
कोहलपुर, बाँके कार्तिक १० गते । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै बाँकेको कोहलपुर नगरपालिकाले ASEZ WAO लाई प्रशंसापत्र प्रदान गरी सम्मान गरेको छ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा आबद्ध जागिरे युवाहरूको अन्तर्राष्ट्रिय स्वयंसेवक समूह ASEZ WAO ले हालै कोहलपुर नगरपालिका-७, लक्ष्मणपुरस्थित मितेरी सामुदायिक वनमा बृहत् वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रमअन्तर्गत वन क्षेत्रमा १,००० वटा बिरुवा रोपिएको छ।

वन विनाशबाट प्रभावित क्षेत्रमा हरियाली विस्तार गर्दै भावी पुस्ताका लागि स्वच्छ, सुन्दर र हरित वातावरण निर्माण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। वृक्षारोपणमार्फत वातावरणीय सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा सहभागी स्वयंसेवकहरूले सामूहिक रूपमा उत्साहजनक ढङ्गले बिरुवा रोप्दै वातावरण संरक्षणप्रतिको आफ्नो प्रतिबद्धता प्रकट गरेका थिए। ASEZ WAO ले विश्वव्यापी रूपमा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै ‘मदर्स फरेस्ट (Mother’s Forest)’ लगायतका विभिन्न वातावरणीय तथा सामाजिक अभियानहरू सञ्चालन गर्दै आएको छ। यस्ता गतिविधिले स्थानीय समुदायमा वातावरणप्रतिको जिम्मेवारीबोध बढाउनुका साथै दिगो विकासको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
वृक्षारोपण कार्यक्रममार्फत पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुखले ASEZ WAO लाई आधिकारिक प्रशंसापत्र हस्तान्तरण गर्नुभएको हो। नगरपालिकाबाट प्राप्त यस सम्मानले वातावरण संरक्षण र सामुदायिक सेवाका क्षेत्रमा अझ बढी सक्रिय भएर लाग्न स्वयंसेवकहरूलाई थप ऊर्जा र प्रेरणा मिलेको समूहले जनाएको छ।
ASEZ WAO ले आगामी दिनहरूमा पनि स्थानीय निकाय तथा समुदायसँग निरन्तर सहकार्य गर्दै वातावरण संरक्षण, सरसफाइ र सामाजिक सेवाका विभिन्न रचनात्मक कार्यहरूलाई निरन्तरता दिने लक्ष्य राखेको छ।
Related









Total views : 403671