
भक्तपुर । सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा राष्ट्रिय सञ्चार केन्द्रले आयोजना गरेको ‘सूर्यविनायक नगरपालिकाको नमूना विकास अवलोकन तथा स्थलगत अन्तरक्रिया कार्यक्रम’ मा सूर्यविनायक नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भगवान खत्रीले आफ्नो वडाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै दिगो विकासका लागि प्रयत्न गरिरहेको बताउनुभयो । वडाध्यक्ष खत्रीले पहाडी भेगमा निम्तिन सक्ने विभिन्न विपद्हरुबाट जोगिने किसिमको पूर्वाधार निर्माणको प्रयास गरिएको बताउनुभयो ।

‘हाम्रो ९ नम्बर वडामा अधिकांश पहाडी भूभाग छ । त्यसैकारण, पडाहका लागि उपयुक्त हुने किसिमका पूर्वाधारहरु निर्माण गरिरहेका छौं ।’, खत्रीले भन्नुभयो । ‘बाढीले नबगाउने र पहिरोले नलैजाओस् भनेर सडक निर्माणका लागि तलदेखि पर्खाल चिन्दै माथि ल्याएर मात्र बाटो बनाएका छौं ।’ उहाँले भन्नुभयो । साथै, मापदण्डअनुसार सडकमा निकासका लागि ढल पनि बनाउँदै लगिएको उहाँले बताउनुभयो । भौगोलिक अवस्थाका कारण पूर्वाधार क्षेत्रमा धेरै गरेको नदेखिए तापनि दिगो रुपमा काम अगाडि बढाइएको उहाँले दाबी गर्नुभयो ।
पहाडी भूभागमा माथिबाट बगेर आएको पानीले तलका बस्तीहरुलाई असर गर्ने गरेको समस्या खत्रीले कार्यक्रममा व्यक्त गर्नुभयोे । त्यसका लागि गत वर्ष कुलो बनाएर पानी निकास गरिएको उहाँले बताउनुभयो । तर, यस वर्ष भने संघीय सरकारले २ करोड ५५ लाख रुपैयाँ बक्स कल्भर्टका लागि विनियोजन गरेका कारण आगामी वर्षहरुमा बाढीजस्ता प्रकोपहरुले धेरै क्षति गर्न नसक्ने उहाँले बताउनुभयो ।
आफ्नो वडाको अधिकांश भूभाग पहाडी भएकाले वडाबासीहरुले खानेपानीको समस्या भोग्नुपरेको बताउँदै प्रत्येक घरमा पर्याप्त पानी पुर्याउनका लागि कार्यहरुसमेत सुरु गरिएको खत्रीले बताउनुभयो । खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट ३ लाख देखि साढे ३ लाख रुपैयाँसम्मको ट्याङ्की निर्माण गरिएको उनले जानकारी दिनुभयो ।
मूलको पानी मात्र पर्याप्त नरहने भएका कारण नगरपालिकाले बोरिङ गरि जमिन मुनिबाट पानी निकाल्नका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो । तर, वर्षाका कारण अहिले बोरिङको कार्य गर्न नसकिने भएका कारण ६ महिनाको म्याद थपेर ‘डिप बोरिङ’ गरि पानी वितरण गरिने उहाँले बताउनुभयो ।
भौगोलिक रुपमा केही विकटजस्तो मानिएतापनि वडा शैक्षिक गतिविधिमा भने पछाडि नरहेको उहाँले दाबी गर्नुभयोे । वडामा कृषि प्राविधिक धारको विद्यालय रहेको र त्यहाँ गुणस्तरीय शिक्षा दिइने उहाँले बताउनुभयो । तर, विद्यालय जानका लागि पनि बाटोको राम्रो व्यवस्था नभएका कारण विद्यार्थी र शिक्षकशिक्षिकालाई समस्या पर्ने गरेको उहाँले बताउनुभयो । सोही समस्यालाई मध्यनजर गर्दै गत आर्थिक वर्ष ४० लाख रुपैयाँ विनियोजन गरि सडक स्तरोन्नति गरिएको र चालू आर्थिक वर्षमा पनि बजेट छुट्याइएको खत्रीले बताउनुभयो । चर्चित धार्मिक तथा पर्यटकीय स्थलमा सहज रुपमा आवतजावतका लागि वडाले गत दुई वर्षमा पलाँसे–डोलेश्वर सडक कालोपत्रे गरेको वडाध्यक्ष भगवान खत्रीले जानकारी दिनुभयो । त्यस्तै, अन्य सडकहरु पनि विस्तार र केही ग्राभेल आदि गरि स्तरोन्नति गरिएको उहाँले बताउनुभयो । साथै, पलाँसे–कांक्राबारी सडकलाई यसपटक प्राथमिकतामा राखेर अघि बढिएको उहाँले बताउनुभयो ।
धार्मिक स्थलसम्म पुग्ने सडकको स्तरोन्नति जस्ता पूर्वाधारका काम मात्र नभइ वडाले धार्मिक मठमन्दिरकै संरक्षण पनि गरेको छ । नगरपालिका र पुरातत्व विभागको सहयोगमा वडाले लिच्छविकालीन नन्दिकेश्वर मन्दिरको संरक्षण र वरिपरिका स्थानमा आवश्यक पूर्वाधारहरुको निर्माण गरेको उनले जानकारी दिनुभयो । त्यस्तै, २० लाख रुपैयाँ विनियोजन गरि छुम्कोटी देवी मन्दिरको पनि जिर्णोद्धार गरिएकोसमेत उनले जानकारी दिनुभयो । आफ्नो वडाका अधिकांश क्षेत्र ग्रामीण भएका कारण फोहोर व्यवस्थापनका लागि भने खासै असहज नहुने खत्रीले बताउनुभयो । कुहिने फोहोर करेसाबारीमा मल बनाइने र नकुहिने फोहोर उठाउन नेप्से म्याकको गाडी आउने गरेको हुँदा अहिले फोहोर सजिलै व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 296048



