पाँच दिने भक्तपुर महोत्सव शुक्रबारदेखि शुरु | Jana Aawaj News

पाँच दिने भक्तपुर महोत्सव शुक्रबारदेखि शुरु

पढ्न लाग्ने समयः 5 मिनेट
पाँच दिने भक्तपुर महोत्सव शुक्रबारदेखि शुरु : Jana Aawaj News

जन आवाज न्युज भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ शुक्रबारदेखि सुरु भएको छ ।
उक्त कार्यक्रमको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् नेपालका वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले पाँच दिने भक्तपुर महोत्सवको शुक्रबार एक भव्य समारोहबीच उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन कार्यक्रम विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरको दरबार क्षेत्रमा भएको थियो । सोही कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले महोत्सवको अवसरमा प्रकाशन गरेको स्मारिका र सांस्कृतिक नगरी भक्तपुरको फोटो पुस्तक बिमोचन गर्नुभएको थियो ।


अध्यक्ष बिजुक्छेँले पानसमा दीप प्रज्ज्वलन गरी महोत्सवको उद्घाटन गर्दै भक्तपुरको कला संस्कृति तथा सम्पदाहरु संरक्षण र प्रवद्र्धन गर्ने कामलाई नयाँ पुस्ताले आफ्नो कर्तव्यको रुपमा बोध गर्दै आएको बताउनुभयो ।
भक्तपुरको कला र संस्कृतिको मर्मत, सम्भार, पुनःनिर्माण र प्रवद्र्धन कार्यमा भक्तपुरका जनताको श्रमदान र सहयोग समेत प्राप्त भएको बताउँदै उहाँले देश र जनताको निःस्वार्थ रुपले सेवा गर्ने भावनाबाट यहाँका जनता अभिप्रेरित रहेको बताउनुभयो ।
स्थानीय पालिकाहरु प्रजातन्त्रका आधार हुन् भन्दै उहाँले देश र जनताको निःस्वार्थ रुपले सेवा गर्ने भावना नभएका गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रका निकाय, कार्यालय, विभाग र मन्त्रालयहरुमाथि भ्रष्टाचार, अनियमितता र अख्तियार दुरुपयोगका अनेक कानुनी र नैतिक प्रश्नहरु उठ्दै आएको बताउनुभयो ।
उहाँले शिक्षालय र शिक्षकहरु संकीर्ण स्वार्थबाट निर्लिप्त भएसम्म देश र जनताको इच्छा र आकांक्षालाई मूर्त रुप दिन सम्भव नहुने बताउनुभयो ।
२०४८ सालदेखि नै संसदमा भक्तपुरलाई‘ सांस्कृतिक नगर घोषणा गर्ने र सम्भव भएका नगरहरुमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशाला बनाउनुपर्ने विषयलाई जोड दिँदै आएको उहाँले बताउनुभयो ।
नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले नेमकिपाले स्थानीय तह निर्वाचन घोषणापत्रमार्फत जनतालाई वाचागरेअनुसार भक्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि कलेजसम्म सञ्चालन गरिरहेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गरी जनतालाई सुलभ रुपमा चिकित्सा शिक्षा अध्यापन गराउने पनि उद्देश्य लिएको बताउनुभयो ।
देशको सन्तुलित विकास गरी उपत्यकामा बढिरहेको बसाइँसराइँलाई रोक्ने विषयमा सरकारले ढिलाइ गर्न नहुने बताउँदै उहाँले भक्तपुर नपाले पर्यटकहरुबाट उठाएको पर्यटन शुल्कबाट भक्तपुरको विकास गरिरहेको बताउनुभयो । भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गरी नमुना नगरको रुपमा अगाडि बढाउनेतर्फ सरकारले जोड दिनुपर्ने उहाँको धारणा थियो ।
भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय सञ्चालनको लागि माग गरिरहेको बताउँदै उहाँले सरकारले ख्वप विश्वविद्यालय सञ्चालनको लागि छिटै स्वीकृति दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
भक्तपुर महोत्सव मूल समारोह समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सव अवधिभर भक्तपुर पुरै महोत्सवमय देखिने बताउँदै अध्ययन अनुसन्धान गर्नेहरुको लागि भक्तपुर महोत्सव एक महत्वपूर्ण अवसरको रुपमा रहने बताउनुभयो ।
महोत्सवमा नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरुमा महत्वपूर्ण गतिविधि सञ्चालन हुने बताउँदै उहाँले भन्नुभयो, भक्तपुरका चोक र गल्लीहरुमा पनि स्थानीयबासीहरुले विभिन्न आकर्षक गतिविधिहरु सञ्चालन गरिरहने बताउनुभयो ।
विदेशी पर्यटकहरुसँगै आन्तरिक पर्यटकहरुको पनि प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर महोत्सवको आयोजना भएको बताउँदै उहाँले महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरु प्रदर्शन गरिने जानकारी गराउनुभयो ।
महोत्सवलाई थप आकर्षण गर्न महोत्सवकै बेला भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंमा २०८१ मंसिर २९ गते खुल्ला बाँसुरी बाजा प्रतियोगिताको पनि आयोजना गरिएको बताउँदै उहाँले महोत्सव भव्य रुपमा सफल पार्न सबैको साथ र सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।


