
ललितपुर । वि.सं. २०८२ चैत्र ७ गतेदेखि हरेक महिनाको पहिलो शनिबार एकजना स्रष्टाको एकल लघुकथा वाचन कार्यक्रम आयोजना गर्दै आएको ‘स: दबू साहित्य’को आठौं संस्करण सम्पन्न भएको छ। ललितपुरको तलाछें टोलमा बडा दशैं-२०८३ को माहोलका बीच आयोजित उक्त कार्यक्रममा स्रष्टा प्रेम के निडरले आफ्नो एकल लघुकथा वाचन प्रस्तुत गर्नुभएको हो।
बोडे (हाल जोरपाटी) निवासी स्रष्टा निडरले कार्यक्रममा समसामयिक, पारिवारिक र सामाजिक परिवेशलाई समेटेर तयार पारिएका नेपालभाषाका १५ वटा लघुकथाहरू वाचन गर्नुभएको थियो। तीन चरणमा प्रस्तुत गरिएका ती लघुकथाहरूले वर्तमान समय, परिस्थिति तथा समाजमा विद्यमान विकृति-विसङ्गतिलाई उजागर गरेका थिए। वाचित लघुकथाहरू सुन्दर, समयसान्दर्भिक र चेतनामूलक रहेको उपस्थिति श्रोताहरूले बताएका छन्।

छोटो तथा प्रभावकारी रूपमा सञ्चालित कार्यक्रममा स: दबू साहित्यका कविन्द्रलाल प्रधान र सुरेन्द्र भक्त श्रेष्ठले स्रष्टा प्रेम के निडरलाई माला लगाएर स्वागत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण स: दबू साहित्यकी समा श्रीले स्रष्टा निडरको संक्षिप्त परिचय प्रस्तुत गर्दै गर्नुभएको थियो भने संयोजक सुधीर ख्वविले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै स्रष्टा निडरलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।
स: दबू साहित्यले यसअघि आयोजना गरेका सातवटा संस्करणहरूमा क्रमशः पूर्णराम मुनंकर्मी (पहिलो), राजेश्वरी राजोपाध्याय (दोस्रो), अमृत रत्न शाक्य (तेस्रो), अन्जना ताम्राकार (चौथो), रामेश श्रेष्ठ (पाँचौं) र बिमलप्रभा बज्राचार्य (छैठौं) को एकल लघुकथा वाचन सम्पन्न गरिसकेको छ। त्यस्तै, सातौं संस्करण विविध साहित्य वाचन कार्यक्रमका रूपमा सञ्चालन गरिएको थियो, जसमा २८ जना स्रष्टाले कथा, लघुकथा, कविता, गजल, मुक्तक तथा हाइकु वाचन गरेका थिए।
संस्थाका अनुसार स: दबू साहित्यको नियमित शृङ्खला अन्तर्गतको नवौं संस्करण आगामी २०८३ साल मङ्सीर (मार्ग) ५ गते शनिबार आयोजना हुनेछ।
Related









Total views : 403080