थानीय तहको सहभागिताविना काठमाडौं उपत्यकाको गुरुयोजना सफल नहुने | Jana Aawaj News

थानीय तहको सहभागिताविना काठमाडौं उपत्यकाको गुरुयोजना सफल नहुने

पढ्न लाग्ने समयः 2 मिनेट
थानीय तहको सहभागिताविना काठमाडौं उपत्यकाको गुरुयोजना सफल नहुने : Jana Aawaj News

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यमा काठमाडौं उपत्यकाको दीर्घकालीन सोच निर्धारण तथा बृहत्तर भौतिक विकास गुरुयोजना तर्जुमाबारे कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घघाटन गर्दै मन्त्री अधिकारीले काठमाडौं उपत्यकाको गुरुयोजना छिटै कार्यान्वयन गर्न सक्ने गरी जानुपर्ने बताउँदै स्थानीय तहको सहभागिताविना योजना सफल नहुने बताउनुभयो ।
काठमाडौं उपत्यका विश्वकै आकर्षक ठाउँको रुपमा विकास गर्न सकिने भन्दै उहाँले उपत्यकाको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन योजना बनाएर अगाडि बढ्न सरकार तत्पर रहेको बताउँदै उहाँले उपत्यकाका संस्कृति र सभ्यताहरुलाई संरक्षण गर्नेतर्फ पनि प्राधिकरणले विशेष ध्यान पुर्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित र जथाभावी निजी प्लानिङलाई स्वीकृति दिएका कारण काठमाडौं उपत्यकाका वातावरण नराम्रोसँग बिग्रिसकेको बताउनुभयो ।
उहाँले जथाभावी प्लानिङ गर्दा वर्षाको समयमा खोलामा पानीभन्दा बढी माटो बग्ने गरेको बताउँदै उपत्यका विकास प्राधिकरणले अव्यवस्थित प्लानिङलाई नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
देशको सबभन्दा बढी सरकारी जग्गा भएको जिल्ला दाङ भएको बताउँदै देशको सन्तुलित विकासको लागि संघीय राजधानी पश्चिम नेपालको दाङमा सार्नु उचित विकल्प हुने बताउनुभयो ।
प्रमुख प्रजापतिले स्थानीय तहहरुलाई स-साना आवास योजनाहरु सञ्चालन गर्न नेपाल सरकारले आर्थिक र प्राविधिक सहयोग गर्नु आवश्यक भएको बताउँदै भक्तपुर नपाले १ हजार ६५३ रोपनी जग्गामा देको मिवा इतापाके आवास योजना सञ्चालन गरिरहेको बताउनुभयो ।
सरकारमा जाने दलहरुमा १०० वर्षपछिको नेपाल कस्तो बनाउने भन्नेबारे कसैले सोच वा दृष्टिकोण बनाउन नसक्दा देश झन् झन् पछाडि पर्दै गएको बताउँदै प्रमुख प्रजापतिले अव्यवस्थित शहरीकरण, फोहोरमैला नदीमा बिसर्जन गर्नु, नदी नजिक शहरहरुको विकास र नदी किनारामा अतिक्रमण उपत्यकाका नदी फोहोर हुनुका मुख्य कारणहरु रहेको बताउनुभयो ।
गुरुयोजना निर्माण गर्दै गर्दा उपत्यकाका लिच्छविकालीन र मल्लकालीन सम्पदाहरुको संरक्षणतर्फ पनि ध्यान पुर्याउनुपर्ने भन्दै उहाँले जनप्रतिनिधिहरुकै निर्देशनमा आयोजनाहरु सञ्चालन गरिनुपर्ने र सक्षम नभएका पालिकाहरुलाई सक्षम बनाउने काम संघ सरकारले गर्नु उचित हुने बताउनुभयो ।

बागमती प्रदेश भौतिक विकासमन्त्री अमनकुमार मास्केले गुरुयोजना कार्यान्वयन गर्न अब ढिलाइ गर्न नहुने भन्दै संघ प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक भएको बताउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकाको गुरुयोजना धेरै पटक बनिसकेको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी रुपमा हुन नसकेको बताउँदै गुरुयोजना निर्माणमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई सहभागी गराउनुपर्ने बताउनुभयो ।
उपत्यका विकास गर्ने सन्दर्भमा कुनै पनि अध्ययनले यहाँका सम्पदाहरुमा हस्तक्षेप गर्नु हुँदैन भन्दै उहाँले पाँच वर्षमा उपत्यकमा देखिने गरी यातायात व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले भक्तपुरको आवास योजनाबारे आफूले अध्ययन अनुसन्धान गरेको बताउँदै भौतिक विकास मात्र विकास नभई गुणस्तरीय जीवनको पनि सुनिश्चितता गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु धमला, शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, राष्ट्रिय योजना आयोगका सदस्य डा। रामेशप्रसाद सिंहले पनि बोल्नुभएको थियो ।

काठमाडौं उपत्यका विकास प्राधिकारणका विकास आयुक्त जानुका ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकरेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो भने शहरी विकास विज्ञ किशोरकुमार थापाले उपत्यकाको दीर्घकालीन सोच एवम् भौतिक विकास गुरुयोजनाको औचित्यसम्बन्धी प्रकाश पार्नुभयो । साथै परामर्शदाता डा. विजयकृष्ण श्रेष्ठले गुरुयोजनाबारे प्रस्तुतीकरण देखाउनुभएको थियो । कार्यक्रममा उपत्यकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न