नेतृत्व विद्यालयको अनुशासन, सहकार्य र सकारात्मक वातावरण निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभएको थियो। नवनिर्वाचित विद्यार्थीहरूले विद्यालयको मर्यादा, अनुशासन तथा मूल्य-मान्यतालाई उच्च राख्दै आफ्नो जिम्मेवारी इमान्दारी, निष्ठा र समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
विद्यालयले लोकतान्त्रिक अभ्यासमार्फत विद्यार्थीहरूलाई नेतृत्व, उत्तरदायित्व र नागरिक चेतनाको व्यावहारिक शिक्षा प्रदान गर्ने आफ्नो अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने जनाएको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related













Total views : 360425












