पत्रकारिता दलगत स्वार्थबाट मुक्त हुनुपर्छ : सभापति लामिछाने (तस्बिरमा हेर्नूहोस्) | Jana Aawaj News

पत्रकारिता दलगत स्वार्थबाट मुक्त हुनुपर्छ : सभापति लामिछाने (तस्बिरमा हेर्नूहोस्)

पढ्न लाग्ने समयः 4 मिनेट
पत्रकारिता दलगत स्वार्थबाट मुक्त हुनुपर्छ : सभापति लामिछाने (तस्बिरमा हेर्नूहोस्) : Jana Aawaj News

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आबद्धताबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।


मंगलबार रफत सञ्चार क्लबको १४ औं वार्षिकोत्सवको समुद्घघाटन गर्दै सभापति लामिछानेले भने, “जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भावनाबाट माथि उठ्न सके मात्रै जनताको दुःख, दर्दलाई सही ढंगबाट उजागर गर्न सकिन्छ । मैले विगतमा पत्रकारिता गर्दा पनि प्रश्नै–प्रश्नै गरेको र प्रश्नभन्दा माथि आफू कहिल्यै गएको थिइनँ ।”

सभापति लामिछानेले आजको पत्रकारिता आधिकारिकतामा आधारित हुनुपर्ने पक्षमाथि जोड दिँदै भने, “आज पत्रकारहरूले केही विषयमा सूचना प्रवाह गर्दा आम दर्शक तथा पाठकले प्रवाहित सूचना सही वा तथ्यपरक छ कि छैन भनेर परख गर्ने गरेकाले पत्रकारहरू हिजोभन्दा पनि आज चनाखो र जिम्मेवार बन्नु पर्दछ । अन्यथा उसलाई जनताले मूल्यांकन गर्ने गरिन्छ ।”
उहाँले पत्रकारिता र दलगत भावना एकै ठाउँमा रहन नसक्ने चर्चा गर्दै आफूले पत्रकारिता गर्दा जनताको पक्षमा वकालत गरेकाले आम जनताले न्यानो माया प्रदानको उहाँले बताउनुभयो ।


सभापति लामिछानेले आफू पत्रकार हुँदा नेतालाई आलोचना गर्ने र आफू नेता हुँदा पत्रकारलाई आलोचना गर्ने काम कहिल्यै नगरेको स्पष्ट पार्नुभयो । उहाँले पत्रकारले सहीलाई सही भन्ने र गलतलाई गलत भन्ने हिम्मत राख्नुपर्ने सल्लाह समेत दिनुभयो ।

“मेरो सार्वजनिक जीवनका सन्दर्भमा बजारमा उठेका प्रश्न, लाञ्छनाको जवाफदिन तयार छौं“ उहाँले भन्नुभयो,“ कहिले–कहिले पानी धेरै भयो भने डुबाउने रहेछ भने कहिले पानीले पखाल्ने पनि गर्दो रहेछ । त्यसकारण मेराबारेमा उठ्ने गरेका र उठाइएका प्रश्नबाट म आत्तिएको पनि छैन र तर्सिएको पनि छैन । रास्वपा सत्य, निष्ठाको ताकतमा लोकतन्त्रको पक्षमा रहेको छ । कुनैपनि मूल्यमा लोकतन्त्र नमासियोस्स नखोसियोस भन्ने मान्यतामा रास्वपा विश्वास राख्दछ ।”
उहाँले अगाडि भने, “कहीँ कतै पत्रकारहरूका कलम, माइक्रोफोन र क्यामेरा गलत सूचना र अमूक दलका नेताहरूलाई बचाउन चढाएका त छैनौं यदि पत्रकारिताका उपकरणहरू नेताहरूलाई चढायौं भने त्यो लोकतन्त्रका लागि घातक सिद्ध हुनेछ ।”


सभापति लामिछानेले रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाउँदै गर्दा लोकतन्त्रलाई सुदृढ, जनजीविकालाई सहज र उत्पीडत एवं अन्यायमा परेकाको आवाजलाई सही ढंगले प्रस्तुत गर्न अग्रसर हुँदै लोकतन्त्रको सच्चा पहरेदार बन्न सकोस भन्ने शुभकामना दिनुभयो ।


सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा मिडिया व्याग्राउन्डबाट सिर्जना भएको पार्टी भएकाले जनताले यस पार्टीलाई आफ्नो सही आवाज उठाउन माया गरेको बताउनुभयो । उहाँले जनताले माया नगरेको खण्डमा रास्वपा छोटो समयमा राष्ट्रिय पार्टी बन्न नसक्ने उल्लेख गर्दै रास्वपाप्रति जनताको भरोसा सदैव रहिरहने र रास्वपाले पनि जनताको सही मुद्दालाई कहिल्यै नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रमुख सचेतक परियारले जनधार नभई कुनैपनि पार्टी स्थापित नहुने चर्चा गर्दै भने, “रास्वपाले अल्पसंख्यक र उत्पीडित जनताको आवाज बुलन्द पारेकाले यस पार्टीप्रति जनताको अगाध स्नेह र माया रहेको छ । यस मायाप्रति पार्टीको तर्फबाट म साधुवाद ज्ञापन गर्न चाहन्छु ।”
कार्यक्रममा भक्तपुर जिल्लाका पूमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले मिडियाको बहस बजारमा सम्प्रेषित सूचना कुन सही र कसन गलत हो भन्ने आम जनतालाई छुट्याउन मसस्किल परिरहेको बेला सञ्चारकर्मीहरूले सही सूचना प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले रफत सञ्चार क्लब जहिले पनि सत्य र न्यायको पक्षमा रहने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कार तथा कल्पना स्मृति प्रतिष्ठानका संरक्षक प्रेमबहादुर थापाले आफूले जहिल्यै पनि देश र जनाताको पक्षमा काम गर्दै आएको आगामी दिनमा पनि देश र जनताको पक्षमा काम गरिरहने विचार व्यक्त गर्नुभयो ।


कार्यक्रममा सभापति लामिछानेले स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिका प्रधान सम्पादक शिवकुमार भट्टराई, रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पत्रकार कृष्ण किसी, नेपाल टेलिभिजनका दिलिप थापा र कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा. रविन खड्कालाई पनि दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।


कार्यक्रममा सभापतिको आशनबाट रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापाले रफत सञ्चार क्लब आम जनताको पीडा, मर्का उजागर गर्ने र भ्रष्टाचार विरुद्धको लिकबाट कहिल्यै पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

+ posts