चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन | Jana Aawaj News

चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन

पढ्न लाग्ने समयः < 1 मिनेट
चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन : Jana Aawaj News

नबराज काफ्ले
भक्तपुर । वर्षौंदेखि धमिलो हुँदै गएको संसार फेरि प्रस्ट देख्न पाउँदा चाँगुनारायणका पाँच ज्येष्ठ नागरिकको अनुहारमा शुक्रबार छुट्टै खुसी देखियो । चाँगुनारायण नगरपालिका-२, दुवाकोटस्थित तिलगंगा सामुदायिक आँखा केन्द्रमा गरिएको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियापछि उनीहरूले आफूलाई ‘नयाँ जीवन पाएजस्तै’ भएको प्रतिक्रिया दिएका छन् ।

चाँगुनारायण नगरपालिका र तिलगंगा आँखा अस्पतालको सहकार्यमा सुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा पाँच जना ज्येष्ठ नागरिकको सफलतापूर्वक मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि नयाँ दृश्य अनुभव गर्न पाउँदा ज्येष्ठ नागरिकहरूमा उत्साह र खुसी देखिएको थियो ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नगरवासी ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति स्थानीय सरकारको जिम्मेवारीलाई आत्मसात् गर्दै चरणबद्ध रूपमा नगरका मोतियाबिन्दु भएका सम्पुर्ण ज्येष्ठ नागरिकको निःशुल्क शल्यक्रिया गरिने बताउनुभएको छ ।

अभियानलाई क्रमशः नगरका सबै वडासम्म विस्तार गरिने वडा नं. २ का वडाध्यक्ष सोमप्रसाद प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार अब अन्य वडामा रहेका मोतियाबिन्दु भएका ज्येष्ठ नागरिकलाई समेत पहिचान गरी निःशुल्क शल्यक्रियाको पहुँचमा ल्याइनेछ ।

शल्यक्रियापछि ज्येष्ठ नागरिकको आँखामा देखिएको परिवर्तन र उनीहरूको खुसीले दुवाकोटमा तिलगंगा आँखा सेवाको विस्तार सार्थक भएको तिलगंगा आँखा अस्पताल भक्तपुरका प्रमुख धिरज अधिकारीले बताउनुभयो । उहाँले उपचारपछि ज्येष्ठ नागरिकले पुनः स्पष्ट रूपमा संसार देख्न पाउनु नै सेवाको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो ।

मोतियाबिन्दुको सफल शल्यक्रियापछि ज्येष्ठ नागरिकले पुनः स्पष्ट दृश्य पाउन थालेका छन् । लामो समयदेखि आँखाको समस्याका कारण दैनिक जीवनमा भोग्दै आएको कठिनाइ कम हुने आशाले उनीहरू थप उत्साहित बनेका छन् ।

ज्येष्ठ नागरिकको आँखामा फर्किएको उज्यालोलाई सामाजिक सेवाको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै स्थानीय सामाजिक अभियन्ता नवराज काफ्लेले यस अभियानमा सहकार्य गर्ने चाँगुनारायण नगरपालिका, तिलगंगा आँखा अस्पताल तथा सम्बन्धित सबै पक्षप्रति विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।

काफ्लेले स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई नागरिकको जीवनमा आत्मविश्वास, सहजता र नयाँ आशा फर्काउने माध्यम बन्नुपर्ने बताउँदै यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
2 Asez Star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
3 स्काउट धर्मसभा प्रतियोगितामा बिनायक स्काउट ट्रुप प्रथम
4 यूनिटीको आयोजनामा नेसनल प्याव्सनको लोकनृत्यमा ईडेन विजेता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न