सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास | Jana Aawaj News

Bhaktapur Hospital

सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास

पढ्न लाग्ने समयः 3 मिनेट
सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास : Jana Aawaj News
oplus_0

जन आवाज न्युज/भक्तपुर, जेठ २२ गते । सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चामा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा वडा अध्यक्ष लछुराम न्यौपानेले आफ्नो नेतृत्वमा विगत चार वर्षमा करिब १४-१५ करोड रुपैयाँ बराबरको विकास निर्माणका काम सम्पन्न भएको बताएका छन् । संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहयोगमा यतिकाम गर्न सकेको अध्यक्ष न्यौपानेको दावी थियो । अध्यक्ष न्यौपानेको ५ बर्षे कार्यकालको यो पाँचौं बर्ष हो ।

‘जनताको करले विकासको गति बढेको छ’
वडा अध्यक्ष न्यौपानेले स्थानीयवासीको कर र सहयोगकै कारण वडाले विकासको गति लिएको बताउँदै सडक पिच, ढलान, ब्लक बिछ्याउने, सडक फराकिलो बनाउने लगायतका काम तीव्र रूपमा अघि बढाइएको बताए ।

‘जनताको अपेक्षा र आफूले चुनावका बेला गरेको प्रतिबद्धता पूरा गर्न निरन्तर काम गरिरहेको छु,’ उनले भने । उनका अनुसार चालु आर्थिक वर्षमा वडाको बजेट सिलिङ २ करोड ६० लाख रुपैयाँ रहेको छ । वडामा साना तथा ठूला दुवै प्रकारका योजना सञ्चालन भइरहेका छन् ।

अध्यक्ष न्यौपानेले गाम्चास्थित भिजन ब्याङ्क्वेट क्षेत्र र हनुमान टोलमा ८० लाख रुपैयाँको लागतमा ढलान कार्य सम्पन्न भएको जानकारी दिए । त्यस्तै खड्का गाउँदेखि तामाङ गाउँ जाने सडकमा ५० लाख रुपैयाँको लागतमा पर्खाल निर्माण गरिएको छ ।
उनका अनुसार अनन्तलिङ्गेश्वर परिसरमा ४५ लाख रुपैयाँको विकास निर्माण कार्य सम्पन्न भएको छ भने शाही गणेश मन्दिर, चर्खण्डी र हिञ्चोक भैरव क्षेत्रको विकासमा पनि बजेट विनियोजन गरिएको छ । चित्रपुर आधारभूत विद्यालयमा गत वर्ष ३६ लाख रुपैयाँको काम सम्पन्न भएको र हाल ५६ लाख रुपैयाँ बराबरको थप निर्माण कार्य भइरहेको उनले जानकारी दिए।

नगर अस्पताल पुनः वडा नं. ४ मै ल्याइने
नगर अस्पताल वडा बाहिर लगिएको विषयमा स्थानीयले चिन्ता व्यक्त गरिरहेका बेला अध्यक्ष न्यौपानेले सूर्यविनायकको नगर अस्पताल पुनः वडा नं. ४ मै ल्याउने तयारी भइरहेको बताए ।

‘हालको नगर अस्पताल ट्रमा सेन्टरमा परिणत भएपछि नगर अस्पताल यही क्षेत्रमा पुनः सञ्चालन गरिनेछ,’ उनले स्पष्ट पारे ।

अनन्तलिङ्गेश्वरलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्य
वडाको दीर्घकालीन योजनाबारे जानकारी दिँदै अध्यक्ष न्यौपानेले खोकुण्डोल–सिरुटार सडक स्तरोन्नति, पातलेटार–फुटसल मार्ग निर्माण तथा ढल व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताए।

ढल प्रशोधन केन्द्रसँग जोड्ने उद्देश्यले तीन वटा डीपीआर तयार भइरहेको जानकारी दिँदै उनले अनन्तलिङ्गेश्वर क्षेत्रलाई कास्कीको प्रसिद्ध पुङ्दीकोट जस्तै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको पनि बताए । यसका लागि पिकनिक स्पट निर्माणका लागि समेत बजेट माग गर्ने तयारी भइरहेको उनको भनाइ थियो ।

स्मार्ट सिटी योजना स्थगित गराउन पहल
प्रश्नोत्तर सत्रमा स्थानीयवासीले २०७२ सालदेखि स्मार्ट सिटी योजनाको नाममा घर निर्माण तथा जग्गा किनबेचमा रोक लगाएर दुःख दिइएको गुनासो गरेका थिए । त्यसको जवाफमा अध्यक्ष न्यौपानेले स्मार्ट सिटीको अवधारणा तत्कालका लागि स्थगित गराउन आफूले विभिन्न तहमा पहल गरेको जानकारी दिए ।

वडाले १ करोड ८९ लाख राजश्व संकलन
कार्यक्रममा वडा सचिव तोरण रानाले वडाले प्रदान गरिरहेको सेवाबारे जानकारी दिँदै हालसम्म ७६ वटा घटना दर्ता, १० वटा मृत्यु दर्ता तथा १ करोड ८९ लाख रुपैयाँ राजश्व संकलन भएको जानकारी दिए । उनका अनुसार वडामा हाल १० वटा योजना कार्यान्वयनमा रहेका छन् भने ८ वटा योजना सम्झौताको प्रक्रियामा छन् ।

महिलाहरू तालिममा नआउने गुनासो
वडा सदस्य तथा कार्यपालिका सदस्य तारा सापकोटाले महिलालाई लक्षित गरी विभिन्न सीपमूलक तथा आयआर्जनसम्बन्धी तालिम सञ्चालन गरिए पनि अपेक्षाअनुसार सहभागिता नदेखिएको गुनासो गरिन् । ‘हामीले धेरै प्रकारका तालिम सञ्चालन गरिरहेका छौं, तर सहभागी बन्न महिलाहरूको चासो न्यून देखिएको छ,’ उनले भनिन् ।

पूर्वाधार प्रमुखको प्रस्तुति चर्चित
नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर जनक न्यौपानेले सहभागीका प्रश्नको विस्तृत जवाफ दिएका थिए । उनले वडामा सञ्चालित योजनाहरूको प्रगति, नगरस्तरीय पूर्वाधार आयोजना तथा भावी योजनाबारे तथ्यसहित जानकारी गराएका थिए ।

उनको आत्मविश्वासपूर्ण र स्पष्ट प्रस्तुति कार्यक्रमका सहभागीबीच विशेष रूपमा प्रशंसित बनेको थियो ।

कार्यक्रममा सहभागी १६ जनाले विभिन्न विषयमा प्रश्न तथा सुझाव राखेका थिए । उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष लछुराम न्यौपाने, पूर्वाधार प्रमुख जनक न्यौपाने, दधिकोट बृहत् सहरी खानेपानी आयोजनाका अध्यक्ष कृष्णहरि खड्का तथा वडा सदस्य तारा सापकोटाले दिएका थिए ।

कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्य प्रकाश पारेका थिए । त्यसैगरी कार्यक्रमको सभापतित्व राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यले गरेका थिए भने सञ्चालन संस्थाका सचिव हेमराज ढकालले गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x