कार्यक्रमका अर्का अतिथि ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्यले भक्तपुर महोत्सव उपत्यकाको लागि सिकाइको विषय भएको बताउँदै भक्तपुरलाई देशकै पर्यटकीय केन्द्रको रुपमा लिन सकिने बताउँदै यहाँका मौलिक वस्तुहरुलाई विज्ञानसँग जोडेर अन्तर्राष्ट्रिकरण गर्नु आवश्यक भएको बताउनुभयो ।
सांस्कृतिक नगर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने भक्तपुरको उद्देश्य प्रशंसनीय भएको बताउँदै उहाँले भक्तपुरका सम्पदा जनताको अपनत्व, साथ र सहयोगमा पुनःनिर्माण सिकाइयोग्य विषय भएको बताउनुभयो ।
७५३ वटा स्थानीय तहको लागि भक्तपुर नमुनाको रुपमा प्रस्तुत भइरहेको बताउँदै उहाँले उपत्यकाका सांस्कृतिक सम्पदा संरक्षणको दायित्व सबै जनता एकजुट भएर गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर महोत्सवलाई भक्तपुरको शैक्षिक, सामाजिक, राजनीतिक प्रगतिको आयामको रुपमा व्याख्या गर्न सकिने बताउनुभयो । भक्तपुरको प्रगति र उन्नतिमा महोत्सव दरिलो पाइला सावित हुने बताउँदै उहाँले भक्तपुर विभिन्न क्षेत्रमा अग्रदुत बनिरहेको बताउनुभयो ।
भक्तपुरमा अनुकरण गर्न लायक धेरै विषय भएको बताउँदै उहाँले महोत्सव सबैको लागि अविष्मरणीय हुने बताउनुभयो ।
भक्तपुर कलाकार, कलाकर्मी र सम्पदाप्रेमीहरुको सहर भएको बताउँदै उहाँले भक्तपुरमा श्रमवीरहरुको सम्मान निरन्तर चलिरहने विश्वास व्यक्त गर्नुभयो ।
हरेक सम्पदाको जगमा असंख्य कालिगढहरुको पसिना लुकेको विषय नयाँ पुस्तालाई अध्ययन अध्यापन गराउन जरुरी रहेको बताउँदै सांसद गोसाईले जीवन्त सहर निर्माणमा अग्रजहरूको भूमिका र भक्तपुर नपाले खेलेको भूमिका महत्वपूर्ण रहेको स्पष्ट पार्नुभयो ।
भक्तपुरले देशकै शान बढाउन मद्दत पुर्याइरहेको बताउँदै उहाँले भक्तपुरप्रतिको आस्था र विश्वास विश्वसामु बढ्दै गएको यथार्थ चित्रण गर्नुभयो ।
सांस्कृतिक र पुरातात्विक आधारमा मात्र नभई राजनैतिक आधारमा पनि भक्तपुरले छुट्टै गौरव बोकेको बताउँदै उहाँले भक्तपुरले विश्वसामु इज्जत र विश्वास एकैसाथ कमाइरहेको छ भन्नुभयो ।
त्यस्तै नेमकिपा बागमती प्रदेश सभा सदस्य सृजना सैंजुले भक्तपुर सभ्यताको सहर, प्राचीन कला संस्कृतिको नगर, इतिहास जीवन्त बाँचेको सहर भएको बताउँदै पर्यटन अर्थतन्त्रमार्फत भक्तपुर अगाडि बढ्ने प्रयत्न गरिरहेको बताउनुभयो ।
उत्पादनसँग नजोडिएको पर्यटन दिगो नहुने बताउँदै उहाँले भक्तपुर एकै रातमा बनेको सहर होइन, यहाँका जनताले वैभवशाली भक्तपुरको निर्माण र पुनःनिर्माण गरेको सहर भएको बताउनुभयो ।
जनताको जीवनस्तर उठाउने महत्वपूर्ण पाइला भक्तपुर महोत्सवले दिने बताउँदै उहाँले सम्पदा पुनःनिर्माण र सभ्यता पुनःर्जागरणको अनुपम नमुनाको रुपमा भक्तपुर अगाडि बढिरहेको बताउनुभयो । १०० वर्षपछिको भक्तपुरलाई नजिक ल्याउने माध्यम बन्ने महोत्सवले प्रदान गर्ने बताउँदै उहाँले महोत्सव आयोजनाको लागि भक्तपुर नगरपालिकाप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उत्सवै उत्सवको नगरमा भक्तपुर नपाले भक्तपुर महोत्सव आयोजना गरी यहाँको मौलिक कला, संस्कृति र सम्पदा विश्वसामु प्रदर्शन गर्ने अवसर मिलेको बताउनुभयो ।


