
भक्तपुर । रोटरी क्लब अफ भक्तपुरको आयोजनामा शनिबार भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयमा सञ्चालित पुस्तक प्रदर्शनीको दोस्रो दिन ‘ख्वपमा गजल’ कार्यक्रमअन्तर्गत गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्तिक १२ देखि १५ गतेसम्म विविध कार्यक्रमसहित आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भक्तपुर साहित्यिक समाज (भसास) को समन्वयमा सम्पन्न उक्त गजल वाचन कार्यक्रममा उपत्यकामा भइरहेको अविरल वर्षाको समेत पर्वाह नगरी विभिन्न स्थानबाट साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
साँखु, चाबहिल, बालाजु, ललितपुर, काभ्रे तथा भक्तपुरका चाँगुनारायण, सूर्यविनायक र नगरभित्रका स्रष्टा तथा स्रोताहरूको खचाखच उपस्थितिमा सम्पन्न कार्यक्रममा २० जना स्रष्टाहरूले आफ्ना गजल प्रस्तुत गरेका थिए।
कार्यक्रममा ईश्वर थोकर, सूर्यलक्ष्मी भोमी, तुल्सीहरि प्रजापति, कुसुम घिमिरे, शिला सैंजु, श्याम माकजु, रामशरण न्यौपाने, चन्द्रलाल भोमी, डिल्लीप्रसाद मुलतिहुन, मानन्धर ‘अभागी’, विष्णु थापा ‘विछोड’, अर्चना छुकाँ, बुद्धिकुमार घो, राजुराम मुनंकर्मी, वसन्त नकर्मी, पागल यात्री, सुधिर ख्ववि, समा श्री, रञ्जिता थापा र काशिराम विरसले गजल वाचन गरेका थिए।
स्रष्टाहरूले सुन्दर, रसिलो, हँसिलो, घोचिलो, प्रेमिल तथा भावविह्वल गजल प्रस्तुत गर्दै उपस्थित स्रोताहरूलाई मन्त्रमुग्ध बनाएका थिए। गजलका विविध भाव र शैलीले कार्यक्रमलाई थप रोचक र साहित्यिक बनाएको थियो।
भक्तपुर साहित्यिक समाजका सल्लाहकार काशिराम विरसको सुन्दर प्रस्तुतिकरणमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ भक्तपुरका अध्यक्ष दशरथ प्रजापतिले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको बताउनुभयो। प्रदर्शनीमा सञ्चालन गरिएका विविध कार्यक्रमले शिक्षा, साहित्य, कला तथा संस्कृतिको विकासमा थप टेवा पुग्ने उहाँको भनाइ थियो।
त्यसैगरी, भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकर्मीले रोटरी क्लब अफ भक्तपुरसँग हातेमालो गर्दै आयोजना गरिएको गजल वाचन कार्यक्रमले पुस्तक प्रदर्शनीमा थप साहित्यिक सुन्दरता थपेको बताउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक, सहभागी स्रष्टा तथा स्रोताहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
पुस्तक प्रदर्शनीसँगै साहित्यिक कार्यक्रमको आयोजना हुँदा पठन संस्कृतिको प्रवर्द्धन, स्रष्टाहरूको सिर्जनात्मक अभिव्यक्ति र साहित्यप्रेमीहरूबीचको आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

Related
















Total views : 404885









