नेमकिपा चुनावबाट समाजवाद स्थापना हुनेमा विश्वास गर्दैन | Jana Aawaj News

नेमकिपा चुनावबाट समाजवाद स्थापना हुनेमा विश्वास गर्दैन

पढ्न लाग्ने समयः 3 मिनेट
नेमकिपा चुनावबाट समाजवाद स्थापना हुनेमा विश्वास गर्दैन : Jana Aawaj News

भक्तपुर । भक्तपुर देशका साना नगरहरुमध्ये एक भएर पनि ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक वस्तु र सम्पदाहरुका कारण अत्यन्त सम्पन्न नगर हो । भक्तपुर नाचगानको राजधानी, सांस्कृतिक नगर र जीवित संग्रहालयको रुपमा परिचित छ ।

भक्तपुर नगरपालिकामा गत २०७९ सालका स्थानीय तहका निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका शत प्रतिशत जनप्रतिनिधिहरु निर्वाचित भएको स्थान हो । । नेपाल मजदुर किसान पार्टी नेपालका कम्युनिष्ट पार्टीहरुमध्ये एक हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) हुनुहुन्छ । उहाँ नेपालका वरिष्ठ कम्युनिष्ट नेताहरुमध्ये एक हुनुहुन्छ । माक्र्सवाद, लेनिनवाद र माओ त्से तुङ विचारधारालाई नेपाल मजदुर किसान पार्टीले मार्गदर्शनको रुपमा लिंदै देशमा समाजवाद स्थापना गर्न कानुनी र गैरकानुनी संघर्षमार्फत अगाडि बढ्दैछ ।

निर्वाचनबाट समाजवाद स्थापना हुनेमा नेपाल मजदुर किसान पार्टी विश्वास गर्दैन । निर्वाचनमा बहुमत जितेर समाजवाद स्थापना हुने विचार संशोधनवाद हो र संशोधनवाद माक्र्सवादविपरीत पुँजीवादी विचार हो । तर निर्वाचनलाई समाजवादी क्रान्तिको लागि अगाडि बढ्न नेमकिपाले जनताको हितमा उपयोग गर्दै आएको छ । प्रतिक्रियावादी संघ संस्था भित्र गएर जनताको हितमा काम गर्ने लेनिनवादी नीतिअनुसार नेपाल मजदुर किसान पार्टीले विभिन्न तहका निर्वाचनहरुमा भाग लिएर जनताको सेवा गर्दै आएको छ ।

देशको राजनैतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल मजदुर किसान पार्टीको तर्फबाट संघीय संसदमा पार्टी सचिव का. प्रेम सुवालले प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने बागमती प्रदेशमा का. सुरेन्द्रराज गोसाइँ र सृजना सैंजुले प्रतिनिधित्व गर्दै आउनुभएको छ । पुँजीवादी सरकारमा नगई संसदमा प्रखर प्रतिपक्षको भूमिका खेल्ने पार्टीको नीतिअनुरुप नेमकिपाका निर्वाचित प्रतिनिधिहरुले संसद र प्रदेश सभामा काम गर्दै आउनुभएको छ । जनताका हितविपरीतका विधेयकहरुको विरोध गर्ने र जनपक्षीय कानुनलाई अगाडि बढाउने तथा देशघाती एमसीसी र एसपीपीको विषयमा नेपाल मजदुर किसान पार्टीले विरोध गर्दै त्यसलाई पारित नगराउन सडक र सदनमा निरन्तर अवाज उठाउँदै आएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरुले विभिन्न जिल्लामा जित हासिल गर्नुभयो । त्यहाँ पनि हाम्रा पार्टीका प्रतिनिधिहरूले जनताको पक्षमा काम गर्दै आउनुभएको छ । शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाईजस्ता जनताका आधारभूत विषयहरुलाई नगरपालिकाले जोड दिँदै आएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ बारे पुस्तक लेख्नुभयो । दुई दशक अघि लेख्नुभएको त्यही पुस्तकलाई आधार बनाई भक्तपुर नपाले काम गर्दैछ ।

नगरपालिकामा नेमकिपाका जनप्रतिनिधिहरुले कामदार वर्गको हितमा निरन्तर काम गर्दैछौं । घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र स्थापना, नगरपालिकाको १०० बेडको अस्पताल सञ्चालन गर्दै २०–२५ मिनेटभित्र नागरिकहरुलाई स्वास्थ्य केन्द्र पुग्ने व्यवस्था गर्दैछौं ।

कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित नहोस् भनी रु. ५ लाखसम्मका शैक्षिक ऋण, वार्षिक ३ करोडभन्दा बढी छात्रवृत्ति तथा भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषा पढ्ने नगरबासी विद्यार्थीहरुलाई पीएचडीसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएका छौं । वडा वडामा शिशुस्याहारको सञ्चालन, ७ वटा शैक्षिक संस्थाहरुमार्फत देशभरका ७७ मध्ये ७२ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययन अध्यापनको व्यवस्था गर्दैछौं । ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारी गर्दैछौं ।

२०७२ सालको भूकम्पले यहाँका सयौं सम्पदाहरु बिग्रे, भत्के । त्यसको पुनःनिर्माण हाम्रो चुनौति थियो । २०७४ सालको निर्वाचनमा हामी निर्वाचित भएपछि द्रुतगतिमा सम्पदा पुनःनिर्माणका कामहरु भए । हालसम्म भूकम्पले भत्केका अधिकांश सम्पदाहरुको पुनःनिर्माण सम्पन्न भइसकेका छन् ।

सरसफाइलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले स्थानीय जनतालाई नै सचेत पारी घर घरमै कुहिने र नकुहिने मल अलग अलग संकलनको व्यवस्था गर्दैछ । कुहिने मलबाट प्राङ्गारिक मल उत्पादन गरी सस्तोमा किसानहरुलाई बिक्री गर्दै आएको छ ।

संविधानको भावनाअनुसार प्रत्येक नागरिकलाई शारीरिक व्यायामको अधिकार प्रदान गर्ने उद्देश्यले टोल टोलमा खुल्ला व्यायामशाला, हरेक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता, अन्तरविद्यालय खेलकुद प्रतियोगितालगायत खेललाई नागरिक जीवनको अभिन्न अंगको रुपमा विकास गर्ने नगरपालिकाले सोच राख्दै आएको छ ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रलाई आधार बनाई संविधानले कल्पना गरेको समाजवाद उन्मुख कार्य गर्दै आएको छ ।

+ posts