लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन | Jana Aawaj News

लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन

पढ्न लाग्ने समयः 2 मिनेट
लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन : Jana Aawaj News

गोविन्द विश्वकर्मा

जन आवाज न्युज/भक्तपुर , भाद्र ७ गते । हार्टस् फर नेपाल फाउण्डेशनको आयोजनामा सञ्चालन भएको “लिडरसिप कन्फ्रेन्स २०२६” भक्तपुरस्थित जर्मन होम्स होटलमा सम्पन्न भएको छ। आज बिहान ८ः३० बजेदेखि सुरु भएको सम्मेलन साँझ ४ बजेसम्म सञ्चालन भएको थियो। सम्मेलनमा विभिन्न क्षेत्रका तीन सयभन्दा बढी युवा व्यवसायी, उद्यमी, नेतृत्वकर्ता तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

सम्मेलनमा अन्तर्राष्ट्रिय नेतृत्वकर्ता तथा व्यवसायी डेनिस कमिन्स प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँले सहभागीहरूलाई प्रभावकारी तथा जिम्मेवार नेतृत्वका विभिन्न आयामबारे प्रशिक्षण दिनुभएको थियो। नेतृत्व भनेको केवल पद, प्रभाव वा लोकप्रियताको विषय नभई जिम्मेवारी, अनुशासन, सही निर्णय र जवाफदेहितासँग जोडिएको विषय भएको उहाँले बताउनुभयो।

सम्मेलनका क्रममा सहभागीहरूलाई वास्तविक नेतृत्व सीपको विकास, विवेकपूर्ण निर्णय क्षमता, चुनौतीपूर्ण परिस्थितिमा नेतृत्व गर्ने तरिका, संस्थागत विकास तथा नेतृत्वमा आवश्यक अनुशासन र जवाफदेहिता लगायतका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। त्यस्तै, पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिलाई आफ्नो संस्था, व्यवसाय तथा सेवामा प्रभावकारी रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेतृत्वका सैद्धान्तिक पक्षसँगै व्यवहारिक अनुभवलाई समेत प्राथमिकता दिइएको थियो। सहभागीहरूले विभिन्न क्षेत्रका नेतृत्वकर्तासँग अनुभव आदान–प्रदान गर्नुका साथै आफूले सामना गरिरहेका नेतृत्वसम्बन्धी चुनौती र त्यसका सम्भावित समाधानबारे सिक्ने अवसर प्राप्त गरेका थिए।

‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन

लिडरसिप कन्फ्रेन्सकै क्रममा प्रमुख वक्ता डेनिस कमिन्सद्वारा लिखित ‘बिल्ट ओर ब्रोकन’ (Built or Broken) पुस्तकसमेत विमोचन गरिएको छ। पत्रकार सम्मेलनमार्फत पुस्तकबारे जानकारी दिँदै लेखक कमिन्सले नेतृत्वले कुनै संस्था, समाज वा राष्ट्रलाई निर्माणको दिशामा लैजान पनि सक्ने र गलत नेतृत्वका कारण विघटन तथा कमजोर बन्ने अवस्थामा पुर्‍याउन पनि सक्ने बताउनुभयो।

उहाँका अनुसार पुस्तकले नेतृत्वका सकारात्मक तथा नकारात्मक प्रभावलाई विभिन्न दृष्टिकोणबाट प्रस्तुत गरेको छ। नेतृत्व केवल मानिसहरूलाई प्रभाव पार्ने वा लोकप्रिय बन्ने माध्यम मात्र नभई व्यवस्थित संरचना निर्माण, जिम्मेवारी निर्धारण, अनुशासन कायम र जवाफदेहिता सुनिश्चित गर्ने प्रक्रिया भएको उहाँको भनाइ थियो।

लेखक कमिन्सले विशेषगरी युवा पुस्ताले नेतृत्वका विषयमा गहिरो बुझाइ विकास गर्न आवश्यक रहेको बताउँदै ‘बिल्ट ओर ब्रोकन’ पुस्तक नेतृत्व क्षमता अभिवृद्धि गर्न चाहनेहरूका लागि उपयोगी हुने दाबी गर्नुभयो। उहाँले नेतृत्वको जिम्मेवारी लिने प्रत्येक व्यक्तिले आफ्नो नेतृत्वले संस्था, समुदाय र समाजमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा निरन्तर आत्ममूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो।

सम्मेलनमा प्रभावकारी नेतृत्व, नेतृत्वका चुनौती, निर्णय क्षमता, जिम्मेवारी, अनुशासन, संस्थागत विकास तथा आधुनिक प्रविधिको प्रयोग लगायतका विषयमा प्रशिक्षण तथा अनुभव आदान-प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले सम्मेलनबाट नेतृत्वसम्बन्धी नयाँ ज्ञान, सीप र प्रेरणा प्राप्त भएको बताएका छन्। नेतृत्वका विभिन्न पक्षलाई व्यवहारिक रूपमा बुझ्ने अवसर प्राप्त भएको तथा आगामी दिनमा आफूलाई थप जिम्मेवार र प्रभावकारी नेतृत्वका लागि तयार गर्न सम्मेलन उपयोगी बनेको सहभागीहरूको भनाइ थियो।

आयोजक हार्टस् फर नेपाल फाउण्डेशनले विभिन्न क्षेत्रका नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याएर असल, जिम्मेवार, अनुशासित र प्रभावकारी नेतृत्व विकासमा योगदान पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाएको छ। चार सयभन्दा बढी नेतृत्वकर्ताको सहभागिताले सम्मेलनको उद्देश्य र नेतृत्व विकासप्रतिको चासोलाई थप उत्साहजनक बनाएको आयोजकको भनाइ छ।

एकदिने सम्मेलनबाट सहभागीहरू नेतृत्वका नयाँ अवधारणा, व्यावहारिक ज्ञान र सकारात्मक सोच लिएर फर्किएको आयोजकले जनाएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 अन्तर्राष्ट्रिय वीलभयूद्वारा काठमाडौंमा ‘९३४औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 लिडरसिप कन्फ्रेन्स २०२६ सम्पन्नः ‘बिल्ट ओर ब्रोकन’ पुस्तक विमोचन
3 वी लभ यू फाउन्डेसनद्धारा नेपालगन्जमा ९२१ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 भक्तपुरमा ज्येष्ठ नागरिक सेवा समाजको भव्य उद्घाटन, ६ लाख ५० हजार संकलन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न