सूर्यविनायक नगरपालिकाको आयोजनामा नि: शुल्क भलिबल प्रशिक्षण कार्यक्रमको उद्गघाटन | Jana Aawaj News

सूर्यविनायक नगरपालिकाको आयोजनामा नि: शुल्क भलिबल प्रशिक्षण कार्यक्रमको उद्गघाटन

पढ्न लाग्ने समयः 2 मिनेट
सूर्यविनायक नगरपालिकाको आयोजनामा नि: शुल्क भलिबल प्रशिक्षण कार्यक्रमको उद्गघाटन : Jana Aawaj News

जन आवाज न्युज/ भक्तपुर, चैत्र २७ गते । सूर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिद्वारा बेसिक कोर्स निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रमको आज उद्गघाटन गरिएको छ ।

सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाका अनुसार, जिल्लाका भलिबल खेलाडीलाई वेशिक प्रशिक्षण दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा जिल्लाभरिका ३० जना भलिबल खेलाडी भाइबहिनीको सहभागिता रहेको सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै सुर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेतले भौतिक पूर्वाधार, विकास निर्माणसंगै सुर्यविनायक नगरपालिकाले खेलकुद क्षेत्रमा समेत उल्लेख्य काम गर्दै आएको बताउनुभयो । खेल क्षेत्रबाटसमेत नगरपालिकालाई मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन नगर पालिकाले योजनाबद्ध रुपमा काम गरिराखेको बस्नेतको भनाई थियो ।

सो अवसरमा प्रमुख अतिथि बस्नेतले नगर खेलकुद विकास समितिका तर्फबाट सुर्यविनायक युथ क्लवलाई खेलकुद सामाग्रीसमेत प्रदान गरेका थिए । त्यस क्रममा भलिवल १५ थान, नेट, लगायतका सम्पूर्ण खेल सामाग्री प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका सदस्य अनन्त वैध,  सुर्यविनायक युथ क्लबका अध्यक्ष मनोज गिरी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी गाम्चा युथ क्लबका अध्यक्ष सचिन्द्र खड्का, सूर्यविनायक नगर खेलकुद समितिका सदस्य साथीहरू र भलिबल खेलप्रेमी उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । यस प्रकारका निःशुल्क बेसिक कोर्स भलिबल प्रशिक्षण कार्यक्रमले  भलिबल खेलप्रति आकर्षक र भलिबल खेललाई विकासका लागि लागि महत्वपूर्ण योगदान दिने नगर खेलकुद समितिका सदस्य सचिव दीपक थापाले बताउनुभयो ।

थापाका अनुसार, निकट भविश्यमा हुन लागेको जिल्लास्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको तयारीका लागि पनि प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

केही समय यता नगर खेलकुद समिति बनेपश्चात सुर्यविनायकमा खेलकुद गतिविधि बढेको छ, यसले समग्र रुपमा भक्तपुरभित्र भएका खेलकुद प्रेमीहरु र खेलाडीहरुलाई उर्जावान र खेलप्रतिको मायालाई अझ मजबुत बनाएको छ । भविष्यमा भक्तपुरबाट रास्ट्रिय स्तरका अझ धेरै खेलाडीहरु तयार गर्न सक्ने गरि सुर्यविनायक नगर खेलकुद समितिले कार्य गरिरहेको छ ।

भलिबल प्रशिक्षण कार्यक्रम बैशाख १५ गतेसम्म संचालन हुनेछ ।

+ posts