‘खाद्य, स्वास्थ्य र कृषिमा चिसो प्लाज्मा र पल्स पावर प्रविधिहरुमा अन्तर्राष्ट्रिय कार्यशाला २०२५ को उद्घाटन | Jana Aawaj News

‘खाद्य, स्वास्थ्य र कृषिमा चिसो प्लाज्मा र पल्स पावर प्रविधिहरुमा अन्तर्राष्ट्रिय कार्यशाला २०२५ को उद्घाटन

पढ्न लाग्ने समयः 2 मिनेट
‘खाद्य, स्वास्थ्य र कृषिमा चिसो प्लाज्मा र पल्स पावर प्रविधिहरुमा अन्तर्राष्ट्रिय कार्यशाला २०२५ को उद्घाटन : Jana Aawaj News
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभाग, काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्स, भौतिकशास्त्र विभाग, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भएको ‘खाद्य, स्वास्थ्य र कृषिमा चिसो प्लाज्मा र पल्स पावर प्रविधिहरुमा अन्तर्राष्ट्रिय कार्यशाला २०२५’ को साेमबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले नेमकिपाले आफ्नो राजनीतिक प्रतिबद्धताअनुसारख्वप शैक्षिक संस्थाहरु सञ्चालन गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय कार्यशाला आयोजनाले युवा इन्जिनियर, वैज्ञानिक, अनुसन्धानकर्ता, प्रोफेसरहरु उत्साहित हुने र भौतिक विज्ञानतर्फ विद्यार्थीको आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको पाठ्यक्रम पुरानो भएका कारण धेरै युवा विद्यार्थीहरु उच्च शिक्षा अध्ययन र रोजगारीको नाममा विदेश जान बाध्य भइरहेको उहाँले बताउनुभयो ।
ख्वप इ. कलेज, ख्वप कलेज अफ इन्जिनियरिङलगायतका कलेजमा विद्यार्थी भर्ना योग्यता सूचिको आधारमा हुने बताउँदै उहाँले भन्नुभयो, ‘तोडफोड र आगजनी समस्याको समाधान होइन, भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ, ठूल्ठूला भ्रष्टाचारीहरुलाई ज्यानसजायको बन्दोबस्त हुनुपर्छ ।’
चीनले इमानदारीपूर्वक कोभिड भाइरसबारे सारा जनतालाई समयमै सचेत गराएकोे बताउँदै उहाँले राजनीति सबै नीतिको मुल नीति भएकोले देश र जनताको निःस्वार्थ सेवा गर्नुपर्नेमा नेमकिपाले जोड दिँदै आएको बताउनुभयो ।
फौजदारी अभियोग लागेकाहरु ठूल्ठूला पदमा पुग्ने स्थिति सिर्जनाले देशलाई कतातिर दोर्यायदैछ भन्ने विषयमा समीक्षा हुनुपर्ने बताउँदै उहाँले सबै प्राणीको साझा घर पृथ्वी हो, पृथ्वीलाई रक्षा गर्नु मानव जीवनको कर्तव्य भएको बताउनुभयो ।
सरकारमा गएकाहरुले देश र जनताको समस्या समाधान समयमा गर्न नसक्नु र सरकारले सम्भावित दुर्घटनाको पूर्व अनुमान गर्न नसक्दा जेनजी आन्दोलन भएको राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्ष रहेको बताउँदै उहाँले प्रधानमन्त्री र मन्त्रीहरुले देश र जनताको समस्या समयमै गर्नुपर्छ भन्ने विषयमा नेमकिपाले सडक र सदनमार्फत आवाज उठाउँदै आएको बताउनुभयो ।
त्यस्तै भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले विश्वविद्यालयहरु अनुसन्धानमा केन्द्रित हुनुपर्छ भन्ने विषयलाई जोड दिँदै आइरहेको बताउँदै नगरपालिकाअन्तर्गत सञ्चालित कलेजहरुको लागि अनुसन्धान गर्न छुट्टै बजेट विनियोजन गर्दै आइरहेको बताउनुभयो ।
कृषिमा ६० प्रतिशतभन्दा बढी जनता आश्रित देशमा कृषि क्षेत्रमामा राम्रो अनुसन्धानको बन्दोबस्त नहुनु बिडम्बनाको विषय हो भन्दै उहाँले कृषिमा व्यापक रुपमा अनुसन्धान गर्न सकेमा नेपाल खाद्यान्न आयातमा मात्र होइन, निर्यात गर्ने स्थितिमा पुग्न सकिने बताउनुभयो ।
कृषि वैज्ञानिकहरुलाई उचित सम्मान र सेवा सुविधा नहुादा नेपालका राम्रा राम्रा कृषि वैज्ञानिकहरु विदेश पलायन भइरहेको यथार्थबारे प्रष्ट पार्दै उहाँले वैज्ञानिकहरुलाई नेपालमै काम गर्ने वातावरण तयार गर्नु आवश्यक रहेको बताउनुभयो ।
चीनका वैज्ञानिक युआन लोङफिङले गरेको हाइब्रिड विऊको आविस्कारले चीनलाई भोकमारीमुक्त देश बनाएको प्रसंग जोड्दै उहाँले हाम्रा विश्वविद्यालयहरुले धान, गहुँ, फलफूल, पशु, जडिबुटीको अनुसन्धान गरेर देशलाई कृषिमा आत्मनिर्भर मात्र होइन कृषि उत्पादन निर्यात गरेकार पर्याप्त मात्रामा विदेशी मुद आर्जन गर्नेतर्फ जोड दिनुपर्छ भन्नुभयो ।
सरकारले देशको दीर्घकालीन हितलाई ध्यानमा राखेर अनुसन्धानलाई प्राथमिकतामा दिनुपर्ने आजको आवश्यकता भएको बताउँदै उहाँले राज्यको ध्यान अनुसन्धानतर्फ केन्द्रित हुनुपर्छ भन्नुभयो ।
आयोजक समितिका संयोजक प्रा.डा. राजु खनालले भक्तपुरमा ‘खाद्य, स्वास्थ्य र कृषिमा चिसो प्लाज्मा र पल्स पावर प्रविधिहरुमा अन्तर्राष्ट्रिय कार्यशाला’ आयोजना गर्नुको महत्व र उद्देश्यमाथि प्रकाश पार्दै स्थानीय तहबाट सञ्चालित ख्वप इ. कलेजलगायतसँग समन्वय र सहकार्यमा काम गर्न निकै सजिलो भएको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले ख्वप सर्कलले देशको शिक्षा विकासमा खेलेको भूमिका अग्रणी रहेको बताउँदै पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालित ख्वप इ. कलेज पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका कलेजहरुमध्ये उत्कृष्ट कलेजको रुपमा सञ्चालनमा रहेको बताउनुभयो ।
+ posts