

नबराज काफ्ले
भक्तपुर । सूर्यविनायक नगरपालिका–८ मा पातञ्जल योग समिति नेपाल अन्तर्गतको डोलेश्वर मन्दिर योग साधना केन्द्रको दोस्रो वार्षिकोत्सव साेमबार भव्यताका साथ सम्पन्न भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेशका सबै १३ जिल्लालाई योगमय बनाउने सरकारको योजना सार्वजनिक गरिएको छ।

केन्द्रका अध्यक्ष जयराम बस्नेतको सभापतित्वमा भएको कार्यक्रम उपाध्यक्ष सुष्मा थापाको स्वागत मन्तव्यबाट सुरु भएको थियो। व्यवस्थापन समिति सदस्य रत्नप्रसाद छुकानले प्रस्तुत गरेको वार्षिक आयव्यय तथा प्रगति प्रतिवेदन साधारण सभामा सहभागी प्रतिनिधिहरूले अनुमोदन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले प्रदेश सरकार १३ वटै जिल्लालाई योगमय बनाउने अभियानमा लागेको र प्रादेशिक योग समितिमार्फत आवश्यक नियम तथा कार्यविधि तयारीमा जुटेको जानकारी दिए। सिङ्गो प्रदेशलाई योगको हब बनाउन योग क्षेत्रका संघसंस्थाको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए ।
उनका अनुसार प्रदेश सरकारले योग प्रवर्धन र विस्तारका लागि बजेट विनियोजन गरेको छ। उक्त बजेट प्रत्येक जिल्लाको जिल्ला स्वास्थ्य कार्यालय मार्फत सञ्चालन हुने व्यवस्था मिलाइएको छ। उनले सबै संस्थालाई आफ्ना जिल्लाको स्वास्थ्य कार्यालयसँग समन्वय गरी जिल्लागत योजना बनाएर बजेट कार्यान्वयनमा सहभागी हुन आग्रह गरे।
स्वास्थ्य, शिक्षा, पर्यटन,विकास-निर्माण, योग प्रवर्धन/विस्तार लगायत क्षेत्रमा सरकारको सुक्ष्म ध्यान नपुगेको हुन सक्ने औल्याउँदै यसबारे सरोकारवालाबाट आवाश्यक राय सुझाव प्रदेशलाई प्राप्त हुने अपेक्षा व्यक्त गरेका थिए । उनले जनताजनार्जन बाट प्राप्त रायसुझावलाई सर्वोपरि मान्दै सो अनुसार कार्यान्वयन गर्न प्रदेश सरकार सदैव तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा मुख्यमन्त्रीले सामाजिक सञ्जालको प्रयोगबारे पनि टिप्पणी गरे। कोठामा बसेर फेसबुकलगायत सामाजिक सञ्जालमार्फत विकास निर्माणबारे जनतामा भ्रम छरिएको उनको भनाइ थियो। उनले जनताको घर–चुलोसँग जोडिएर काम गर्ने व्यक्तिलाई नेतृत्वमा स्थापित गर्नु सबैको दायित्व भएको बताए।
समितिका संरक्षक बालमुकुन्द सुवालले प्रदेश सरकारले योग प्रवर्धन र विस्तारका लागि थालेको कामको मुक्तकण्ठले प्रशंसा गरे। उनले यस कदममा सदैव साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाए।
राष्ट्रिय अध्यक्ष सुदर्शन सुवेदीले पातन्जल याेग समिति नेपालले सस्था स्थापना भएको छोटो समयमै ७ वटै प्रदेशका प्रदेश/जिल्ला समिति गठन गरि झन्डै १ हजार साधना केन्द्रमार्फत स्वस्थ र समृद्ध नागरिक निर्माणमा समिति सक्रिय रहेको बताए। साथै समृद्धिका लागि योगको विकल्प नभएको उनको धारणा थियो।
केन्द्रीय महासचिव एवं बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रादेशिक योग समितिका सदस्य डा.नवराज काफ्लेले प्रदेशका जिल्लामा योगलाई संस्थागत गर्न आवश्यक गृहकार्य गरी कार्यविधिको मस्यौदा स्वास्थ्य मन्त्रालयमा बुझाइएको जानकारी दिए। प्रदेशस्तरका गतिविधिबारे विस्तृत जानकारी दिँदै उनले चाँडै नै १३ वटै जिल्लामा योग संस्थागत स्वरूपमा आउने विश्वास व्यक्त गरे।
सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले नगरपालिकालाई योगयुक्त पालिका बनाउन वडा नम्बर ८ ले आवश्यक गृहकार्य गरिरहेको बताए। निकट भविष्यमै सूर्यविनायक नगरपालिकालाई योगयुक्त पालिका घोषणा गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रमका बीचमा डोलेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बस्नेतले मन्दिर क्षेत्रमा योग प्रवर्धन र विस्तारमा पुर्याएको योगदानका लागि पातञ्जल योग समिति नेपाललाई धन्यवाद ज्ञापन गरे।
संस्थाका केन्द्रीय सदस्य एवं पातञ्जल योग समिति नेपाल, भक्तपुर जिल्ला शाखाका अध्यक्ष रीता पाख्रीनले समितिमार्फत भक्तपुर जिल्लाका विभिन्न नगरभित्र झन्डै तीन दर्जन योग साधना केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिइन्। योग प्रवर्धन र विस्तारमा समिति सक्रिय रूपमा लागिरहेको उल्लेख गर्दै उनले यो अभियानमा थप सक्रियताका साथ जुट्न सम्पूर्ण जिल्लावासीलाई आग्रह गरिन्।
डोलेश्वर मन्दिर परिसरमा योग प्रवर्धन र विस्तारका लागि संस्थागत रूपमा विशेष सहयोग पुर्याएकोमा मुख्यमन्त्री किरण थापा मगर, वडा अध्यक्ष पुष्पराज बस्नेत र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बस्नेतलाई सम्मानपत्र प्रदान गरी खादा ओढाएर विशेष सम्मान गरिएको थियो।
वार्षिक साधारण सभामा पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्षद्वय होमप्रसाद गौतम र योगप्रसाद आचार्य,केन्द्रीय सचिव बालकृष्ण प्रधान, केन्द्रीय सदस्य हेमा प्रजापति, केन्द्रीय सदस्य उमेशमान मधिकर्मी, केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रीता पाख्रीन लगायत जिल्लाभरिका योगसाधक–साधिकाको विशेष उपस्थिति रहेको थियो।
Related

























Total views : 407953