उहाँले शिक्षामा भक्तपुर नपाले खेलेको महत्वपूर्ण भूमिकाले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन मद्दत पुर्याएको बताउँदै ख्वपविश्वविद्यालय सञ्चालनको लागि पनि नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानांगले महोत्सव पूर्ण सफलताको कामना गर्दै भक्तपुरको मूर्त अमूर्त सम्पदाहरु विश्वभर परिचित भएको बताउँदै उत्सवमार्फत भक्तपुरको सांस्कृतिकसँगै शैक्षिक र सांस्कृतिक पुनःजागरणको माध्यम पनि बन्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवले मनोरञ्जनको लागि मात्र नभई समाजको दिगो विकासको लागि बाटो खोल्ने महत्वपूर्ण आधार तयार गर्ने उहाँले बताउनुभयो ।
उहाँले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा नेपाल सरकार, मन्त्रालय, पुरातत्व विभाग, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग सहकार्य गरी ८२० वटा सम्पदा मौलिक शैलीमा पुनःनिर्माण सम्पन्न गरिसकेको बताउनुभयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुरको गौरवलाई देशीविदेशी पर्यटकमाझ प्रदर्शन गर्ने राम्रो अवसर महोत्सवले दिने बताउँदै देशको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताउनुभयो । कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । उद्घाटन कार्यक्रमपश्चात प्रमुख अतिथि तथा अतिथिहरुले भक्तपुर महोत्सवको अवसरमा प्रदर्शित विभिन्न प्रदर्शनीस्थलहरुको स्थलगत अवलोकन गर्नुभएको थियो । भक्तपुर महोत्सवकै अवसर पारेर नगरपालिकाले वडा नं. १० क्वाठण्डौंमा २०८१ मंसिर २९ गते शुक्रबार खुल्ला बाँसुरी बाजा प्रतियोगिताको आयोजना गरेको थियो ।


सांस्कृतिक कार्यक्रम, नगरा वादन, पौभा र तस्बिर प्रदर्शनी, चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी, परम्परागत पोशाक प्रदर्शनी, खाना महोत्सव, हलिमलि, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनी, परम्परागत धागो रंगाउने, कुमारी (जीवित देवी) प्रदर्शनी, दिपंकर बुद्ध प्रदर्शनी, नवदुर्गा प्रदर्शनी, शैक्षिक प्रदर्शनी, नौका बिहार, मृत्तिका कलाको परम्परागत र नयाँ उत्पादनको जीवन्त प्रदर्शनी महोत्सवका प्रमुख आकर्षणहरु हुन् । त्यस्तै परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलीको गतिविधि प्रदर्शनी, नौ बाजा प्रदर्शनी, दही महोत्सव, दिपावली, बौद्ध प्रकाशन र तस्बिर प्रदर्शनी, सहकारीहरुको गतिविधि प्रदर्शनी, बालबालिकामैत्री गतिविधि तथा सांस्कृतिक कार्यक्रम, कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी, घरेलु उत्पादन तथा हस्तकलाको जीवन्त प्रदर्शनी, व्यापार मेला, पुस्तक प्रदर्शनी, बुद्ध अस्तु तथा बौद्ध दर्शनसम्बन्धी प्रदर्शन, विभिन्न खेलकुद गतिविधि तथा प्रदर्शनी, परम्परागत तोरीको तेल बनाउने प्रदर्शनी, सांस्कृतिक जात्रा पर्व संस्कृतिको नमुना प्रदर्शनी र परम्परागत वाद्यवादन प्रतियोगिता एवम् प्रदर्शनी पनि महोत्सवका मुख्य आकर्षणभित्र पर्दछ ।

 

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न