महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र | Jana Aawaj News

महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र

पढ्न लाग्ने समयः 2 मिनेट
महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र : Jana Aawaj News

 भक्तपुर,भदौ १ गते। राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी भक्तपुरले जिल्लामा बढ्दै गएको महँगी, कालोबजारी, कृत्रिम अभाव, बजारमा देखिएको अनियमितता तथा एलपी ग्यासको सहज आपूर्तिमा देखिएको समस्याप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा पछिल्लो समय दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सेवाको मूल्यमा अस्वाभाविक वृद्धि हुनु, बजारमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्ति बढ्नु, मूल्यसूचीको प्रभावकारी कार्यान्वयन नहुनु र आपूर्ति व्यवस्थामा कमजोरी देखिनुले आम उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गरिएको छ। विशेषगरी भक्तपुरका विभिन्न बजार तथा स्थानीय क्षेत्रमा एउटै वस्तुको मूल्य पसलअनुसार फरक-फरक हुने, मूल्यसूची स्पष्ट रूपमा नराखिने, कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने तथा तोकिएको मूल्यभन्दा बढी रकम तिर्न उपभोक्तालाई बाध्य बनाउने जस्ता गुनासाहरू आउने गरेको जनाइएको छ। त्यस्तै, एलपी ग्यासको सहज आपूर्ति नहुँदा उपभोक्ताले लामो समयसम्म लाइनमा बस्नुपर्ने, ग्यास नपाउने तथा अतिरिक्त रकम तिर्नुपर्ने अवस्था देखिएको भन्दै संघले नियमित, पारदर्शी र आवश्यकता अनुसारको वितरण प्रणाली सुनिश्चित गर्न माग गरेको छ।

राष्ट्रिय युवा संघ भक्तपुरले दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण तथा प्रभावकारी बजार अनुगमन, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण, एलपी ग्यासको नियमित तथा सहज आपूर्ति, ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने, तथा सबै व्यवसायिक प्रतिष्ठानमा स्पष्ट र अद्यावधिक मूल्यसूची अनिवार्य गर्ने लगायतका विषयमा तत्काल पहल गर्न प्रशासनसँग आग्रह गरेको छ। संघले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा स्थानीय तह, उद्योग तथा वाणिज्यसम्बन्धी निकाय, उपभोक्ता संरक्षणसम्बन्धी निकाय, प्रहरी तथा अन्य सरोकारवाला संस्थाको समन्वयमा नियमित संयुक्त बजार अनुगमन सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएको छ। साथै म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री, मूल्य वा लेबल नखुलेका सामान, नापतौलमा हुने ठगी तथा अन्य अनुचित व्यापारिक अभ्यास नियन्त्रण गर्न प्रभावकारी कारबाहीको माग गरिएको छ। उपभोक्ताका गुनासा तथा उजुरी सहज रूपमा दर्ता हुने व्यवस्था मिलाई प्राप्त उजुरीमाथि शीघ्र छानबिन र आवश्यक कारबाही गर्नुपर्ने, बजार अनुगमनका क्रममा देखिएका समस्या तथा कारबाहीमा परेका व्यवसायीको विवरण सार्वजनिक गरी अनुगमनलाई पारदर्शी बनाउनुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।

संघले अत्यावश्यक वस्तुको आपूर्ति, भण्डारण तथा वितरणका क्रममा कृत्रिम अभाव, मिलेमतो वा अनुचित लाभ लिने कार्य भएको पाइएमा तत्काल छानबिन गरी प्रचलित कानूनअनुसार कारबाही गर्न र उपभोक्ता अधिकारसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन पनि आग्रह गरेको छ। बजारमा हुने विकृति तथा उपभोक्ता ठगीविरुद्ध युवा, उपभोक्ता अधिकारकर्मी, नागरिक समाज तथा सरोकारवाला संस्थासँग सहकार्य गरी नियमित निगरानी तथा सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइएको छ। ज्ञापनपत्र बुझाउँदै संघले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने अत्यावश्यक वस्तुको मूल्य, आपूर्ति र वितरण प्रणालीलाई सहज, नियमित, पारदर्शी र उपभोक्तामैत्री बनाउन सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने जनाएको छ।

बजारमा देखिएका विकृति तथा अनियमिततालाई समयमै नियन्त्रण नगरे त्यसको प्रत्यक्ष असर सर्वसाधारणको जीवनयापनमा पर्ने भएकाले यस विषयलाई गम्भीर जनसरोकारको विषयका रूपमा लिएर तत्काल प्रभावकारी कदम चाल्न प्रशासनसँग आग्रह गरिएको छ। ज्ञापनपत्र वितरण प्रमुख जिल्ला अधिकारी विनाेद कुमार खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्य बहादुर खड्का, नेकपा एमाले युवा ईन्चार्ज प्रकाश लामिछाने, युवा संघ केन्द्रीय सदस्य रविन थापा, सुमित जङ्ग कार्की, जिल्ला नगर पदाधिकारी सहितकाे उपस्थितिमा हस्तान्तरण गरिएको थियोे ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
2 विनायकमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न
3 चाँगुनारायणमा रक्तदान अभियान तीव्र : पाँच वडाबाट १०६ पाउण्ड रगत सङ्कलन
4 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न