
रशिला थापा
काठमाडौँ, मंसिर ७ गते । अन्तर्राष्ट्रिय वी लभ यु फाउन्डेसन (हामी माया गर्छौं फाउन्डेसन) ले काठमाडौँको गोकर्णेश्वरमा बृहत् वातावरण सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ‘सन् २०२६ स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्ष’ को अवसर पारेर संस्थाले सञ्चालन गरिरहेको ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ अन्तर्गत आइतबार बिहान उक्त सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।

गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित बागमती कोरिडोरको माकलबारी पुलदेखि एभरेस्ट पेट्रोल पम्पसम्मको करिब दुई किलोमिटर क्षेत्रमा बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सरसफाइ गरिएको थियो। फाउन्डेसनका सदस्य, स्वयंसेवक र स्थानीय बासिन्दा गरी करिब २८० जनाको सक्रिय सहभागिता रहेको उक्त अभियानबाट घरायसी, कागज तथा प्लास्टिकजन्य गरी करिब १७० बोरा फोहोर संकलन गरिएको छ। संकलित फोहोरको उचित व्यवस्थापनका लागि गोकर्णेश्वर नगरपालिकाको नगर सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शाखासँग समन्वय गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको सम्पूर्ण खर्च फाउन्डेसनका सदस्यहरूले नै व्यहोरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि एवं काठमाडौँ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य माननीय राजुनाथ पाण्डे र विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष नारायण प्रसाद सुवेदीले फाउन्डेसनको स्वयंसेवी कार्यको खुलेर प्रशंसा गर्नुभयो। उहाँहरूले यस अभियानले बागमती सरसफाइ महाअभियानमा थप टेवा पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा न्युटन कलेजका प्रमुख तथा स्थानीय टोल सुधार समितिका अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो।
फाउन्डेसनका एक प्रतिनिधिले स्वच्छ वातावरण स्वस्थ र सुखद जीवनको आधारभूत सर्त भएको बताउँदै यस अभियानले नागरिकलाई दैनिक जीवनमा वातावरण संरक्षणप्रति जिम्मेवार बन्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष जाङ गिल जाको नेतृत्वमा रहेको वी लभ यु फाउन्डेसनले नोभेम्बर १९ देखि बागमती, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश गरी देशका ५ प्रदेशका १२ स्थानमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सञ्चालन गरिरहेको छ। सन् २००८ मा दक्षिण कोरियाबाट सुरु भएको यस अभियानमा हालसम्म नेपालसहित ८४ देशका ३ लाख ४६ हजारभन्दा बढी मानिसहरू सहभागी भइसकेका छन्।
संयुक्त राष्ट्रसंघको सार्वजनिक सूचना विभाग (UN DGC) सँग आबद्ध यस संस्थाले ‘आमाको प्रेम सारा संसारलाई’ भन्ने नाराका साथ वातावरण संरक्षणका अलावा रक्तदान, आपतकालीन राहत, स्वास्थ्य र शिक्षाका क्षेत्रमा विश्वका १०२ देशमा ११ हजार १०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरिसकेको छ। नेपालमा मात्र यस वर्ष १७ स्थानमा आयोजित रक्तदान कार्यक्रममा ३ हजार ५०० भन्दा बढीको सहभागिता रहेको संस्थाले जनाएको छ।









Total views : 409653



