चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर” | Jana Aawaj News

चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”

पढ्न लाग्ने समयः 2 मिनेट
चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर” : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक र पुरातात्त्विक नगर चाँगुनारायण अब योगमय नगरको रूपमा पनि चिनिने भएको छ। चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई “योग नगर” घोषणा गर्ने निर्णय गरेसँगै सोमबार नगरपालिका परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

नगर प्रमुख जीवन खत्रीले पत्रकार सम्मेलनमा प्रेस नोट वाचन गर्दै आगामी जेष्ठ १० गते वागमती प्रदेश सरकारका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा आधिकारिक “योग नगर घोषणा” कार्यक्रम सम्पन्न गरिने जानकारी दिनुभयो ।

घोषणाको पूर्वसन्ध्यामा जेष्ठ ८, ९ र १० गते हरेक बिहान ५ बजेदेखि खरीपाटी स्थित विद्युत तालिम केन्द्र परिसरमा वृहत् खुला योग शिविर आयोजना गरिने नगरप्रमुख खत्रीले बताए । यो शिविर नगरवासीका साथै बाहिरका नागरिकका लागि पनि खुला रहनेछ।

नगरप्रमुख खत्रीका अनुसार, उच्च रक्तचाप, मधुमेह, मुटुरोग र मानसिक तनावजस्ता नसर्ने रोगहरूको बढ्दो प्रकोपलाई सम्बोधन गर्न केवल उपचार पर्याप्त नभई स्वस्थ जीवनशैली अत्यावश्यक रहेको छ । योग, ध्यान र प्राणायामले शरीर, मन र चेतनालाई सन्तुलित राख्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भइसकेको पनि उहाँले स्मरण गराउनुभयो ।

“हजारौँ वर्ष पुरानो वैदिक सभ्यता र आध्यात्मिक चेतनाको भूमि चाँगुनारायणलाई योग र साधनाको केन्द्र बनाउनु हाम्रो इतिहास र पहिचानसँग जोडिएको स्वाभाविक निरन्तरता हो,” उहाँले बताउनुभयो।

नगरपालिकाले सबै वडामा नियमित योग शिविर सञ्चालन, विद्यालयहरूमा योग शिक्षा अनिवार्य बनाउने, स्थानीय स्तरमा दक्ष योग प्रशिक्षक उत्पादन गर्ने तथा योग पार्क र ध्यान केन्द्र स्थापना गर्ने महत्वाकाङ्क्षी योजना अघि सारेको छ । आयुर्वेद र प्राकृतिक चिकित्सासँग समन्वय गर्दै अभियानलाई एकीकृत रूप दिइने जनाइएको छ ।
यो अभियान स्वास्थ्यमा मात्र सीमित नरहने नगरपालिकाको भनाइ छ । आध्यात्मिक पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सृर्जना र होमस्टे तथा कृषि उत्पादनलाई बजारसँग जोड्दै चाँगुनारायणको अन्तर्राष्ट्रिय पहिचान अझ उचाल्ने लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा सहभागीहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले स्वागत एवं स्वास्थ्य शाखा प्रमुख दिल कुमार दुवालले सहजीकरण गरेका थिए । कार्यक्रममा शिक्षा शाखाका निर्देशक जर्नादन रिजाल, पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार,वागमती प्रदेश सरकार,स्वास्थ्य मन्त्रालय, प्रादेशिक योग समितिका सदस्य नबराज काफ्ले लगायतको विशेष उपस्थिति रह्यो ।

“पहिलो सुख निरोगी काया”- यही मौलिक जीवनदर्शनलाई व्यवहारमा उतार्दै चाँगुनारायणलाई देशकै नमुना “योग नगर” बनाउने ऐतिहासिक अभियान जेष्ठ १० गते आधिकारिक रूपमा शुरू हुनेछ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न