विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न | Jana Aawaj News

विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न : Jana Aawaj News

ललितपुर । विश्व मुटु दिवस-२०२६ को अवसरमा ललितपुरमा मुटु रोगसम्बन्धी सचेतनामूलक कार्यपत्र प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

उपत्यकामा जारी अविरल वर्षा र बाटो अवरुद्धका कारण सिर्जित असहज परिस्थितिका बाबजुद नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय, ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रे शाखा र हर्ट क्लब नेपालको संयुक्त आयोजनामा पुल्चोकस्थित प्रतिष्ठानको सभाकक्षमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

​यस वर्षको नारा “Don’t Miss a Beat” (मुटुलाई धड्किन देऊ) मा केन्द्रित रहेर आयोजित कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजूले सचेतनामूलक कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले नियमित हिँड्डुल तथा व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहने, मोटोपन नियन्त्रण गर्ने र सन्तुलित आहारमा जोड दिने जस्ता व्यावहारिक अभ्यासले मुटु रोगबाट बच्न सकिने बताउनुभयो। मुटु रोगको लक्षण देखिएमा वा आशङ्का भएमा इसिजी तथा इको परीक्षणमार्फत स्थिति यकिन गर्नुपर्नेमा डा. कोजूले जोड दिनुभयो। प्रस्तुतीकरणका क्रममा उहाँले बिरामीका कथा र भिडियो क्लिपहरू दृष्टान्तका रूपमा प्रस्तुत गर्नुभएको थियो।

​प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायले मुटुले दिने सङ्केत र ढुकढुकीलाई बेवास्ता नगरी समयमै स्वास्थ्य परीक्षण गराउनुपर्ने बताउनुभयो। त्यसैगरी प्रतिष्ठानका पूर्व अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले सहजीकरण गर्दै आफ्नै स्वास्थ्यप्रति मानिस स्वयं सचेत हुनुपर्नेमा जोड दिनुभयो।

​अन्तरक्रिया सत्रमा काठमाडौँ शाखाका सभापति मदनमोहन श्रेष्ठ र भक्तपुर शाखाका सभापति राजुराम मुनंकर्मी लगायत सहभागीहरूले उठाएका जिज्ञासाको उत्तर नेपाल हर्ट नेटका संयोजक वरिष्ठ मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारी, कार्यपत्र प्रस्तोता डा. राजेन्द्र कोजू र वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. प्रेमराज वैद्यले दिनुभएको थियो।

​कार्यक्रममा प्रतिष्ठानका ललितपुर शाखाका उपसभापति रूपककान्त राजोपाध्यायले सञ्चालन गर्नुभएको थियो भने महासचिव कोमलप्रकाश घिमिरेले स्वागत मन्तव्य र हर्ट क्लब नेपालका अध्यक्ष निर्मल प्रधानाङ्गले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

​सोही समारोहका बिच प्रतिष्ठानका पूर्व अध्यक्ष डा. प्रचण्ड प्रधानद्वारा लिखित इ-पुस्तक “In My Memory” को लोकार्पणसमेत गरिएको थियो।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
2 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
4 भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न