
नबराज काफ्ले
भक्तपुर,भाद्र ७ गते । “सम्मानित ज्येष्ठ नागरिक, समुन्नत समाज” भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै भक्तपुरमा ज्येष्ठ नागरिक सेवा समाजको औपचारिक विधिवत उद्घाटन समारोह सुसम्पन्न भएको छ । भक्तपुर स्थित शुभकामना पार्टी प्यालेस परिसरमा भव्य रुपमा सम्पन्न उक्त कार्यक्रमले संस्था दर्ता पश्चात औपचारिक रूपमा ज्येष्ठ नागरिकको हकहित, सम्मान र सामाजिक सहभागिताको नयाँ अध्यायको थालनी गरेको छ ।

कार्यक्रमको औचित्यसहित अध्यक्षता ग्रहण गर्दै ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष बालमुकुन्द सुवालले ज्येष्ठ नागरिकलाई बोझका रूपमा नभई समाजको अनुभवी शक्तिका रूपमा हेरिनुपर्ने बताउनुभयो । उहाँले परिवार भत्किँदो र सहरीकरण बढ्दो वर्तमान परिवेशमा एक्लोपनमा धकेलिएका ज्येष्ठ नागरिकहरुका लागि सामूहिक सहारा र संस्थागत आडभरोसा जरुरी भइसकेको उल्लेख गर्दै संस्थालाई कुनै एक व्यक्ति वा समूहको नभई सम्पूर्ण भक्तपुरवासीको साझा अभियानका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । समाजका उपाध्यक्ष कृष्णेश्वरी हाडाले स्वागत मन्तव्य राख्दै ज्येष्ठ नागरिकले दिएको ज्ञान र संस्कारकै जगमा वर्तमान पुस्ता उभिएको स्मरण गराउनुभयो । उहाँले सम्मान भन्नु कुनै एक दिनको समारोहमा सीमित नरही दैनिक व्यवहार र सेवामा प्रतिविम्बित हुनुपर्ने बताउँदै संस्थाले महिला र ज्येष्ठ नागरिकबीचको अन्तरपुस्ता सहकार्यलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उपस्थित दाता, समाजसेवी र सहयोगी संघसंस्थाप्रति उहाँले हार्दिक आभार समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमकै क्रममा मानव कल्याण समाज सेवा घरकी अध्यक्ष सुमी मानवले अध्यक्ष सुवाललाई खादा ओढाई यस क्षेत्रमा पुर्याएको योगदानका लागि विशेष सम्मान गर्नुभयो, जसले समारोहलाई अझ भावुक तुल्यायो । संस्थाप्रति समाजका सामाजिक मनका धनीहरुको उत्साहजनक सहभागिता उद्घाटन कार्यक्रमकै दिन देखिन पुग्यो । ५० हजार रुपैयाँ तिरेर ८ जना संरक्षक सदस्य, २५ हजार तिरेर १ जना विशिष्ट सदस्य र ५ हजार तिरेर ४५ जना आजीवन सदस्य बन्नुभयो, जसबाट सबै प्रकारका सदस्यता बापत कुल ६ लाख ५० हजार रुपैयाँ आर्थिक संकलन भएको थियो । प्रमुख आतिथ्यता ग्रहण गर्दै नेपाल भाषाका सुपरिचित साहित्यकार तथा योग साधक तिलक प्रकाश कायस्थले ज्येष्ठ नागरिकलाई समाजको जीवित धरोहरका रूपमा व्याख्या गर्दै उनीहरूको ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
विशिष्ट अतिथि तथा ज्येष्ठ नागरिक अभियन्ता हस्त बहादुर लामाले दशकौंदेखि यस क्षेत्रमा गरिरहेको आफ्नो अनुभवका आधारमा ज्येष्ठ नागरिकको हकहितका लागि दिगो र संस्थागत संरचना अपरिहार्य रहेको बताउनुभयो । पातञ्जल योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदीले योग र ध्यानलाई ज्येष्ठ अवस्थाको स्वस्थ जीवनशैलीसँग जोड्दै यस्ता संस्थाहरुले स्वास्थ्य सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । ज्येष्ठ नागरिक केयरिङ्ग विशेषज्ञ रति पक्वानले हेरचाहको वैज्ञानिक र मानवीय पक्षमा प्रकाश पार्नुभयो भने सामाजिक व्यक्तित्व केदार खड्काले समुदायस्तरीय सहकार्यको महत्त्वबारे आफ्ना धारणा राख्नुभयो । योग ध्यान आरोग्य सञ्जाल नेपालका महासचिव एवं योग जिल्ला समन्वय समिति भक्तपुरका सचिव नबराज काफ्लेले आफ्नो मन्तव्यमा नेपालको जनसांख्यिक संरचना क्रमशः बुढ्यौलीतर्फ उन्मुख हुँदै गएको यथार्थलाई औंल्याउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ज्येष्ठ नागरिकको जनसंख्या १०.२१ प्रतिशत पुगिसकेको छ, जुन २०४८ सालमा जम्मा ५.७ प्रतिशत मात्र थियो । यसरी दुई दशकमै झन्डै दोब्बर वृद्धि भएको यथार्थलाई काफ्लेले औंल्याउँदै यस्तो संरचनागत परिवर्तनले परिवार र राज्य दुवैतर्फबाट थप जिम्मेवार, संगठित र दिगो हेरचाह संयन्त्रको माग गरिरहेको बताउनुभयो । उहाँले योग, ध्यान र सामुदायिक स्वास्थ्य सञ्जालको अनुभवका आधारमा ज्येष्ठ नागरिकहरुलाई केवल सहायताको पात्र नभई ज्ञान, सीप र अनुभवको जीवित स्रोतका रूपमा समाजले पुनः चिन्नुपर्ने र यस्ता संस्थाहरुले त्यही कडी बनेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
नवयुग मातृधाम एकता समाजका अध्यक्ष जिज्ञासु हरिचरण दासले आफ्नो संस्था पनि ज्येष्ठ नागरिक सेवा समाजसँग आबद्ध हुँदै आवश्यक परेको बखत सामाजिक सत्सङ्ग सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको अन्त्यमा समाजका सचिव विजेन्द्र ध्वजुले धन्यवाद ज्ञापनसहित विशेष मन्तव्य राख्नुभयो । उहाँले संस्था स्थापना केवल एउटा प्रारम्भ मात्र भएको र यसलाई निरन्तरता दिन सबैको दीर्घकालीन सहकार्य अपरिहार्य रहेको बताउँदै उपस्थित दाता, अतिथि र सहयोगी सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो । ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकको पालनपोषण, हेरचाह, सम्मान र सामाजिक सुरक्षालाई राज्य र परिवार दुवैको साझा दायित्वका रूपमा परिभाषित गरेको छ । तर व्यवहारमा हेर्ने हो भने आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार देशभर हाल ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संख्या मात्र ३६८ पुगेको छ, जुन बढ्दो जनसंख्याको अनुपातमा अझै अपर्याप्त देखिन्छ । यस्तो अवस्थामा भक्तपुरका सामाजिक मनका धनीहरु मिलेर स्थापना गरेको ज्येष्ठ नागरिक सेवा समाज जस्ता संस्थाहरु ज्येष्ठ नागरिकको उत्तराद्ध जीवनलाई सम्मानित, सुरक्षित र आत्मीय बनाउने दिशामा स्थानीय स्तरबाटै थालिएको सार्थक पहलका रूपमा हेरिन थालेको छ । संस्थाले अपनाएको दृष्टि र ध्येयअनुसार स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श, दैनिक सहयोग अभियान र सामाजिक सुरक्षा कोषजस्ता कार्यक्रमहरु आगामी दिनमा कार्यान्वयनमा ल्याइने संस्थापक पदाधिकारीहरुले जनाएका छन् ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related








Total views : 386032




