
काठमाडौं, मंसिर १० गते । इन्टरनेसनल वी लभ यू फाउन्डेसन (International WeLoveU Foundation) को आयोजना तथा काठमाडौं संगठनको नेतृत्वमा आज टोखास्थित भूतखेल पार्क परिसरमा ‘क्लिन वर्ल्ड (Clean WORLD) अभियान’ अन्तर्गत बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
फाउन्डेसनको ग्रीन ल्याण्ड शाखाको संयोजनमा बिहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको उक्त दुई घण्टे अभियानमा १५० जना स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो । सो क्रममा पार्क परिसरभित्र छरिएर रहेका प्लास्टिकजन्य तथा अन्य फोहोर संकलन गरी कुल १०० बोरा अर्थात् करिब ५०० किलोग्राम फोहोर व्यवस्थापन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले फाउन्डेसनले वातावरण संरक्षण र सामाजिक सेवाका क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सार्वजनिक स्थलको सरसफाइ तथा स्वच्छ वातावरण निर्माणमा संस्थाले गरेको कार्य निकै प्रशंसनीय छ । आगामी दिनमा पनि फाउन्डेसनले सञ्चालन गर्ने यस्ता सामाजिक तथा वातावरणीय गतिविधिमा नगरपालिकाको तर्फबाट सधैं साथ र सहयोग रहनेछ ।”
त्यसैगरी, विशिष्ट अतिथि टोखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रमेश डंगोलले चिसो मौसमको समेत पर्वाह नगरी १५० जना स्वयंसेवकहरू उत्साहपूर्वक सरसफाइमा जुटेको देख्दा आफू निकै प्रभावित भएको बताउनुभयो । “वी लभ यूका स्वयंसेवकहरूको सेवाभाव र सक्रियताबाट हामीले पनि प्रेरणा पाएका छौँ,” उहाँले भन्नुभयो, “यस्ता गतिविधिले स्थानीय बासिन्दामा समेत सरसफाइप्रतिको चेतना अभिवृद्धि भई आफ्नो वरपरको वातावरण सफा राख्न प्रेरित गरेको छ ।”

कार्यक्रममा भूतखेल पार्क व्यवस्थापन समितिका अध्यक्ष सूर्यमान डंगोल, प्रहरी नायब निरीक्षक पशुपति बस्ताकोटीसहित तीन जना प्रहरी कर्मचारी तथा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका कोषाध्यक्ष गणेश खनालको अतिथिका रूपमा उपस्थिति रहेको थियो ।
स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, पार्क व्यवस्थापन समिति र स्वयंसेवकहरूको संयुक्त सहभागिताले समुदायमा वातावरण संरक्षणप्रति नागरिकको जिम्मेवारी र सामूहिक सहभागिताको सकारात्मक सन्देश प्रवाह गरेको छ । विश्वव्यापी रूपमा ‘क्लिन वर्ल्ड अभियान’ सञ्चालन गर्दै आएको फाउन्डेसनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूप्रति धन्यवाद ज्ञापन गरेको छ ।










Total views : 411008



