सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास | Jana Aawaj News

सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास

पढ्न लाग्ने समयः 2 मिनेट
सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास : Jana Aawaj News
Oplus_16908288


​भक्तपुर, असोज २८ गते।
सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारमा साढे चार तले नयाँ वडा प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ। नगरप्रमुख वासुदेव थापाले बुधबार आयोजित एक कार्यक्रमका बीच भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको हो।
​लामो समयदेखि उपयुक्त जग्गाको अभावका कारण वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण हुन नसकेको अवस्थामा स्थानीय जग्गादाता परिवारबाट पाँच आना जग्गा प्राप्त भएपछि भवन निर्माणको प्रक्रिया अघि बढेको हो।
​सो अवसरमा वडा प्रशासनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनुहुने स्वर्गीय नरबहादुर राउतकी बुहारी तथा स्वर्गीय चित्रबहादुर राउतकी धर्मपत्नी गोमा राउत र उहाँका छोराहरू नवराज राउत, रामकृष्ण राउत, श्यामकृष्ण राउत र दीपक राउतलाई सार्वजनिक सेवाका लागि पुर्‍याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
​शिलान्यास कार्यक्रममा नगरप्रमुख थापाले नयाँ प्रशासनिक भवन निर्माण भएपछि नागरिकलाई सहज, व्यवस्थित र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले निर्माण कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै नगरपालिकाका तर्फबाट आवश्यक सहजीकरण गरिने जानकारी दिनुभयो। भवन सार्वजनिक सम्पत्ति भएकाले यसको गुणस्तर कायम राख्न स्थानीयवासीले पनि निरन्तर निगरानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
​नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आफ्नै प्रशासनिक भवन निर्माण भएपछि वडाबाट प्रदान गरिने सेवा थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउने गोमा राउतको परिवारको योगदानको प्रशंसा गर्दै भवन निर्माण कार्य समयमै सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
​वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले वडामा सार्वजनिक जग्गाको अभावका कारण आफ्नै प्रशासनिक भवन निर्माण गर्न लामो समयदेखि कठिनाइ हुँदै आएको बताउनुभयो। जग्गादाता परिवारले पाँच आना जग्गा उपलब्ध गराएपछि भवन निर्माणको बाटो खुलेको उल्लेख गर्दै उहाँले स्थानीयस्तरमा पूर्वाधार विकासका कामहरू तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो। वडामा सडक, खानेपानी, पुल तथा अन्य पूर्वाधार निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो।
​सूर्यविनायक नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीले नयाँ भवन निर्माणले स्थानीय नागरिकलाई सेवा लिन सहज हुने बताउनुभयो। उहाँले सार्वजनिक पूर्वाधार निर्माणमा स्थानीय समुदायको सहयोग र सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।
​नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर जनक न्यौपानेका अनुसार वडा प्रशासनिक भवन निर्माणका लागि करिब दुई करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण कार्य अघि बढाइएको हो। उहाँले निर्माण हुने भवन अपाङ्गमैत्री तथा बालमैत्री हुने जानकारी दिँदै सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने अवधि आर्थिक वर्ष २०८४ सम्म रहे पनि निर्माण कार्यलाई तीव्रता दिई आगामी छ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो।
​नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार नगरपालिकाका १० वडामध्ये ९ वटा वडा कार्यालयका आफ्नै भवन निर्माण सम्पन्न भइसकेका छन्। सिरुटारमा नयाँ भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाका सबै १० वटै वडा कार्यालय आफ्नै प्रशासनिक भवनबाट सञ्चालन हुनेछन्। नगरपालिकाले वडा कार्यालयका भवनसँगै नगर अस्पताल तथा स्वास्थ्य चौकीहरूबाट समेत आफ्नै भवनमार्फत सेवा प्रवाह गर्दै आएको छ।
​स्थानीय तहमा नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण महत्त्वपूर्ण मानिन्छ। सिरुटारमा नयाँ वडा प्रशासनिक भवन निर्माण सुरु भएसँगै स्थानीयवासीले पनि थप व्यवस्थित सेवा पाउने अपेक्षा गरेका छन्।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
2 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
3 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
4 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न