
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नु भएको छ । निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन मध्यपुर नगर समितिको आयोजनामा भएको दोश्रो अधिवेशनको उद्घघाटन गर्दै उहाँले अरु जिल्लाहरुमा विद्यालय खोलियो भन्दै हतारिएर विद्यालय खोले भविश्यमा पछुताउनु पर्ने बताउनुभएको छ ।
कार्यक्रममा मेयर श्रेष्ठले १८ वर्ष माथि उमेरकाले कोभिड विरुद्धको भ्याक्सिन लगाए पनि १८ वर्ष मुनिका बालबालिकामा तेश्रो लहरको कोभिडको जोखिम कायमै रहेको भन्दै उहाँले मध्यपुरथिमि नगरपालिकाले उपत्यकाका १८ वटा नगरपालिहरु मध्यमा अन्तिममा मात्रैै विद्यालय संचालन गर्नेे बताउनुभयो ।
वर्तमान अवस्थामा अनलाइन कक्षा प्रभावकारी नभए पनि त्यसलाई निरन्तरता दिनुपर्ने बताउँदै उहाँले पढेका विद्यार्थीसँग अन्तिम परीक्षामा पनि शुल्क लिन सकिने भएकाले नआत्तिन उहाँले विद्यालय सञ्चालकहरुलाई आग्रह समेत गर्नुभयो ।
यस्तै कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले कोभिडका कारण विद्यालय चल्नै नसक्ने गरि नाजुक अवस्थामा पुगेको भन्दै अनलाइन कक्षा प्रभावकारी नभएकाले भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नगरपालिकाले अनुमति दिनुपर्नेमा जोड दिनुभएको थियो । यसैगरी प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठले कोभिडका कारण विद्यालय सञ्चालक निकै पीडामा परेको भन्दै असोज १ गतेदेखि अन्त जस्तै यहाँ पनि विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा बताउनुभयोे ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सह कोषाध्यक्ष गणेशबाबु पोखरेलले प्याब्सन नगर समिति स्थानीय तहसँगै मिलेर जानु पर्ने बताउदै देशभर ४० भन्दा बढी जिल्लामा प्याब्सनको भवन भएको तर केन्द्रीय प्याब्सनको भवन नभएको अवस्थामा यसवर्ष ११ करोडको लागतमा भवन खरिद गरेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष चन्द्र अधिकारीले विद्यालय खोल्न सबै अभिभावक तयार नभएको अवस्थामा केहीलाई भौतिक रुपमा र केहीलाई अनलाइन कक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । कार्यक्रममा प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj





Total views : 305737



