अध्यक्ष बिजुक्छेँद्वारा लान्चा फल्चा उद्घाटन | Jana Aawaj News

अध्यक्ष बिजुक्छेँद्वारा लान्चा फल्चा उद्घाटन

पढ्न लाग्ने समयः 2 मिनेट
अध्यक्ष बिजुक्छेँद्वारा लान्चा फल्चा उद्घाटन : Jana Aawaj News

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं. १० स्थित लान्चा फल्चा आज रिबन काटेर शिलापत्र अनावरण गरी उद्घाटन गर्नुभयको छ ।

सांसद विकास कोषको बजेटबाट पुनःनिर्माण गरिएको उक्त फल्चाको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले लामो समयदेखि लोप हुने अवस्थामा रहेको ऐतिहासिक रुपले पनि महत्वपूर्ण लान्चा फल्चा संरक्षण कार्य प्रशंसनीय भएको बताउनुभयो । भक्तपुरको सन्तुलित विकास र यहाँका जनताहरुको जीवनस्तर उकास्न भक्तपुरको उत्तरतर्फ भक्तपुर—काठमाडौं जोड्ने सडक निर्माण गर्नुुपर्नेमा जोड दिनुहुँदै उहाँले शासक दलका नेताहरुले राजनीतिलाई पैसा कमाउने थलोको रुपमा लिँदा देश झन् गरिब हुँदै गएको र भ्रष्टाचार बढिरहेको बताउनुभयो ।

चुनावबाट जितेर आएका शासक दलका नेताहरुमा काठमाडौं उपत्यकाको कुनै विकास योजना नभएको भन्दै अध्यक्ष बिजुक्छेँले जनतालाई धोखा दिने शासक दलका नेताहरुलाई चुनावमा जिताउन नहुने बताउनुभयो । अध्यक्ष बिजुक्छेँले रुस र युक्रेनबीचको लडाइँको प्रसंग जोड्नुहुँदै देउवा सरकारले संयुक्त राष्ट्र संघमा रुसले युक्रेनमा आक्रमण गर्यो भन्ने पक्षमा मत दिनु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताउनुभयो । उहाँले एमसीसी सम्झौता अनुमोदनलगत्तै सरकारले नेपाललाई पनि नाटो संगठनको सदस्य बनाउने तर्खरमा शासक दलहरु क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले फल्चा पुनःनिर्माणसँगै यसको नियमित रुपमा मर्मत सम्भार र सरसफाईमा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुहुँदै सम्पदा पुनःनिर्माणमा ठेकेदारलाई भन्दा उपभोक्ता समितिमार्फत नै गराउनुपर्नेमा जोड दिनुभयो ।
पैसा र आश्वासन बाँडेर चुनाव जित्ने जनप्रतिनिधिहरुले जनताको सेवालाई भन्दा आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्नेतर्फ जनता सचेत हुनुपर्ने भन्दै सांसद सुवालले एमसीसी सम्झौता नेपालको लागि सहयोगको नाममा आएको विषसरह भएको बताउनुभयो । एमसीसी सम्झौता नेपालको हितमा नभएको हुँदा उद्योगी तथा व्यापारीहरुले एमसीसीको समर्थन गर्न नहुने बताउनुहुँदै उहाँले नेमकिपाले पूर्वाधार विकासमा स्थानीय विकास पूवाधार कार्यक्रमका बजेट भक्तपुर नगरपालिकामा भन्दा भक्तपुर जिल्लाका अन्य नगरपालिकाहरुमा खर्च गर्दै आइरहेको अवगत गराउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले समाजबाट आफूले धेरै सिक्ने अवसर पाएको बताउनुहुँदै भक्तपुर नपाले जनताको लागि जनताकै सहयोगमा यहाँका सम्पदा संरक्षण गरिरहेको र भक्तपुरको ख्वप मोडल जनस्तरबाटै सराहना भएको छ भन्नुभयो ।

पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलकले लान्चा फल्चाको हालको रुवरुप मौलिक स्वरुपभन्दा फरक रहेको उल्लेख गर्नुहुँदै पाटीपौवा निर्माण हाम्रो संस्कृति र संस्कार भएको र भक्तपुर नपाले गरिरहेको सम्पदा संरक्षण कार्य प्रशंसनीय भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले भक्तपुरमा रहेका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका फल्चाहरुको महत्वमाथि प्रकाश पार्नुहुँदै भक्तपुर नपा वडा नं. १० मा मात्रै ५४ वटा फल्चा रहेकोमा ४ वटा पुनःनिर्माण सम्पन्न भइसकेको र १ वटा पुनःनिर्माणकै क्रममा रहेको बताउनुभयो ।

कार्यक्रममा लान्चा फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण दुमरु, सचिव महाविर अमात्य, इन्जिनियर्स समाज नेपालका उपाध्यक्ष नरेश खत्रीले पनि आफ्नो धारणा राख्नुभएको थियो । यस्तै कार्यक्रममा कोषाध्यक्ष विष्णुप्रसाद तिमिल्सनाले फल्चा पुनःनिर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त कार्यमा ९४ जना स्थानीय जनताबाट जनश्रमदान जुटेको बताउनुभयो ।

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न