प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा | Jana Aawaj News

प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा

पढ्न लाग्ने समयः 2 मिनेट
प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा : Jana Aawaj News

काठमाडौं। लामो राजनीतिक सङ्घर्ष, चार दशकभन्दा बढीको शैक्षिक नेतृत्व र सामाजिक सेवाका अनुभव समेटिएको प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ। बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा नेकपाका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वमन्त्री गिरिराजमणि पोखरेल, थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै श्रेष्ठले राईलाई कम्युनिस्ट आन्दोलनका वैचारिक योद्धाका रूपमा चित्रण गरे। पूर्वमन्त्री पोखरेलले दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएका राईको राजनीतिक तथा सामाजिक चेतनाको महत्त्व औँल्याए। पूर्वअध्यक्ष असिम राईले उनलाई आफ्नो अभिभावकका रूपमा गर्वका साथ लिने गरेको बताए।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५, जुबुमा २००९ साल चैत १० गते जन्मिएका राईको जीवन सङ्घर्ष र सामाजिक सक्रियताले भरिएको छ। सानै उमेरमा आमाबुवा र बजै गुमाएका उनले कठिन परिस्थितिबीच आफ्नो जीवनयात्रा अघि बढाएका थिए। आत्मवृत्तान्तमार्फत उनले जीवनका अनुभव, राजनीतिक गतिविधि र सामाजिक योगदानलाई भावी पुस्तासम्म पुर्‍याउने प्रयास गरेका छन्।

पुस्तकमा नेपालको सामन्तवादविरोधी आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्ष, वामपन्थी राजनीतिक सङ्गठन निर्माण तथा २०३५ सालको विद्यार्थी आन्दोलनका प्रसङ्ग समेटिएका छन्। २०३३ सालमा धनकुटाबाट सोलुखुम्बु फर्किएपछि चौथो महाधिवेशनसँग सम्बन्धित भूमिगत राजनीतिक गतिविधिमा संलग्न भएका राईले राजनीतिक कार्यकर्तालाई सहयोग गर्ने र सङ्गठन निर्माणमा योगदान दिने काम गरेका थिए। उनी २०४६ सालमा संयुक्त वाममोर्चा, सोलुखुम्बुको जिल्ला सचिवसमेत निर्वाचित भएका थिए।

शिक्षा क्षेत्रमा राईको योगदान पनि उल्लेखनीय छ। उनले जनजागृति निम्न माध्यमिक विद्यालयमा २०३० देखि २०६९ सालसम्म प्रधानाध्यापकका रूपमा सेवा गरेका थिए। एउटै विद्यालयमा ४० वर्ष चार महिना चार दिन नेतृत्व गरेका उनले शिक्षक संगठन, शैक्षिक योजना तथा विद्यालय व्यवस्थापनमा समेत भूमिका निर्वाह गरेका थिए।

शिक्षाबाहेक राईले नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा सोलुखुम्बुमा आठ वर्ष दुई कार्यकाल मन्त्रीका रूपमा काम गरेका थिए। २०६८ सालमा फाप्लु अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत भएका उनी विभिन्न सामाजिक संस्थामा पनि आबद्ध थिए।

‘आत्मवृत्तान्त’ मा लेखकका उपलब्धि र सङ्घर्षसँगै कमजोरी, गल्ती, डर तथा आत्मसङ्घर्षका अनुभव पनि समेटिएका छन्। थुलुङ राई समुदायको इतिहास, संस्कृति र वंशावलीसम्बन्धी सामग्रीले पुस्तकलाई व्यक्तिगत जीवनकथाभन्दा व्यापक बनाएको छ। यसले प्रेमकुमार राईको जीवनयात्रासँगै सोलुखुम्बुको राजनीतिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिक इतिहास अभिलेखबद्ध गर्ने अपेक्षा गरिएको छ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
2 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
3 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
4 परमेश्वरको मण्डलीद्वारा भोटेकोशी बाढीपीडितलाई आपत्कालीन राहत
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न