
भक्तपुर, असोज २७ गते । नेपाल भाषा साहित्यको संरक्षण, प्रवर्द्धन तथा मातृभाषाप्रतिको जागरण अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको विराट नेपालभाषा साहित्य सम्मेलनको ६५औं संस्करण २०८३ कार्तिक ६ गते शुक्रबार भक्तपुरमा हुने भएको छ। सम्मेलनमा वरिष्ठ साहित्यकारलाई अभिनन्दन गर्नुका साथै नेपालभाषा विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले पत्रकार भेटघाट कार्यक्रम मार्फत सम्मेलनबारे जानकारी दिँदै नेपालभाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा विकासमा संस्थाले लामो समयदेखि योगदान पुऱ्याउँदै आएको जनाएको हो।


सम्मेलनले नेपालभाषाको साहित्यिक विकास, मातृभाषाको प्रयोग विस्तार तथा नयाँ पुस्तामा भाषा र संस्कृतिप्रतिको रुचि बढाउने उद्देश्य सहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। साहित्य सिर्जना, वाचन, स्रष्टा सम्मान तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम सम्मेलनका प्रमुख गतिविधि हुन्।
यस वर्षको सम्मेलन वरिष्ठ साहित्यकार प्रा. नर्मदेश्वर प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा नेपालभाषा साहित्य तथा भाषा संरक्षणमा योगदान पुऱ्याएबापत साहित्यकार प्रा. प्रेमशान्ति तुलाधरलाई अभिनन्दन गरिनेछ।
…
त्यसैगरी, नेपालभाषा विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ। आयोजकका अनुसार नेपालभाषा विषयमा उत्कृष्ट अंक प्राप्त गर्ने सुकुन्तला महर्जन (२०८१) र भिक्षु सोमरत्न महर्जन (२०८२) लाई विराट सुरत्न सिरपा पुरस्कार प्रदान गरिनेछ। एसईईमा नेपालभाषा विषयमा सर्वाधिक अंक प्राप्त गर्ने मा जगतसुन्दर ब्वनेकुथिका विद्यार्थी कजना श्रेष्ठलाइ नेपालभाषा पदकबाट सम्मानित गर्ने कार्यक्रम समेत रहेको छ।
सम्मेलनमा साहित्य वाचन कार्यक्रम पनि सञ्चालन हुनेछ। साहित्यकारहरूले आफ्ना सिर्जना प्रस्तुत गर्ने तथा साहित्यिक गतिविधिमार्फत नेपालभाषाको मौलिकता, सांस्कृतिक पहिचान र सिर्जनात्मक परम्परालाई उजागर गर्ने आयोजकको अपेक्षा छ।
मातृभाषा संरक्षण र प्रवर्द्धनको अभियानलाई निरन्तरता दिँदै आएको सम्मेलनले भाषा, साहित्य र संस्कृतिको पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। आयोजकले सञ्चारमाध्यम तथा सञ्चारकर्मीलाई सम्मेलनको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेको छ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related









Total views : 401202





