
काठमाडौँ । टोखा नगरपालिकाले भौतिक पूर्वाधार विकास क्षेत्रमा उल्लेख्य कार्य गरेसँगै अहिले सामाजिक विकासका क्षेत्रमा पनि अपेक्षाकृत उपलब्धि हासिल गरेको छ । नगरपालिकाले सामाजिक क्षेत्रलाई पनि उत्तिकै महत्व दिइएको छ । यो प्राथमिकताले पछिल्ला वर्षहरूमा महित्वपूर्ण उपलब्धिहरू हात परेका छन् । जस्तो, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू तथा अन्य पछाडि पारिएका समुदायलाई लक्षित गरेर सञ्चालित कार्यक्रमहरूले स्थानीय सामाजिक संरचनामा समावेशिता, पहुँच र अधिकार सुनिश्चितताको आधार बलियो बनाएका छन् । विशेषतः सामाजिक सुरक्षा भत्ता वितरणको पारदर्शी प्रणाली, लैंगिक न्यायलाई प्राथमिकता दिने नीति र बालमैत्री नगरका उद्देश्यअन्तर्गत अघि बढाइएका हस्तक्षेपहरूले समुदायमा राज्यप्रतिको भरोसा थप बढाएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएका सुरक्षा कार्यक्रम तथा सामुदायिक सचेतना अभियानहरूले जोखिम न्यूनीकरण, हिंसामुक्त समाज निर्माण, महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा कमी ल्याउने प्रक्रियालाई बलियो बनाएका छन् । विद्यालयस्तरमै मानसिक स्वास्थ्य, पोषण, स्वच्छता र स्वास्थ्य सुरक्षा सम्बन्धी जागरण कार्यक्रमले विद्यार्थी तथा अभिभावक दुवैलाई लाभान्वित बनाएको छ ।
यस्तै, सामाजिक सेवा प्रवर्धनकाे गतिविधिहरू सञ्चालन गरिएका छन् । जस्तो, घरमै पुगेर सेवा प्रदान गर्ने कार्यक्रम, अपांगता परिचयपत्र तथा अनुदान प्रक्रियाको सरलीकरण, ज्येष्ठ नागरिकमैत्री सेवाको बिस्तारले सेवा पहुँचलाई सहज र प्रभावकारी बनाएको छ । स्थानीय महिलामाझ उद्यमशीलता, सीप विकास तथा आत्मरोजगार कार्यक्रमले आर्थिक सशक्तिकरणलाई सुदृढ बनाउँदै लगेका छन् ।
स्वास्थ्य क्षेत्रमा समेत देखिनेगरी उल्लेखनीय प्रगति भइरहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति, मातृ-शिशु स्वास्थ्य सेवा विस्तार, नियमित स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य परीक्षण तथा सार्वजनिक स्वास्थ्य सचेतना कार्यक्रमले समुदायको स्वास्थ्यस्तर उकासिएको पालिकाले तयार पारेको आँकडाले देखाउँछ । साथै, विद्यालय स्वास्थ्य कार्यक्रम र पोषण सुधार योजनाले बालबालिकाको समग्र स्वास्थ्यमा सुधार ल्याएका छन् ।
समुदायमा आपतकालीन अवस्थाको प्रतिक्रिया क्षमता बढाउन नगरपालिकाले दैवी विपद् तयारी तथा जोखिम व्यवस्थापनसम्बन्धी तालिम, उपकरण आपूर्ति र आपतकालीन सहायता संयन्त्रलाई समेत बलियो बनाएको छ । नगरपालिकाको योजना अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख अजित घिमिरेले नगरपालिकाले भौतिक पूर्वाधारदेखि सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि र पर्यावरणसम्म बहुआयामिक विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले नागरिक सहभागिता र पारदर्शिता सुनिश्चित गरी समृद्ध, सुरक्षित र बस्न-हेर्नलायक पर्यटकीय शहरको लक्ष्यतर्फ पालिका द्रूत गतिमा अघि बढिरहेको बताए ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news





Total views : 305736



