भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता आजबाट सुरु | Jana Aawaj News

भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता आजबाट सुरु

पढ्न लाग्ने समयः 3 मिनेट
भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता आजबाट सुरु : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर महिला कबड्डी प्रतियोगिता २०८० आजबाट शुरु भएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले २०८० फागुन २९ देखि चैत्र ३ गते सम्म सञ्चालन हुने अन्तर नगर महिला कबड्डी प्रतियोगिताको आज एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी समुद्घघाटन गर्नुभयो ।

भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको उद्घघाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेंले खेलकुद महिलाहरुलाई शारीरिक र मानसिक रुपले बलियो बनाउने सशक्त माध्यम भएको बताउनुभयो ।
खेलकुदमा सहभागी महिलाहरु अरुभन्दा तुलनात्मक रुपमा सभ्य, अनुशासित र निडर हुने बताउँदै उहाँले खेलकुद स्वास्थ्य र तन्दुरुस्तको निम्ति पनि भएको बताउनुभयो । खेलकुदको नियमअनुसार खेलाडीहरुले उत्साहपूर्वक प्रतियोगितामा सहभागी हुन आह्वान गर्दै अध्यक्ष बिजुक्छेँले खेलमा हार जित स्वाभाविक भएको रखेलाडीहरुबीच आपसी मित्रता कायम गर्ने अवसर पनि भएको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विभिन्न नगरपालिकाबाट सहभागी खेलाडीहरुलाई भक्तपुर नपामा स्वागत गर्दै खेलकुदको माध्यमबाट देशका विभिन्न नपासँग सुमधुर सम्बन्ध विस्तार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना भएको बताउनुभयो ।


जनप्रतिनिधि र खेलाडीहरुसँग अनुभव आदानप्रदान गर्ने राम्रो अवसर हुने बताउँदै उहाँले खेलाडीको प्रतिभा प्रदर्शन गर्ने अवसरको रुपमा प्रतियोगितालाई उपयोग गर्न खेलाडीहरुलाई मार्गनिर्देश गर्नुभयो ।
भक्तपुर नपाले खेलकुदलाई पनि प्राथमिकतामा राख्दै हरेक नागरिकलाई खेलकुद र शराीरिक अभ्यासमा सहभागी गराउने प्रयास चालु राखेको बताउँदै भक्तपुर नपाले नियमित खेलकुद प्रशिक्षणको पनि आयोजना गर्दै आएको बताउनुभयो ।त्यस्तै बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अन्तर नगर खेलकुद प्रतियोगिता आयोजनाले देशका विभिन्न नगरपालिकाका खेलाडी र नगरबासीहरुबीच मैत्रीपूर्ण सम्बन्ध, आपसी सद्भाव विकास हुने बताउँदै देशलाई स्वस्थ बनाउन त्यहाँका नागरिकहरु मानसिक र शारीरिक रुपमा स्वस्थ हुनुपर्ने धारणा राख्नुभयो ।
खेलकुदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्छ भन्दै उहाँले देश हाँक्नेहरुसँग अनुशासन नहुँदा नेपाली जनताले अप्ठेरो अवस्था महसुस गरिरहेको बताउनुभयो । शासकहरुले खेलाडीहरुको देशप्रेम र अनुशासनबाट पनि केही पाठ सिक्नुपर्ने बताउँदै उहाँले नयाँ पुस्ताले आ–आफ्नो तर्फबाट अनुशासनको प्रदर्शन गर्नुपर्छ भन्नुभयो ।
नेपाल कबड्डी संघका अध्यक्ष तुलसा थापाले महिला कबड्डी आयोजनाले भक्तपुर नपाप्रति आभार प्रकट गर्दै गाउँगाउँमा पूर्वजहरुले खेल्ने कबड्डी खेल अन्तर्राष्ट्रिय क्षेत्रमा पनि तीव्र गतिले विकास हुँदै आएको बताउनुभयो ।
खेलकुद विकासमा तीनवटै तहका सरकारहरु समन्वय आवश्यक भएको बताउँदै उहाँले नेपालका खेलाडीहरुलाई विदेश पलायन हुनबाट रोक्न नेपालमै रोजगारीको सुनिश्चितता गर्नुपर्ने धारणा राख्नुभयो ।

भनपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिका सहभागी रहेको बताउनुभयो । उहाँले प्रतियोगितामा प्रथम हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रो हुनेलाई रु. १ लाख, तेस्रो र चौथो हुनेलाई रु. ५०-५० हजार प्रति समूह नगद पुरस्कारको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राईले खेलकुदको प्रवर्धन र सम्बर्दन गर्न भक्तपुर नपाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै खेलकुदले देशको भूगोल, पहिचान, संस्कृतिक, रहन र जीवनशैलीलाई पनि जोड्ने काम गर्ने बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा निर्णायकको तर्फबाट राष्ट्रिय निर्णायक दिलिपनारायण श्रेष्ठ र खेलाडीहरूको तर्फबाट भक्तपुर नगरपालिकाका राष्ट्रिय महिला कबड्डी खेलाडी पूजा दुवालले अन्तर नगर महिला कबड्डी प्रतियोगिता २०८० को खेल अखिल नेपाल कबड्डी संघको नियमअनुसार अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्न शपथ लिनुभयो ।
प्रतियोगिताको उद्घघाटन अघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट र्यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । र्यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
अन्तर नगर महिला कबड्डी प्रतियोगिता अन्तर्गत पहिलो खेल भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकाबीच भएको थियो ।

+ posts