
भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यहरुले जेठ शुक्रबार एक कार्यक्रमबीच सपथ ग्रहण गर्नुहुँदै पदभार ग्रहण गर्नुभएको छ ।
भक्तपुर नगरपालिकाको नयाँ भवन ब्यासीको प्राड्डणमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । त्यस्तै नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण गर्नुभएका वडाध्यक्षहरुमा भक्तपुर नपा वडा नं. १ का श्यामकृष्ण खत्री, वडा नं. २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नं. ४ का उपेन्द्र सुवाल, वडा नं. ५ का योगेन्द्रमान बिजुक्छेँ, वडा नं. ६ का हरिराम सुवाल, वडा नं. ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रबिन्द्र ज्याख्व र १० नं. वडाका लक्ष्मीप्रसाद ह्यौंमिखा रहेका छन् ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई बधाईज्ञापन गर्नुहुँदै स्थानीय तह निर्वाचन २०७९ मा नेमकिपालाई अत्यधिक बहुमतका साथ विजयी गराउन सहयोग गर्नुहुने मतदातालगायतलाई पार्टीको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो ।
भक्तपुर नपाका जनप्रतिनिधिले पार्टीको घोषणापत्रअनुरुप नगर र नगरबासीहरुको हितमा काम गर्न सफल हुने विश्वास व्यक्त गर्नुहुँदै सांसद सुवालले जनप्रतिनिधिहरुले जनताको सेवामा एम्बुलेन्स र दमकलसरह खट्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनमा सिद्धान्तहीन गठबन्धनको कुनै औचित्य नरहेको प्रष्ट पार्नुहुँदै सांसद सुवालले देको मिवा इतापाको आयोजना छिटो सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
सरकारले देशको अर्थतन्त्रलाई बलियो बनाउने काम गर्नुपर्छ भन्दै उहाँले जनप्रतिनिधिहरुले कुरा भन्दा काममा ध्यान दिनुपर्ने र जनताको भावनाअनुसार काम गर्न आग्रह गर्नुभयो ।

भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले निर्वाचनमा अत्यधिक मत दिएर सहयोग गर्नुभएका सम्पूर्ण मतदाताहरुमा धन्यवादज्ञापन गर्नुहुँदै जनप्रतिनिधिहरु सबैको साझा व्यक्तित्व भएको हुँदा कुनै आग्रह र पूर्वाग्रह नराखी कानुनअनुसार छिटो र छरिटो रुपमा काम सम्पन्न गर्ने विश्वास दिलाउनुभयो ।
पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरु यस कार्यकालमा पूरा गर्ने बचनबद्धता व्यक्त गर्नुहुँदै प्रमुख प्रजापतिले पार्टीले निर्वाचनको समयमा घोषणा गरेको निर्वाचन घोषणापत्रअनुरुप काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले स्थानीय तहको निर्वाचनमा भक्तपुर नपाले हासिल गरेको सफलताबाट सिंगो देश जितेको अनुभव व्यक्त भएको बताउनुहुँदै भक्तपुर नपाका जनप्रतिनिधिहरुले हिजोका दिनमा झैं अविचलित रुपमा जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पुनःनिर्वाचित जनप्रतिनिधिलाई आगामी कार्यकाल सफलताको शुभकामना दिनुहुँदै मतगणनाको कार्य अरु जिल्लाको तुलनामा भक्तपुरमा छिटो सम्पन्न भएको बताउनुभयो ।
समारोहमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचन प्रक्रिया सुधार गर्नुपर्ने, निर्वाचन भएकै ठाउँमा मतगणनाको व्यवस्था गर्नुपर्ने र मतदान केन्द्रहरुको सुधार आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
समारोहमा भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले फूलमाला र खादाले स्वागत गर्नुभएको थियो ।
यसैगरी जनप्रतिनिधि बहालीपश्चात भक्तपुर नपाको पहिलो बोर्ड बैठक
भक्तपुर नपाका जननिर्वाचित प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी तथा वडाध्यक्षहरुको सपथग्रहणपश्चात आ–आफ्नो पदभार सम्हाल्नुभयो । सपथ ग्रहणपश्चात आजै नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको पहिलो कार्यपालिका बैठक समेत बसेको छ ।

बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि भएका विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरुमा शाहादत्त प्राप्त गरेका ज्ञात अज्ञात सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भएका वीर योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेको छ । त्यस्तै २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा “मादल” चिन्हमा छाप लगाई नेमकिपाका सम्पूर्ण उम्मेद्वारहरुलाई मतदान गरी अत्यधिक बहुमतले विजयी गराएकोमा सम्पूर्ण मतदाता एवम् नगरबासीहरुप्रति आभार व्यक्त गरेको छ ।
साथै स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुर, मतदान अधिकृतलगायत निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीहरु, प्रशासन, सुरक्षाकर्मीहरु स्वयम्सेवकहरूप्रति पनि धन्यवाद ज्ञापन गरेको नगरपालिकाले जानकारी गराएको छ ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related















Total views : 344436












