
ओम प्रकाश अविरल जङ्ग शाह
नेपालगञ्ज (बाँके), मङ्सिर । अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा आइतबार नेपालगञ्जमा ‘क्लिन वर्ल्ड अभियान’ (Clean WORLD Movement) अन्तर्गत वृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। करिब १५० जना स्वयंसेवकको सहभागितामा रत्नराजमार्गको धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म करिब १.५ किलोमिटर सडक तथा वरपरको क्षेत्र सरसफाइ गरिएको हो।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले प्रमुख अतिथिका रूपमा कार्यक्रमको उद्घाटन गरे। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा नं. १२ का अध्यक्ष तरुण बज्राचार्य र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अहिरले सहभागी स्वयंसेवकहरूप्रति आभार व्यक्त गरे। वातावरण सरसफाइ अरूका लागि नभई आफ्नै स्वास्थ्यका लागि भएको उल्लेख गर्दै उनले भने, “वातावरण सफा भए मात्र मानिस स्वस्थ रहन सक्छन्, त्यसैले सहर सफा राख्नु सबै नागरिकको साझा दायित्व हो भन्ने सन्देश यस अभियानले दिएको छ।”
संयुक्त राष्ट्रसंघले सन् १९८५ देखि हरेक वर्ष डिसेम्बर ५ मा ‘अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस’ मनाउँदै आएको छ। फाउन्डेसनका अनुसार सोही दिवसको अवसर तथा राष्ट्रसंघले सन् २०२६ लाई ‘दिगो विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक वर्ष’ घोषणा गरेको सन्दर्भमा विश्वव्यापी रूपमा सञ्चालित अभियान अन्तर्गत नेपालगञ्जमा पनि सरसफाइ गरिएको हो। स्वयंसेवकको योगदानको सम्मान गर्नु, स्वयंसेवी भावना प्रवर्द्धन गर्नु र सरकार तथा नागरिक समाजबीच सहकार्य बढाउनु अभियानको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
पश्चिम नेपालको प्रमुख र व्यस्त व्यापारिक केन्द्रका रूपमा रहेको नेपालगञ्जमा दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने भएकाले सहरलाई सफा र प्लास्टिकमुक्त राख्नु आवश्यक रहेको आयोजकको भनाइ छ। ‘आमाको प्रेमलाई विश्वभर बाँडौँ’ भन्ने मूल नारासहित मानवीय सेवा र वातावरण संरक्षणमा सक्रिय फाउन्डेसनले स्थानीय सरकार, प्रशासन र समुदायसँगको समन्वयमा यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
















Total views : 409156



