सूर्यबिनायकको उत्कृष्ठ नतिजा ल्याउनेमा अरनिको अगाडि, | Jana Aawaj News

सूर्यबिनायकको उत्कृष्ठ नतिजा ल्याउनेमा अरनिको अगाडि,

७६ जनाले परीक्षा दिएकोमा ७५ जना ग्रेडेडलाई विद्यालयद्धारा सम्मान (भिडियो सहित)

पढ्न लाग्ने समयः 4 मिनेट
सूर्यबिनायकको उत्कृष्ठ नतिजा ल्याउनेमा अरनिको अगाडि, : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर असार, १८ गते । सूर्यविनायक नगरपालिकामा एसईईमा उत्कृष्ठ नतिजा ल्याउने अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ ।

नगरपालिकाको शिक्षा शाखा प्रमुख रत्न कटुवालका अनुसार अरनिकोबाट ७६ जनाले एसईई दिएकोमा ७५ जना ग्रेडेड गराएर नगरकै उत्कृष्ठ नतिजा  दिन सफल भएका हुन् । ‘नगरमा थोरै विद्यार्थी सहभागि भएर सत प्रतिशत ल्याउने विद्यालय पनि छन् तर, उच्च जीपीए सहित सबैजसो विद्यार्थी ग्रेडेड गराएर अरनिकोको नतिजा उत्कृष्ठ छ,’उहाँले भन्नुभयो ।
विद्यालयले बुधबार एक कार्यक्रम गरेर ग्रेडेड ७५ विद्यार्थीलाई सम्मान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक महेन्द्रकुमार श्रेष्ठले ३.८७ उच्च जीपीएका साथ विद्यालयको नतिजा अहिलेसम्मकै उत्कृष्ठ रहेको बताउनुभयो ।
गतवर्ष ८२ प्रतिशत ग्रेडेड भएकोमा यसपाली ९९ प्रतिशत पुर्याउन सफल भएको उनले बताउनुभयो । ‘यो नतिजालाई कायम गर्दै सत प्रतिशत पुर्याउने विद्यालयको आगामी लक्ष्य हुनेछ,’उहाँले भन्नुभयो । ७५ मध्ये ३.६ जीपीए भन्दा बढी ल्याउने मध्ये नै १९ जना अर्थात २५ प्रतिशत छन् । त्यस्तै ३.०१ देखि ३.८७ जीपीए ल्याउने ६३ जना अर्थात ८४ प्रतिशत छन् ।
सिकाईमा कमजोर भएकाको पहिचान गरेर उपचारत्मक कक्षा चलाउने, नियमित कक्षा बाहेक बिहान बेलुका थप कक्षा, हरेक विद्यार्थीलाई निगरानी गरेर सुधार गरेकै कारण नतिजा सुधार गर्न सकेको प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो । त्यस्तै नतिजा सुधार हुनुमा परीक्षा पछि वितरण गरिने नतिजाको बिश्लेषण गरेर सुधारको नयाँ उपायले पनि काम गरेको उनले बताउनुभयो । ‘शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको साथले नतिजा सुधार गरेर हामी यहाँसम्म आइपुगेका हौ,’उहाँले भन्नुभयो ।


विद्यालयका पूर्व प्रधानाध्यापक प्रेमबहादुर खड्काले विद्यालयको नतिजाले सामुदायिक विद्यालयको हैसियत देखाइदिएको बताउनुभयो । ‘नतिजासंगै विद्यार्थीलाई संस्कार र सिप पनि सिकाउने व्यवस्था मिलाउनु जरुरी छ,’उहाँले भन्नुभयो ।

व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर चारका वडा अध्यक्ष लक्षुराम न्यौपानले विद्यालयको गुणस्तर सुधार गर्न आवश्यक भौतिक पूर्वाधार, शैक्षिक कार्यक्रममा कुनै कमी आउन नदिने बताउनुभयो । ‘अहिलेसम्म नगरपालिकाको साथ छदैछ । यस अनुसार नगरले नै गर्व गर्ने नतिजा आएको छ,’उनले भने,‘आगामी दिनमा यसलाई कायम राख्दै अझ गुणस्तर बढाउन काम गर्नु पर्नेछ । स्रोतको कमी हुने छैन ।’

व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि पाण्डप अधिकारीले विद्यार्थीको नतिजाले शिक्षकको मिहेनतलाई समेत देखाइ दिएको बताउनुभयो । ‘शिक्षकले जति मिहेनत गरेका थियौ । त्यसको नतिजा आएको छ । विद्यार्थीसंगै शिक्षक पनि पास भएका छौ । यसलाई निरन्तरता कायम हुने गरी फेरी काम गर्नु पर्ने भएको छ,’उहाँले भन्नुभयो ।

कक्षा ११, १२ मा अध्ययापन गराउँदै आएका शिक्षक एवं उद्योग बाणिज्य संघ भक्तपुरका बरिष्ठ उपाध्यक्ष कृष्ण मुरारी न्यौपानेले जुन विद्यालयबाट उत्कृष्ठ जीपीए साथ ग्रेडेड भएको हो त्यही ११ र १२ समेत सञ्चालनमा रहेकोले भर्ना हुन आग्रह गर्नुभयो । बजारको माग अनुसारको जनशक्ति उत्पादन गर्ने अरनिकोमै पढाई हुने भएकोले आफ्नै विद्यालयमा पुनः पढाई गर्न उहाँले विद्यार्थीलाई आग्रह समेत गर्नुभयो । ‘घर छेउमा पढ्दा न गाडी भाडा लाग्छ न त खाजा र खानाकै बढी पैसा लाग्छ,’उहाँले भन्नुभयो,‘घरको खाना खाएर सस्तोमा अध्ययन गर्न पनि अरनिको रोज्नुस,’उहाँले भन्नुभयो ।

भिडियो सहित :

+ posts