

भक्तपुर । चाँगुनारायण नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल १३ वटा विद्यालयलाई सम्मान गरेको छ ।
नगरपालिकाले शुक्रबार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यालय, प्रधानाध्यापक, शिक्षक, शिक्षिका तथा विद्यार्थीलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा एसइई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल १३ वटा विद्यालय, २५ जना पूर्वप्रधानाध्यापक, १२ जना अवकाश प्राप्त शिक्षक तथा शिक्षिका, एसइई परीक्षामा ४ जिपिए ल्याउन सफल पाँच जना विद्यार्थी र आधारभूत शिक्षा उत्तीर्ण परीक्षा २०८२ मा ४ जिपिए हासिल गर्न सफल दुई जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख बुढाथोकीले विद्यार्थीहरूको लगनशीलता, शिक्षकहरूको उच्च समर्पण तथा अभिभावकहरूको अमूल्य माया र सहयोगका कारण चाँगुनारायण नगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै गएको बताउनुभयो ।


उहाँले शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई आगामी दिनमा पनि प्रोत्साहन गरिने बताउनुभयो ।
नगरपालिकाले शैक्षिक उपलब्धि हासिल गर्ने विद्यालय, शिक्षक तथा विद्यार्थीलाई सम्मान गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि र शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

Related























Total views : 405127









