
नारायण थापा
जन अवाज न्युज/भक्तपुर फागुन, १३ गते । “आमाको प्रेम सारा संसारमा” भन्ने मुल नाराका साथ विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनद्वारा भक्तपुरमा रहेको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अस्पताल युनिट -२ दुवाकोटमा ८३० औँ विश्वव्यापी रक्तदान कार्यक्रम’ सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्त सन्चार सेवा केन्द्र, जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा वीलभयूका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब २५० जनाभन्दा बढीको सहभागीता रहेको थियो ।


मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्त्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको थियो । “रगतचाहिँ कृत्रिम रूपमा बनाउन नमिल्ने र अरू कुराद्वारा प्रतिस्थापन गर्न नसकिने एक अमूल्य जीवन स्रोत हो । त्यसैले हाम्रा छिमेकीहरूलाई पुनः स्वस्थ दैनिक जीवनमा फर्काउन थोरै भए पनि मद्दत पुऱ्याउनका लागि सदस्यहरू एकजूट भएर लागिपरेका छन् । यस्तो कार्यक्रम ललितपुरमा मात्र नभएर विभिन्न क्षेत्रमा लगातार आयोजना गरेर मानिसहरूलाई जीवन बाँड्नुको महत्त्व बोध गराउने एउटा माध्यम बनाउने योजना रहेको छ” वीलभयूका सदस्यहरुले बताएका थिए । वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’ चाहिँ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो । यसले स्थानीय समुदायमा रक्त आपूर्ति अभाव सुल्झाउन र विश्व स्वास्थ्य संगठन (WHO) ले अवलम्बन गरेको निःशुल्क स्वैच्छिक रक्तदानको संस्कृति फैलाउन योगदान पुऱ्याइरहेको छ । कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि विश्वका ठाउँ-ठाउँमा आयोजना हुँदैआएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म, ६४ देशहरूबाट करिब १,३७,००० जना सहभागी भएर ६२,००० जनाभन्दा बढीले रक्तदान गरेका थिए । एक जनाको रक्तदानले तीन जनाको ज्यान बचाउन सक्छ भन्ने कुरालाई विचार गर्दा योचाहिँ १,८६,००० जनाभन्दा बढी मानिसहरूको ज्यान बचाउन सफल भएको ठूलो उपलब्धि हो ।
कार्यक्रमको दिनमा, सहभागीहरूले व्यवस्थित तरिकाले दर्ता, त्यसपछि प्राथमिक स्वास्थ्य जाँच र रक्त जाँच गरेर रक्तदानको लागि योग्यता पुष्टि गरेका थिए । उपयुक्त ठहरिएका सहभागीहरूले क्रमैसँग रगतदान गरेका थिए । २५० जनामा ११९ जनाले स्वस्थ रगत दान गरेका हुन् ।

अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनका अध्यक्ष किशोर शामशोहाङको सभापतीत्वमा भएको कार्यक्रममा उहाँले वीलभयू फाउन्डेसनले गरेको विभिन्न स्वमसेवाको गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो ।
यसैगरी रक्तदान कार्यक्रममा चागुनारायण नगरपालिकाका मेयर जीवन खात्रीले अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले २ दशकदेखी समाज परिवर्तनका लागि कार्य गर्दै आएकोले आगामी दिनमा नगरपालिकाको तर्फबाट साथ सहयोग रहने बताउनुभयो । मानव जिवनलाई नभई नहुने रगतदान कार्यक्रम गर्नुभएको छ, मानव जिवनको रक्षाको लागि गर्नुभएको यो कार्य प्रसम्सनिय भएको बताउनुभयो । कार्यक्रममा मेयर खत्रीले सामाजको निम्ती योगदान गर्नुभएको अन्तर्राष्ट्रिय वीलभयू फाउन्डेसनले आमाको मन संसारमा बाँडेको कुरा प्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रममा चागुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका संयोजक सोम प्रधानले वीलभयू फाउन्डेसनले धेरै पटक दुवाकोटमा निरन्तर सामाजिक कार्य गर्दै आएको बताउदै आज दुवाकोटको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अस्पताल युनिट -२ मा रक्तदान कार्यक्रमको आयोजना गरेको छ फाउन्डेसनलाई धन्यवाद व्यक्त गर्नुभयो । यसैगरी निरन्तरता सामाजिक कार्यलाई निरन्तर कार्य गर्नको लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने समेत बताउनुभयो ।
यस्तै रेडक्रस भक्तपुर जिल्ला शाखाका मन्त्री धर्म राज कार्कीले मानव जिवनमा आमाको निस्वार्थ मायाको चर्चा गर्दै आमाको मायालाई सम्झदै रगतको अभावमा कुनै पनि मानिसको ज्यान नजाओस भन्ने हेतुले आयोजना गरिएको यो कार्यक्रम अत्यन्तै लाभदायक भएको बताउनुभयो ।

उक्त कार्यक्रममा रेडक्रस दुवाकोट उपशाखा सभापति मन्दिरा कार्की, परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सचिव बोल बहादूर मगर, काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अस्पताल युनिट -२ का निर्देशक बिनिता प्रधान, काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अस्पताल युनिट -२ का पि आर म्यानेजर सुधा कट्टेल लगाएतको उपस्थितिमा भएको कार्यक्रममा सुरज उप्रेतीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अस्पताल युनिट -२ का पि आर म्यानेजर सुधा कट्टेलले अस्पतालमा कार्यक्रमको आयोजना गरिदिनुभएको वीलभयू फाउन्डेसनलाई धन्यवाद व्यक्त गर्नुभयो । वीलभयू फाउन्डेसनका सदस्यहरुलाई पनि धन्यवाद दिदै आगामी दिनहरुमा अनवरत रुपमा यस किसिमको कार्यक्रम अगि बढोस् भन्नुहुदै सेवा नै धर्म हो सबै प्रकारको आविस्कार भएको यो समयमा रगतको विकल्प नभएकोले रगतको लागि हामी मानवको नै आवश्यकता पर्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UN DGC) को साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दछ । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वीभलयूले वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूमा १०,९०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरेको छ (सन् २०२५सम्म) । अनि मानवजाति र पृथ्वीको आशामय भविष्य सृजना गर्न प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू (SDGs) को उपलब्धिमा पनि योगदान पुऱ्याइरहेको छ ।

वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ । त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान (Mom’s Garden)’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ । सन् २०१५ को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो ।

जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।















-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
















Total views : 344168












