३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरु सम्मानित | Jana Aawaj News

३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरु सम्मानित

पढ्न लाग्ने समयः 2 मिनेट
३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरु सम्मानित : Jana Aawaj News

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका र सेवा निवृत्त कर्मचारीहरुलाई शुक्रबार एक कार्यक्रमबीच कदर पत्रका साथ सम्मान गर्नुभएको छ ।

नेपाल नगरपालिका कर्मचारी एशोसियन भक्तपुर नगरपालिका समितिको आयोजनामा भएको उक्त कार्यक्रममा कर्मचारीहरुलाई मार्गनिर्देश गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले संस्थाको हितविपरीत संस्थालाई नोक्सान हुने काम गर्नेलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।

अवकाश प्राप्त कर्मचारीहरुले अवकाश पछिका जीवनलाई पनि क्रियाशील ढंगले सामाजिक गतिविधिहरुमा लाग्न प्रेरित गर्दै उहाँले कर्मचारीहरुले सचेत भएर काम गरेन भने संस्थालाई नकारात्मक असर पुग्नेप्रति सचेत हुनुपर्ने बताउदै भक्तपुर देशकै सानो जिल्ला भएकोले भक्तपुरलाई टेस्ट ट्युबको रुपमा विकास गर्न सकिने विचार व्यक्त गर्दै उहाँले भक्तपुरको विकासलाई अझ परिष्कृत ढंगले अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।

सहकारी संस्थाहरुले सहकारीको भावना र मर्मअनुसार काम नगरेको हुँदा अहिले धेरै जनता सहकारीबाट पीडित भएको बताउँदै उहाँले जनतामाझ सहकारी शिक्षाबारे पनि कक्षा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरु राम्रा भए जनताले सहज सेवा पाउने बताउँदै संस्थालाई गलत दिशामा लानबाट रोक्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
कर्मचारीहरु राजनीतिक प्राणी पनि भएको हुँदा देशमा भइरहेको विभिन्न राजनैतिक गतिविधिबारे जानकारी राख्नु आवश्यक भएको बताउँदै उहाँले कर्मचारीहरुले नेतृत्वसँग समन्वय गरी जनप्रतिनिधिको नीति र निर्देशन राम्रोसँग पालना गरी काम गरे संस्था व्यवस्थित ढंगले अगाडि बढ्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त सहकार्य र हातेमालोले गर्दा भक्तपुर देशकै नमुना नगरको रुपमा परिचित बनेको बताउँदै जनताको भावना बुझेर काम गर्न कर्मचारीहरुलाई मार्गनिर्देश गर्नुभयो ।

त्यस्तै नेपाल नगरपालिका कर्मचारी एशोसियन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले राजनीतिक रुपले सचेत कर्मचारीले मात्रै देश र जनताको हितमा काम हुने बताउँदै कर्मचारीहरुले अध्ययनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । भ्रष्ट कर्मचारीहरुलाई संरक्षण गर्ने काम शासकहरुबाटै हुँदै आएको बताउँदै उहाँले भक्तपुर नपाले संघीयताको सफल अभ्यास गरिरहेको बताउनुभयो ।

भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवालले ३० वर्ष आफ्नो कार्यकालको अनुभव सुनाउँदै कर्मचारीहरुलाई देश र जनताप्रति दत्तचित्त भएर काम गर्न प्रेरित गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका १५ जना र सेवा निवृत्त ८ गरी २३ जना कर्मचारीलाई प्रमुख अतिथि बिजुक्छेँले कदर पत्र र नगर प्रमुख प्रजापतिले पुष्प गुच्छाका साथ सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा कर्मचारी एशोसिएनका विकास प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न