
भक्तपुर, ११ मंसिर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माध्यमिक विद्यालयले जितेको छ।
प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले १६ स्वर्ण, १३ रजत र ७ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो। त्यसैगरी कुलमाया भगवती माध्यमिक विद्यालयले ८ स्वर्ण, ४ रजत र ५ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दा मिड भ्याली स्कुलले ८ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझाएको छ।
विजेता विद्यालयहरूलाई नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ। प्रथम भएको अरनिको माध्यमिक विद्यालयले ५० हजार रुपैयाँ, दोस्रो भएको कुलमाया भगवती माध्यमिक विद्यालयले ३० हजार रुपैयाँ र तेस्रो भएको मिड भ्याली स्कुलले २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले विजेता खेलाडी तथा विद्यालयलाई पुरस्कार, मेडल, ट्रफी र शिल्ड प्रदान गर्नुभएको थियो।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लछुराम न्यौपाने, नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायत विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाका अनुसार यस वर्षको प्रतियोगितामा ७ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा भलिबल, कराते, एथलेटिक्स, तेक्वान्दो र कबड्डी विधाका खेलहरू सञ्चालन गरिएको थियो।







Total views : 412542



