
भक्तपुर । विश्व मुटु दिवस-२०२६ को अवसरमा “Don’t Miss a Beat” अर्थात् “मुटुलाई धड्किन देऊ” भन्ने नाराका साथ भक्तपुरमा स्वस्थ मुटुसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान, भक्तपुर शाखाको महिला सशक्तीकरण उपसमिति, भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर र जेसीआई भक्तपुर लेडीको संयुक्त आयोजनामा भक्तपुरस्थित एभरेष्ट इङ्गलिश स्कूलको सभाकक्षमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतिष्ठानका सभापति राजुराम मुनंकर्मीको सभाध्यक्षता तथा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवाल, केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. प्रेमराज वैद्य र कार्डियोलोजिस्ट डा. एन्जेला वैद्य विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा मुटुरोगसम्बन्धी सचेतनामूलक प्रस्तुति, सहभागीका जिज्ञासाको समाधान तथा मनोपरामर्शसमेत प्रदान गरिएको थियो। कार्यक्रममा डा. सत्यनारायण सुवालले मुटुरोगबारे जानकारी दिँदै अपनाउनुपर्ने सतर्कता र स्वस्थ जीवनशैलीका विषयमा उपयोगी प्रस्तुति दिनुभयो। डा. प्रेमराज वैद्यले उच्च रक्तचाप, यसले स्वास्थ्यमा पार्ने असर, अपनाउनुपर्ने सावधानी तथा नयाँ प्रविधिको प्रयोगबारे जानकारी गराउनुभयो। त्यसैगरी डा. एन्जेला वैद्यले हर्ट फेलसम्बन्धी महत्वपूर्ण जानकारी प्रस्तुत गर्नुभयो।
प्रमुख अतिथि अञ्जना खड्काले भक्तपुर जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा हृदयघातबाट मृत्यु हुनेको संख्या ६ जना, २०८१/८२ मा १७ जना र २०८२/८३ मा २६ जना रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो। उहाँले मुटुरोग विशेषज्ञबाट प्रस्तुत गरिएका विषयवस्तुले मुटुरोगसम्बन्धी जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै प्रतिष्ठानसँग सहकार्य गरी मुटुरोगसम्बन्धी स्क्रिनिङ तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।
सोही अवसरमा भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरकी रश्मि शिल्पकार तथा जेसीआई भक्तपुर लेडीकी अध्यक्ष अनु थापाले विश्व मुटु दिवसको अवसरमा सबैको स्वस्थ मुटुको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
कार्यक्रममा संयुक्त तीनवटै संस्थाका सदस्य, भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरका बिरामी तथा मिवाछें महिला समूहका सदस्य गरी करिब ५५ जनाको सहभागिता रहेको थियो।
प्रतिष्ठानका सचिव विद्या राजभण्डारीको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानको महिला सशक्तीकरण उपसमितिकी संयोजक रत्नमाया सुवालले अतिथिलगायत सहभागी सबैलाई स्वागत गर्नुभएको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्थाहरू तथा सहभागीप्रति प्रतिष्ठानका उपसभापति विश्वमोहन जोशीले कृतज्ञता ज्ञापन गर्नुभएको थियो।
समारोहमा प्रतिष्ठानका सभापति राजुराम मुनंकर्मीले संस्थाको तर्फबाट प्रमुख अतिथि अञ्जना खड्का तथा विशेष अतिथिहरूलाई मुटुको कलात्मक लोगो अंकित मायाको चिनो प्रदान गर्नुभएको थियो।

-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related








Total views : 396047




