
जन आवाज न्युज /भक्तपुर। बागमती प्रदेशको भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि भक्तपुरमा आयोजित विशेष समारोहबीच बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा मगरले आइतबार भक्तपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता-हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका कार्यवाहक प्रमुख सुजाता बाडेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको प्रारम्भमा अतिथिहरूको स्वागत, परिचय तथा उद्घोषणपछि स्वर्गीय ईश्वर बहादुर थापाको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि राष्ट्रिय गान प्रस्तुत गरी पानसमा दीप प्रज्वलनसँगै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले भक्तपुरले पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल हुनु नियमित अनुगमन, स्थानीय तह, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायबीचको प्रभावकारी समन्वयको परिणाम भएको बताउनुभयो । उहाँले खोपबाट कुनै पनि बालबालिका वञ्चित नहुने गरी आगामी दिनमा समेत नियमित सेवा, अनुगमन र अभिलेखीकरणलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार जिल्लामा ० देखि १६ महिनासम्मका ५ हजार ५० तथा १६ देखि २३ महिनासम्मका ५ हजार ६८४ बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सबै आवश्यक खोप प्राप्त गरेका छन् । भक्तपुर नगरपालिका, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले तोकिएका सबै सूचक पूरा गरेपछि जिल्ला घोषणा भएको हो । प्रमुख अतिथि तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले पूर्ण खोप सुनिश्चितता घोषणा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै प्रदेश सरकारले अब उपचारभन्दा रोकथाममुखी स्वास्थ्य सेवामा विशेष जोड दिएको बताउनुभयो । उहाँले मुख्यमन्त्री स्वास्थ्य कार्यक्रममार्फत स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरी घरदैलोमै नसर्ने रोगको प्रारम्भिक पहिचान तथा स्वास्थ्य परामर्श सेवा विस्तार गरिने जानकारी दिनुभयो । मन्त्री थापाले भक्तपुर अस्पतालमा छिट्टै कार्डियोलोजी (मुटुरोग) सेवा सञ्चालन गरिने तथा ख्वप अस्पतालमा अत्याधुनिक एमआरआई (MRI) मेसिन जडानका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको जानकारी दिँदै भक्तपुरलाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गरिने बताउनुभयो ।

विशिष्ट अतिथि तथा बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले स्वास्थ्य मन्त्री र मन्त्रालयका सचिव दुवै भक्तपुरसँग सम्बन्धित भएकाले जिल्लालाई स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्र बनाउने उद्देश्यका साथ काम भइरहेको बताउनुभयो । उहाँले भक्तपुर अस्पतालले देशभर उत्कृष्ट सेवा प्रवाह गर्दै नमूना अस्पतालका रूपमा पहिचान बनाएको उल्लेख गर्नुभयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले पूर्ण खोप सुनिश्चितता घोषणा उपलब्धिमात्र नभई यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो । उहाँले नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदा बाल मृत्युदरमा उल्लेखनीय कमी आएको र हालसम्मको तथ्याङ्कअनुसार बाल मृत्युदर करिब ८० प्रतिशतले घटेको जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरू माननीय देवेन्द्र श्रेष्ठ, माननीय डा. राजेन्द्रमान श्रेष्ठ, माननीय शकुन्तला श्रेष्ठ लगायतले पूर्ण खोप अभियानलाई निरन्तरता दिँदै कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नहुनेमा जोड दिनुभयो । त्यसैगरी सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना (भट्टराई) ले स्थानीय तहले स्वास्थ्य सेवा विस्तार, नियमित खोप अभियान र समुदायस्तरीय जनचेतनामार्फत अभियानलाई सफल बनाएको बताउनुभयो । भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानराम श्रेष्ठले भक्तपुर अस्पतालले प्रदेशकै नमूना स्वास्थ्य संस्था बन्ने दिशामा उल्लेखनीय प्रगति गरिरहेको बताउँदै आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गरिने विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक योग समितिका योग विज्ञ सदस्य नवराज काफ्लेले स्वस्थ समाज निर्माणका लागि खोपसँगै योग, स्वस्थ जीवनशैली र रोकथाममुखी स्वास्थ्य प्रणालीलाई समान रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू, प्रदेश सरकारका सचिव तथा विभिन्न मन्त्रालयका प्रतिनिधि,जिल्ला प्रशासन कार्यालय प्रतिनिधि, जनस्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्थाहरू, चारै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, महिला स्वास्थ्य स्वयंसेविका, WHO, UNICEF लगायतका विकास साझेदार संस्था, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समिति भक्तपुरका कार्यवाहक प्रमुख सुजाता बाडेले पूर्ण खोप सुनिश्चितता घोषणा उपलब्धिको अन्त्य नभई अझ ठूलो जिम्मेवारीको सुरुआत भएको बताउनुभयो । उहाँले नियमित अनुगमन, जनचेतना अभिवृद्धि र सबै निकायबीचको सहकार्यबाट यस उपलब्धिलाई दीगो बनाइने विश्वास व्यक्त गर्नुभयो ।
जनस्वास्थ्य कार्यालयका कर्मचारी दिपक अच्छामीले सन्चालन गर्नुभएको सो कार्यक्रममा पूर्ण खोप सुनिश्चितता अभियान सफल बनाउन योगदान पुर्याउने चारवटै नगरपालिका, स्वास्थ्य संस्था, विभिन्न सरोकारवाला निकाय तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य मन्त्री किरण थापा मगरले सम्मान गर्नुभएको थियो । भक्तपुर २०७५ सालमै पहिलो पटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो । त्यसयता नियमित मूल्याङ्कन, सेवा निरन्तरता र दिगोपनाका सूचक पूरा गर्दै आएको जिल्लाले यस वर्ष पुर्ण घोषणा प्राप्त गर्दै बाल स्वास्थ्य सूचकमा अग्रणी जिल्लाको पहिचानलाई थप सुदृढ बनाएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related













Total views : 373058












