
भक्तपुर। भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु भएको छ। ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष हुँदै आएको तःमुंज्या यस वर्ष भक्तपुर नगरपालिका-७, गोमारीको यातामा सुरु भएको हो।
सम्मेलनको सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतीबहादुर खायमलीले उद्घाटन गरे। बिहान ११ बजेदेखि सुरु भएको सम्मेलन राति ११ बजेसम्म निरन्तर सञ्चालन हुने जनाइएको छ। दुई दिन दुई रात चल्ने यो नेपालकै ऐतिहासिक साहित्य सम्मेलन भएको आयोजकको दाबी छ।
सम्मेलनमा आमन्त्रित तथा अतिथि साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए। भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफलसमेत हुने कार्यक्रम रहेको थियो। साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने परम्पराअनुसार दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम गरिएको थियो। यस वर्ष पनि समसामयिक राजनीतिक तथा सामाजिक विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्यालाई साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिमार्फत अभिव्यक्त गरिएको आयोजकले जनाएको छ।
पहिलो चरणमा साहित्य वाचनका साथै विभिन्न विज्ञहरूले मन्तव्य व्यक्त गरेका थिए। विभिन्न राजनीतिज्ञ, कूटनीतिज्ञ, वकिल, लेखक, पत्रकार, साहित्यकार, जलस्रोत विज्ञ, कानुनविद्लगायतले आ-आफ्नो विषय र विशेषज्ञताबारे चर्चा गरेका थिए। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, नेमकिपा केन्द्रीय सदस्य नन्दबहादुर शाही, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, जलस्रोत अध्येता रतन भण्डारी, डा. धनरत्न शाक्य, डा. सरोज धिताल, डा. तारालाल श्रेष्ठ, हरिहर तिमल्सिना, अभय श्रेष्ठ, कृष्णकुमार वैद्यलगायत दर्जनौँ विज्ञहरूले मन्तव्य व्यक्त गरेका थिए। पहिलो चरणको बीचबीचमा गीतसंगीतमार्फत सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिएको थियो। प्रतियोगितात्मक साहित्यका साथै अतिथि साहित्य पनि वाचन गरिएको थियो। साथै साँझदेखि रातिसम्म प्रतियोगितात्मक नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीतलगायत सांस्कृतिक प्रस्तुति गरिएको थियो।
नेपाल संवत् ११०० अर्थात् वि.सं. २०३७ देखि निरन्तर आयोजना हुँदै आएको तःमुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवर्धनमा योगदान पुर्याउँदै आएको छ। चार दशकभन्दा लामो इतिहास बोकेको सम्मेलनले साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्दै आएको छ।
प्रत्येक वर्ष भक्तपुरका फरक-फरक वडा तथा टोलमा आयोजना हुँदै आएको तःमुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइनेछ। प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने आयोजकको उद्देश्य छ। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषा-संस्कृतिप्रेमीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी दिए।
आज तःमुंज्याको मुखपत्रका रूपमा प्रकाशित ‘तःमुंज्या ख्वपौं’को विमोचन प्रमुख अतिथि नारायणमान बिजुक्छेँले गरे। नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘नयाँ पुस्ता’ पुस्तकको विमोचन वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले गरे। सोही तःमुंज्या दबुलीमा युवा कवि दामोदर सुवाल, २०८२ सालको मदन पुरस्कार प्राप्त ‘मुकुण्डो’ पुस्तककी लेखिका वीणा जोशी र वरिष्ठ नर्स दयालक्ष्मी जोशी (वैद्य)लाई सम्मान गरिएको थियो। कार्यक्रममा ‘तःमुंज्या’ नामक स्मारिका विमोचन गरिएको थियो। पहिलो दिनको सभापति इभा कंसाकार रहेकी थिइन्। दोस्रो दिन शनिबारको सभापति बसन्त महर्जन रहने जनाइएको छ।
जनकवि चन्द्रबहादुर उलकलिखित, राजेश हाडाबाट संगीतबद्ध तथा रवि हाडा, लक्ष्मण पलिखेल र साथीहरूको स्वर रहेको स्वागतगान र नृत्यबाट ४६औँ तःमुंज्या सुरु भएको थियो। आयोजक समितिका अध्यक्ष उकेश कवांले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रमको सभापतित्व डेन्टल सर्जन डा. इभा कंसाकारले गरेकी थिइन्।







Total views : 409817



