
जन आवाज न्युज/काठमाडौं भदौ ७ गते । विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा काठमाडौंमा ९३४ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वी लभ यू का सदस्यहरू तथा स्थानीय बासिन्दाहरूसहित करिब २५० जनाको सहभागीता रहेको थियो । आज काठमाडौ महानगरपालिका वडा नं. ३२, सुविधानगर, तीनकुने स्थित कौटिल्य ग्लोबल स्कूलको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरी ४९ हजार ९ सय ५० मिलिलिटर रगत दान गरेका थिए ।

यस कार्यक्रमको उद्देश्य स्थानीय समुदायमा स्वैच्छिक रक्तदानको संस्कृति फैलाउनुका साथै रगतको आपूर्तिमा सहयोग पुऱ्याउनु थियो । एक व्यक्तिको रक्तदानले अर्को व्यक्तिको सहभागितालाई प्रेरित गर्दै जीवन बचाउने सहयोगको सकारात्मक चक्र निर्माण होस् भन्ने उद्देश्यले वी लभ यू ले ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ सञ्चालन गर्दैआएको छ ।
वी लभ यू का लागि नेपालका अध्यक्ष किशोर साम्सोहाङले रक्तदानका लागि आफ्नो अमूल्य समय निकालेर सहभागी हुनुभएका सबैप्रति हामी आभार व्यक्त गर्नुहुँदै धेरै नागरिकहरू एउटै उद्देश्यका लागि एकजुट हुनुभएकोले यो कार्यक्रम स्थानीय समुदायका लागि न्यानो शक्ति बनोस् भन्ने आशा व्यक्त गर्नुभयो । रगतको कुनै जात, धर्म र भूगोल हुँदैन तर यो केवल मानवतासँग जोडिएको हुन्छ । नेपालमा पनि कुनै व्यक्तिले रगतको अभावले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले वीलभयूले हरेक वर्ष सातै प्रदेशको विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम सञ्चालन गर्दैआएको कुरा बताउनुभयो साथै रक्तदाताहरूले दान गर्ने रगत थोरै तरल पदार्थ मात्र नभएर रक्त अभावमा छट्पटाइरहेका बिरामीहरूको निम्त जीवनको आशा हुने भएकोले स्वयंसेवी रक्तदाताहरूलाई स्व:स्फूर्तले रक्तदान गर्न हौसला प्रदान गर्नुभयो ।
कार्यक्रम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जारी रहेको थियो । सहभागीहरूले रक्तदानको प्रक्रियाअनुसार पालैपालो जीवन बचाउने कार्यमा सहभागिता जनाएका थिए । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवा, भृकुटी मण्डपले रक्तदानको सम्पूर्ण प्रक्रियामा प्राविधिक सहयोग गर्दै कार्यक्रमलाई साथ दिएका थिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष सरोज ढकालले वी लभ यू ले गर्ने हरेक रचनात्मक र सिर्जनात्मक कार्यमा आफ्नो वडाको तर्फबाट सधैँ साथ समर्थन रहने कुरा बताउनुहुँदै रक्तदान गरेर जीवनदान गर्ने कार्य गरेको वी लभ यू फाउन्डेसनप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
रक्तदान सम्पन्न गरेका एक जना सहभागीले आफ्नो रगत अरू कसैको जीवन बचाउने कार्यमा प्रयोग हुन्छ भने योभन्दा पुण्य कार्य अरू के हुन्छ होला र ? भन्दै खुशीसाथ रक्तदान गरेको कुरा बताउनुभयो । अर्का एक सहभागीले रगतचाहिँ कृत्रिम रूपमा उत्पादन गर्न नमिल्ने तर भौतिक उपस्थितिमा कसैको शरीरबाट रगत निकालेर नै दान गर्नुपर्ने तत्त्व भएकोले आफू पनि व्यस्तताको बाबजूद रक्तदान गर्न आएको कुरा बताउनुभयो ।
वी लभ यू ले यही अगस्ट महिनामा कैलालीको टिकापुर, काठमाडौंको किर्तिपुरमा, बाँकेको नेपालगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ भने आगामी साता भक्तपुर, भरतपुर र पोखरामा पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागिरहेको छ ।
वी लभ यू ले रक्तदान मात्र होइन, नेपालका विभिन्न स्थानमा वातावरण सरसफाइ, शिक्षा सहयोग तथा जोखिममा रहेका वर्गलाई सहायता प्रदान गर्ने जस्ता विविध कल्याणकारी गतिविधिहरू सञ्चालन गर्दैआएको छ ।
गण्डकी प्रदेशको गोरखा तथा बागमती प्रदेशको भक्तपुर मध्यपुर ठिमी लगायत क्षेत्रका विद्यालयहरूमा शैक्षिक प्रयोजनका लागि टेलिभिजन, स्कुल ब्याग, कपडा र पङ्खाजस्ता सामग्री सहयोग गर्नुका साथै विद्यालयको साइनबोर्ड जडान र पर्खाल मर्मत गरेर शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुऱ्याएको छ । त्यसै गरी वातावरणीय कल्याणकारी गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ परियोजनामार्फत दिगो जिउने वातावरण निर्माण गर्दै आएको वीलभयूले विपद्का समयमा राहत तथा पुनर्स्थापना कार्यमा पनि सहयोग पुऱ्याउँदै आएको छ । सन् २०१५ को महाभूकम्पका पीडितहरूका लागि राहत, भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण सहयोग तथा कोभिड-१९ महामारीका समयमा संक्रमण रोकथाम सामग्री प्रदान गर्ने जस्ता गतिविधिहरू सञ्चालन गरिएको थियो ।
वीलभयूले सन् २००४ मा कोरियाबाट ‘विश्वव्यापी रक्तदान अभियान’ सुरु गरेर २० वर्षभन्दा बढी समयदेखि विश्वका विभिन्न देशहरूमा निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दैआएको छ । कोरियासहित ६७ देशमा कुल १ लाख ५१ हजार ३७ जना सहभागी भएका छन् र ६७ हजार ८४८ जनाले रक्तदान गरेका छन् । एक पटकको रक्तदानले अधिकतम तीन जनाको जीवन बचाउन सकिने कुरालाई विचार गर्दा, करिब २ लाख मानिसको जीवन बचाउन योगदान पुऱ्याएको मान्न सकिन्छ (सन् २०२६ जुनसम्मको तथ्याङ्कको आधारमा) ।
संयुक्त राष्ट्रसंघको DGC (सार्वजनिक सूचना विभाग) सँग सहकार्य गर्ने एक गैरसरकारी संस्था अन्तर्राष्ट्रिय वीलभयूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत मानवीय गतिविधिहरू सञ्चालन गर्दछ । वीलभयूले १०२ देशमा वातावरण संरक्षण, आपत्कालीन राहत, पानी तथा सरसफाइको प्रत्याभूति, गरिबी तथा भोकमरी न्यूनीकरण, स्वास्थ्य सेवा, स्थानीय समुदाय कल्याण र शिक्षा सहयोग लगायत विभिन्न क्षेत्रमा ११,१०० पटक भन्दा बढी गतिविधि सञ्चालन गरिसकेको छ । यस्ता निःस्वार्थ गतिविधिहरूको कदरस्वरूप, वीलभयूले अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, गणतन्त्र कोरियाको पदक, इक्वेडरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता १,१०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ । नेपालमा पनि काठमाडौं र कीर्तिपुरका मेयरहरूबाट प्रशंसा-पत्र तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा-पत्र प्राप्त गरेको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related








Total views : 386133




