
जन आवाज न्युज/भक्तपुर, जेठ ३० गते । दधिकोट सहरी खानेपानी समितिको प्रथम साधारण सभा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारण सभाको उद्घघाटन गर्दै उपप्रमुख तिम्सिनाले स्वच्छ तथा सुरक्षित खानेपानी प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै खानेपानी सेवाको दिगो व्यवस्थापन, संस्थागत सुशासन, पारदर्शिता तथा जवाफदेहितालाई सुदृढ बनाउनुपर्ने बताउनुभयो। उउहाँले स्थानीय सरकार र खानेपानी उपभोक्ता संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै गुणस्तरीय तथा उपभोक्तामैत्री सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समितिका अध्यक्ष कृष्णहरि खड्काले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थापना पछिका उपलब्धि, खानेपानी वितरण प्रणाली विस्तार, स्रोत संरक्षण, पूर्वाधार निर्माण तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए। त्यस्तै सचिव राजन प्रजापतिले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाहको अवस्था तथा संस्थागत गतिविधिबारे जानकारी दिएका थिए। कोषाध्यक्ष भरत कुमार खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समितिको आय-व्यय विवरण, वित्तीय अवस्था तथा आगामी आर्थिक वर्षको अनुमानित बजेटबारे जानकारी गराएका थिए।

साधारण सभामा प्रस्तुत प्रतिवेदनहरूमाथि सहभागी उपभोक्ता तथा प्रतिनिधिहरूले छलफल गरेका थिए। छलफलका क्रममा खानेपानीको नियमित आपूर्ति, पानीको गुणस्तर परीक्षण, चुहावट नियन्त्रण, वितरण सञ्जालको स्तरोन्नति, नयाँ उपभोक्तालाई सेवा विस्तार, विद्युत् खर्च व्यवस्थापन तथा स्रोत संरक्षणका विषयमा विभिन्न सुझाव प्रस्तुत गरिएको थियो।
सभाले वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र बजेट आवश्यक संशोधन तथा सुझावसहित सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। साथै संस्थाको आर्थिक अनुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा विगत लामो समयदेखि कार्यरत प्राविधिक एवं कर्मचारीहरुलाई नगद रकमसहित प्रशंसा पत्रले सम्मानित समेत गरिएको थियो । कार्यक्रममा समितिका पदाधिकारी, सदस्यहरू, उपभोक्ता प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले समितिले छोटो अवधिमै हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी ढंगले सेवा सञ्चालन गर्न सुझाव दिएका थिए।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related












Total views : 363377












