आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न | Jana Aawaj News

आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न : Jana Aawaj News

भक्तपुर । जिल्ला प्रशासन कार्यालयको आयोजना एवम् सुरक्षा निकाय तथा सरोकारवालाहरुको संयुक्त सहकार्यमा भक्तपुरको टौमढीमा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवालले आगलागी सम्बन्धी भएको कृत्रिम घटना अभ्यास कार्यक्रम सबै नागरिकहरुको लागि आवश्यक भएको बताउनुहुँदै जुनसुकै समयमा आउनसक्ने विपदबाट जोगिन यस किसिमका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विपद्का अभ्यास कार्यक्रमहरु स्थानीय तहसँग समन्वय गरी टोल–टोलमा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्नुपर्नेमा जोड दिनुहुँदै सांसद सुवालले विपद्बाट हुनसक्ने सम्भावित मानवीय क्षति तथा धनसम्पत्ति हानी नोक्सानी कम गर्न विपद्को पूर्वतयारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् न्युनीकरणसम्बन्धी अभ्यास कार्यक्रम निकै उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्दै भक्तपुर नगरपालिकाले पनि नेपाली सेनासँग समन्वय गरी विपद् न्युनीकरणसम्बन्धी तालिमहरु सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।


कार्यक्रममा गृह मन्त्रालयका उपसचिव उमाकान्त आचार्यले नेपालमा वर्षेनि विभिन्न प्राकृतिक तथागैरप्राकृतिक विपद्का घटनाहरु नियमित घट्ने हुँदा ठूलो मात्रामा जनधनको क्षति हुन नदिन यस्ता कृत्रिम घटना अभ्यास कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।


कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध वारुण यन्त्र भक्तपुर, आर.एन. ए १६, रेडक्रस भक्तपुर लगायतको टोलीले आगालागी नियन्त्रणबारे कृत्रिम घटना अभ्यास प्रस्तुत गरेका थिए भने, उहाँहरुलाई सांसद सुवालले भक्तपुरमा जिल्लामा आइपर्ने विपद् तथा प्राकृतिक प्रकोपहरुको प्रतिकार्य तथा पूर्वतयारी निम्ति संयुक्त विपद् प्रतिकार्य तथा आगलागी नियन्त्रण अभ्यास सफलतापूर्वक सञ्चालन गरेकोमा प्रशंसापत्र पनि वितरण गर्नुभएको थियो ।


उक्त कार्यक्रममा भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माको सभापतित्वमा सम्पनन भएको थियो ।

+ posts