हामी कसैको भर नपरी आफैले गर्नु पर्छ : मेयर प्रजापति | Jana Aawaj News

हामी कसैको भर नपरी आफैले गर्नु पर्छ : मेयर प्रजापति

पढ्न लाग्ने समयः 2 मिनेट
हामी कसैको भर नपरी आफैले गर्नु पर्छ : मेयर प्रजापति : Jana Aawaj News

भक्तपुर । ‘हामी कसैको भरमा पर्नु हुँदैन, आफ्नै मेहनतले आवश्यकता अनुसार विकास गर्नुपर्छ’ भन्ने विचार भक्तपुर महोत्सवको तयारीको सीलसीलामा भक्तपुर नगरपालिका प्रमुख एवं भक्तपुर महोत्सव मूल समितिका संयोजक सुनिल प्रजापतिले मंगलबार सम्पन्न उद्यमी, व्यवसायी तथा संघ–सस्थाका प्रतिनिधिहरुको भेलामा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले नेपाल भन्ने वित्तिकै भक्तपुरको सम्झना आउने गरि भक्तपुर महोत्सवले त्यसको जगको रुपमा विकास गराउन सकिने भएकोले महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न नगरवासीहरुमा उत्साहित भएर सहभागी हुन आग्रह गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले समयसमय विभिन्न तालिमहरु सञ्चालन गर्दा नगरवासीको अप्रत्यक्ष रुपमा आर्थिक वृद्धि भईरहेको उल्लेख गर्दै महोत्सवले थप आर्थिक विकास गर्न सहयोग मिल्ने बताउनुभयो ।
उहाँले उच्च शिक्षा अध्ययनका लागि चीनमा गइरहेका विद्यार्थीहरुले भक्तपुरका मौलिक सीप, संस्कृति र हस्तकलाको बारेमा चिनीयाँ बजारमा प्रचारप्रसार गरि रहेको बताउँदै सरकारमा गएका शासक दलहरुले मौलिक उत्पादनलाई प्रत्साहन र प्रचारप्रसार गर्न नसक्दा समस्या उत्पन्न भएको बताउनुभयो ।
उहाँले काठमाडौँ उपत्यकामध्ये भक्तपुर जिल्लामा बढी पर्यटक आउने गरेको तथ्याङ्क रहेको बताउँदै भक्तपुर नगरपालिकाले कला, संस्कृति, सम्पदा संरक्षणमा गरिरहेको गतिविधिका कारण बाहिरी पर्यटक आर्कषित भएको बताउनुभयो ।
उहाँले साना उद्योग र व्यवसायीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरेको बताउँदै हस्तकलाको महत्वलाई उजागर गर्न सम्पूर्ण उद्योगीहरुलाई थप सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर महोत्सव भक्तपुरका जनता र उद्योगीहरुका आर्थिक विकासका लागि आयोजना गरेको हुनाले उद्योगीहरु निरुत्साहित हुन नपर्ने बताउनुभयो । उहाँले भक्तपुर महोत्सवले जनताको आर्थिक र सांस्कृतिस्तर उकास्न मद्दत गर्ने भएकोले विशेष गरी भक्तपुरका उद्योगीहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले महोत्सवले मौलिक उत्पादनलाई व्यवसायीकरण गराउन उत्साहित गर्ने बताउनुभयो । महोत्सवमा अवलोकन गर्न आउनुहुने अवलोकनकर्ताहरुलाई आत्मीय सम्बन्ध कायम राख्न सके अविष्करणीय हुने उहाँले बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्षले हरिप्रसाद बासुकलाले महोत्सवमा नेवार समुदायको जीवनशैली प्रदर्शनीले आन्तरिक तथा बाह्य पर्यटक थप आर्कषित हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्वस सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवको तयारीको जानकारी दिनुभयो भने सचिवालय सदस्य विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।

 

+ posts