काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन कोप-२९ लाई सम्बोधन गर्नेुहुने भएको छ ।
जलवायु कार्य शिखर सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता रहने भएको हो । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल हिजो बाकु पुग्नुभएको हो । सम्मेलन कोप-२९ सोमबारदेखि शुरु भएको छ ।
राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बुधबार बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने भएको बताइएको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गर्ने छ । सम्मेलनमा नेपालका तर्फबाट जलवायु परिवर्तनबाट उत्पन्न समस्या ध्यानाकर्षण गराउँदै सम्मेलनले विकसित देशलाई कार्बन उत्सर्जन कम गर्न र जलवायु कोषमा प्रतिबद्धता प्रकट गरेको रकम प्रदान गर्नका लागि आग्रह समेत गर्ने बताइएको छ ।
यसैगरी नेपालले जलवायु परिवर्तनका विषयमा नेपालले सामना गरिरहेको चुनौती तथा हालसम्म गरेको प्रतिबद्धता र त्यसको कार्यान्वयन बारेका प्रयासलाई विश्व मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्नमा जोड दिने बताइएको छ । उक्त सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्रीसहित विश्वभरका नेताहरू छलफल र विश्वव्यापी सहकार्यका लागि सम्मेलनमा उपस्थित हुने छन् ।
सो सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल एनसिक्युजी रहेको बताइएको छ ।
Related