
नारायण थापा
धुलिखेल । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसन (हामी माया गर्छौं फाउण्डेशन) को आयोजनामा आइतबार काभ्रेपलाञ्चोकको धुलिखेलमा बृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘सन् २०२६ स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्ष’ को अवसर पारेर फाउन्डेसनले सञ्चालन गरिरहेको ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ (Worldwide Clean WORLD Movement) अन्तर्गत उक्त कार्यक्रम गरिएको हो।

बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालित सरसफाइ अभियानमा फाउन्डेसनका सदस्य, स्वयंसेवक र स्थानीय बासिन्दा गरी करिब ४०० जनाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले धुलिखेल नगरपालिका वडा नं. ७ अन्तर्गत अरनिको राजमार्गदेखि गणेश मन्दिरसम्मका सडक किनार क्षेत्रहरू तथा पर्यटकीय स्थल १००० भर्याङको पैदल मार्गमा जथाभावी फालिएका घरायसी फोहोर, कागज तथा प्लास्टिकजन्य वस्तुहरू संकलन गरी वातावरणीय सचेतनासमेत फैलाएका थिए। संकलित फोहोरको उचित व्यवस्थापनका लागि धुलिखेल नगरपालिकाको नगर सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शाखासँग समन्वय गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको सम्पूर्ण खर्च फाउन्डेसनका सदस्यहरूले नै व्यहोरेका हुन्।

धुलिखेल नगरपालिकाका कार्यकारी नगर प्रमुख निराजन जङ्गमको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष रोमी प्रसाद श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष गणेश आचार्य, वडा नं. १० का वडाध्यक्ष गोविन्द प्रसाद उपाध्याय तथा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुखको विशिष्ट आतिथ्य रहेको थियो। यसैगरी, शान्ति वन सामुदायिक वन उपभोक्ता समिति (भट्टेडाँडा) का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने ट्राफिक व्यवस्थापनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सहयोग पुर्याएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यकारी नगर प्रमुख जङ्गम र विशिष्ट अतिथिहरूले फाउन्डेसनको स्वयंसेवी कार्यको खुलेर प्रशंसा गर्नुभयो। स्थानीय समुदाय र पर्यटकीय क्षेत्रको सरसफाइमा यस अभियानले प्रत्यक्ष लाभ पुर्याएको भन्दै उहाँहरूले संस्थाप्रति आभार व्यक्त गर्नुभयो। वी लभ युका एक प्रतिनिधिले स्वच्छ वातावरण स्वस्थ र सुखद जीवनको आधारभूत सर्त भएको उल्लेख गर्दै यस अभियानले नागरिकहरूलाई दैनिक जीवनमा वातावरण संरक्षणमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

फाउन्डेसनकी अध्यक्ष जाङ गिल जाको नेतृत्वमा नोभेम्बर १९ देखि बागमती, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश गरी देशका ५ प्रदेशका १२ स्थानमा यो अभियान सञ्चालन भइरहेको छ। ‘स्वच्छ वातावरण नै मानव कल्याणको मुख्य आधार हो’ भन्ने उद्देश्यका साथ सन् २००८ मा दक्षिण कोरियाबाट सुरु भएको ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत हालसम्म नेपालसहित ८४ देशका ३ लाख ४६ हजारभन्दा बढी मानिसहरू सहभागी भइसकेका छन्। संयुक्त राष्ट्रसंघको सार्वजनिक सूचना विभाग (UN DGC) सँग आबद्ध वी लभ युले ‘आमाको प्रेम सारा संसारलाई’ भन्ने नाराका साथ वातावरण संरक्षण, आपतकालीन राहत, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले यस वर्ष मात्र नेपालका १७ स्थानमा ३ हजार ५०० भन्दा बढीको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने गोरखा र मध्यपुर थिमीलगायतका विद्यालयहरूमा शैक्षिक तथा भौतिक सामग्रीसमेत सहयोग गरेको छ। विश्वका १०२ देशमा ११ हजार १०० भन्दा बढी कल्याणकारी गतिविधि सञ्चालन गरिसकेको यस संस्थाले अमेरिकी राष्ट्रपतिको स्वयंसेवक सेवा स्वर्ण पदकसहित १ हजार १०० भन्दा बढी अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ।











Total views : 409156



